ad ad

सुदूरपश्चिम


रतन थापामाथिको कारबाही अराजकतावादविरुद्ध : लेखराज

रतन थापामाथिको कारबाही अराजकतावादविरुद्ध : लेखराज

यज्ञराज जोशी
असार १४, २०७९ मंगलबार २१:४६, काठमाडौँ

नेकपा एमालेका सचिव तथा सुदूरपश्चिम प्रदेश कमिटीका इन्चार्ज लेखराज भट्टले नेकपा कैलालीका अध्यक्ष रतन थापामाथि भएको कारबाही अराजकतावादविरुद्ध भएको बताएका छन्। 

नेकपा एमाले सुदूरपश्चिम प्रादेशिक कमिटीले कैलाली अध्यक्ष थापालाई अध्यक्षबाट हटाउने निर्णय गरेको हो। गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा पार्टीकै उम्मेदवारलाई हराउन भूमिका खेलेको भन्दै थापामाथि उक्त कारबाही गरिएको थियो। 

एमाले कैलालीका इन्चार्ज नारदमुनि रानाले सोधेको २३ बुँदे स्पष्टीकरणको चित्त बुझ्दो जवाफ नदिएपछि अध्यक्ष थापालाई निलम्बन गरिएको हो। थापाले एमालेको विधानको धारा ८० अन्तर्गत उपधारा १, २, ३, ४, ५, ६ र १२ उलंघन गरेको ठहर प्रदेश कमिटीले गरेको छ।

‘स्थानीय निर्वाचनमा उहाँको भूमिका हुनुपथ्र्यो, नेतृत्व हुनुपर्थ्यो, पार्टीलाई जसरी परिचालन गर्नुपर्ने हो, रणनीति निर्माण गर्नुपर्ने हो, त्यो खालको उहाँमा दक्षता भएन, त्यसको परिणाम नकरात्मक देखियो,’ प्रदेश इन्चार्ज लेखराज भट्टले थापामाथिको कारबाहीपछि नेपालखबरसँग प्रतिक्रिया दिँदै भने, ‘यसले अराजकताबाद पैदा गर्ने, अराजक शैलीमा व्यक्त हुने प्रवृत्तिहरू र पार्टी अनुशासन केही होइन भन्ने प्रवृत्तिलाई त्यसले निषेध गर्छ र अनुशासन काम गर्छ, पार्टीलाई सुदृढ बनाउन र शुद्धीकरण गर्न पनि मद्दत पुर्याउँछ।’ 

भट्टले जिल्ला अध्यक्षको नेतृत्वमा जिल्लामा पार्टी पूरै परिचालन नभएपछि, गती नपाएपछि,  चुनावी नीति निर्माण गर्न नसकेपछि पार्टीले गम्भीर रुपमा त्यसको समीक्षा गर्न जरुरी भएको थियो भन्दै यसै कारबाहीमार्फत समीक्षा गरिएको समेत बताए।

कैलाली जिल्ला सचिवालयले भने थापालाई साधारण सदस्य समेत नरहने गरी कारबाहीको सिफारिस गरेको थियो। तर कसैलाई समाप्त गर्ने नभई रुपान्तरण हुने अवसर दिने भएकाले साधारण सदस्यबाट कारबाही नगरिएको उनले बताए।  

‘कसैलाई समाप्त गर्ने होइन की रुपान्तरण हुने अवसर दिने हो। पार्टीले त्यो स्तरको नेता तयार गर्न निकै समय खर्च गरेको हुन्छ,’ भट्टले भने,  ‘कमी कमजोरी सबैका हुन्छन्। कमीकमजोरी हटाउने अवसर दिनुपर्छ र रुपान्तरण हुने अवसर दिनुपर्छ।’

एमाले प्रदेश कमिटी सचिव पाठकका अनुसार थापालाई हटाएपछि उपाध्यक्षलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिने निर्णय भएको छ। अब साउन १५ भित्र एमालेले नयाँ अध्यक्ष चुन्ने भएको छ। 

कारबाहीमा परेका थापालाई असार ७ मा सोधिएको स्पष्टीकरणमा आफ्नै बसोबास रहेको लम्की चुहा नगरपालिकाको प्रमुख पदका उम्मेदवार महादेव बजगाईं र उपप्रमुख पदका उम्मेदवार जुना चौधरीसहित वडाअध्यक्षलाई हराउने योजना बनाई अन्तर्घात गरेको आरोप लगाइएको थियो।

‘तपाईंको बसोबास रहेको लम्कीचुहा नगरपालिकामा वैशाख ३० गते भएको निर्वाचनमा तपाईंले प्रमुख पदका उमेदवार महादेव बजगाईं र उपप्रमुख पदका उमेदवार जुना चौधरीसहित केही वडाअध्यक्षहरूलाई हराउने योजना बनाई अन्तर्घात गरेको भन्ने लम्कीचुहा नगरपालिका निर्वाचन परिचालन मूल समितिको गत जेठ २२ गतेको समीक्षा बैठकको निर्णय, प्रतिवेदन र घोडाघोडी नगरपालिका निर्वाचन मूल परिचालन समितिको जेठ २२ गतेको समीक्षाको निर्णय र नोटको आधारमा तपाईँमाथि थुप्रै आशंका उठेकाले यस सम्बन्धमा तपाईंको भनाई के हो? तपाईंले निर्वाचनमा असहयोग, अन्तर्घात गरेको हो होइन?  उक्त प्रतिवेदनहरूबाट केही गम्भीर सवालहरू उठेकाले निम्न प्रश्नहरूको तपाईंले सन्तोषजनक जवाफ ३ दिनभित्र जिल्ला पार्टी कार्यालयलाई उपलब्ध गराई दिन निर्देशित गरिन्छ,’ अध्यक्ष थापालाई सोधिएको स्पष्टीकरणमा भनिएको थियो। 

दैनिक रुपमा पार्टी सञ्चालन नगरेको, अध्यक्ष ओलीलाई ‘अपुतो’ जस्तो तुच्छ शब्द बोलेको, जिल्ला निर्वाचन मूल परिचालन समितिको एउटा पनि बैठक नगरेको, कुनैपनि पालिकास्तरीय चुनावी योजना र चुनावी अभियान नबनाएको, एमालेले एक सिट पनि जित्दैन ‘फिक्स’ हो भनेर कु–प्रचार गरेको, एमालेबाट उम्मेदवार बनेका लम्की चुहाका महादेव बजगाईं र जुना चौधरी र घोडाघोडी नगर प्रमुखका उम्मेदवार ममताप्रसाद चौधरीलाई जसरी पनि हराउँछु भनेर अभिव्यक्ति दिएको लगायत आरोप थापामाथि लगाइएको थियो।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .