विश्वकपको गर्मीले सारा संसार तताइरहेका बेला मंगलबार जब गायब बद्री पंगेनी नेपालखबर स्टुडियोभित्र प्रवेश गरे, उनी कुनै सांगीतिक कार्यक्रममा आएका ‘कलाकार’ जस्ता देखिँदैनथे। टाउकोमा पोर्चुगलको क्याप, जिउमा रियल म्याड्रिडको सेतो जर्सी र झोलामा फुटबल खेल्ने जुत्ता बोकेका उनी एउटा ‘कट्टर फ्यान’ को अवतारमा थिए।
मुहारमा अघिल्लो रात पोर्चुगलले स्पेनसँग १–० ले व्योहोरेको हारको छाया प्रस्टै देखिन्थ्यो। सहजै अनुमान गर्न सकिन्थ्यो, आफ्ना प्रिय खेलाडी क्रिस्टियानो रोनाल्डोको विश्वकप यात्रा टुंगिएकाले उनको मन भने अलि भारी भएको छ।
त्यसो त पोर्चुगलको हार र मैदानमा देखिएको रोनाल्डोको आँसुले बद्रीलाई मात्र होइन, संसारभरका फुटबल प्रेमीलाई स्तब्ध बनायो।
‘रोनाल्डो अन्तिममा बाहिरिने बेलामा मलाई रुँदैन जस्तो लागिरहेको थियो,’ बद्रीले रोनाल्डोको विश्वकप विदाइको मैदान दृश्य सम्झिँदै भने, ‘तर जब ऊ दर्शकतिर हेर्दै रुँदै निस्कियो, त्यतिबेला मन एकदमै नरमाइलो भयो। कस्तो लाग्यो भने, एकछिन त एउटा चेलीलाई विवाह गरेर अन्माएर बिदा गरेको, माइतीको डिलमा बसेको बुबा जस्तो भएँ म।’

रोनाल्डोको त्यो हारले एउटा युगको अन्त्य गरेको उनको अनुभूति छ।
‘रोनाल्डो र मेसी एकअर्काका परिपूरक हुन्। मेसी नभएको भए रोनाल्डो यो उचाइमा पुग्दैनथे, रोनाल्डो नभएको भए मेसी पनि यो स्थानमा हुने थिएनन्,’ उनले भने।
बद्री आफूले रोनोल्डो प्रेम गर्नु पछाडी उनको जीवनशैली पनि कारण रहेको बताउँछन्।
‘म रोनाल्डोको खेलले मात्र होइन, उनको जीवनशैलीबाट प्रभावित छु,’ उनले भने, ‘उनी एउटा राम्रो खेलाडी मात्र होइनन्, एउटा असल छोरा पनि हुन्। उनले आफ्नो आमालाई जुन सम्मान र माया गर्छन्, त्यसले मेरो मुटु सिरिंग हुन्छ। उनी आफ्नी आमालाई उत्तिकै माया गर्छन्, श्रीमतीलाई उत्तिकै साथ दिन्छन् र फुटबललाई उत्तिकै निरन्तरता। त्यहाँको संस्कृतिमा हुर्किएर त्यस्तो हुनु ठुलो कुरा हो।’
बद्रीको फुटबलसँगको साइनो आजको मात्र होइन। यो त पाल्पाको रामपुरका धुलाम्मे मैदानहरूबाट सुरु भएको कथा हो। नेपालखबर ‘विश्वकप विशेष’मा फुटबलको कुरा चल्दा उनी बाल्यकालमा पुगिहालेँ।
‘सानैदेखि मोजाको बल बनाएर खेलियो,’ उनले ती दिन सम्झिँदै भने, ‘गाउँमा खाली खुट्टा खेलिन्थ्यो, जुत्ता हुने कुरा भएन। बललाई जोडले हान्छु भन्यो, कहिले ढुंगामा लाग्थ्यो त कहिले माटोमा। मेरो खुट्टाका औँलाका नङहरू एउटा पनि राम्रा छैनन्, ती सबै फुटबल खेलेरै बिग्रिएका हुन्।’
गाउँको ‘टाइगर क्लब’ बाट सुरु भएको उनको यात्रा अहिले काठमाडौँका फुटसल मैदानसम्म आइपुगेको छ। अचेल पनि उनी नियमित फुटसल खेल्छन्।
उनी ठट्टा गर्दै भन्छन्, ‘मेरो बुबा अलि मोटो हुनुहुन्थ्यो, भाइ पनि मभन्दा मोटो छ। तर म फुटबल खेलिराखेको भएर अहिलेसम्म ठिकठाक छु। एक दिन फुटबल खेलेन भने निन्द्रा नलागे जस्तो, भोक नलागे जस्तो हुन्छ।’
यसपटकको विश्वकपमा उनले फ्रान्सलाई बलियो टोलीका रूपमा हेरेका छन् भने मोरक्कोको खेलले उनलाई निकै प्रभावित पारेको छ। भन्छन्, ‘अहिलेसम्मको खेल हेर्दा फ्रान्स, मोरोक्को, अर्जेन्टिना र इंग्ल्यान्ड नै दाबेदार देखिन्छन्। यदि फ्रान्सलाई मोरोक्कोले जितिहाल्यो भने मोरोक्कोले विश्वकप जित्ने सम्भावना बढी देख्छु म।’
यसपटकको विश्वकपमा अफ्रिकी मुलुकहरुले गरेको प्रदर्शनले टेक्निकल्ली पनि उनीहरुले फुटबलमा धेरै प्रगती गरेको आभाष गराएको बद्री बताउँछन्। ‘डिआर कंगो, केप भर्डे, मोरोक्को त्यसकै उदाहरण हुन्,’ उनले भने।
केप भर्डे, डिआर कंगो, मोरोक्कोजस्ता देशहरुले फुटबलका महारथी भनिएका देशहरुसँग जसरी विश्वकपमा खेले, त्यो हेर्दा १० वर्षभित्र अफ्रिकी मुलुकले विश्वकप ट्रफी उचाल्ने उनी दाबी गर्छन्।
‘म त आजै भविष्यवाणी गर्छु– यो पटक मोरोक्कोले जितिहालेन भनेपनि २०३४ सम्ममा कुनै न कुनै अफ्रिकी मुलुकले विश्वकप उचाल्नेछ। उनीहरू शारीरिक रूपमा पहिले नै बलिया थिए, अहिले प्राविधिक रूपमा पनि खारिएका छन्,’ उनले भने।
बद्री फ्रान्सका एमबाप्पेलाई भविष्यको सुपरस्टार मान्छन्। ‘एमबाप्पेले २२ वर्षकै उमेरमा जे गरिरहेका छन्, त्यो देख्दा उनी नै अबको गोल्डन बुटको दाबेदार हुन् जस्तो लाग्छ,’ उनले भने।
हामीले बद्रीलाई सोध्यौँ– ‘नेपालले विश्वकप खेल्ने दिन आउँला कि नआउँला?’ जवाफमा उनी आशावादी सुनिए, ‘आउला, किन नआउनु।
हामीले विश्वकपमा पुगेको जोर्डनलाई कुनैबेला नेपालमा खेल हुँदा बराबरीमा रोकेकै हौँ। तर हामी प्राविधिक रूपमा धेरै पछाडि छौँ। एन्फा, सरकार र खेलाडीको अनुशासन सबै मिलेर अघि बढ्ने हो भने सपना देख्न सकिन्छ। हामी विश्वकप खेल्न सक्छौँ।’
जब उनलाई हामीले सोध्यौँ– ‘गीत रेकर्डिङ छाडेर विश्वकप फाइनल हेर्ने कि फाइनल मिस गरेर रेकर्डिङ गर्ने?’ जवाफमा उनले बिना हिचकिचाहट जवाफ दिए, ‘पाए त फाइनल नै हेर्ने नि! गीत त पछि पनि गाउन पाइहालिन्छ नि।’
विश्व फुटबलमा सधैँ बहस छेडिरहने एउटा प्रश्न हो– ‘गोट (गेरेटेस्ट अफ अल दि टाइम) को त? मेसी कि रोनाल्डो?’
बद्री यसमा सन्तुलित तर भावुक सुनिए। उनले भने, ‘गोट त दुवै हुन्। मेरो मुटुको दाहिनेतिर मेसी छन् भने देब्रे पट्टि रोनाल्डो। मेसीको ड्रिब्लिङ र रोनाल्डोको मिहिनेतको कुनै तुलना नै हुन्न। मेसीको खुट्टामा बल टाँसिएर हिँडेको देख्दा अद्भूत लाग्छ, तर रोनाल्डोको अनुशासित जीवनशैली र वर्क–इथिक्सले मलाई सधैँ तानेको छ।’
रोनाल्डोले विश्वकपको ट्रफी उचाल्न नपाए पनि उनको विरासत कहिल्यै नमर्ने बद्रीको तर्क छ। ‘रोनाल्डो त यो युगको एउटा बलियो खम्बा हुन्। ३७ वर्षको उमेरमा पनि जुन स्तरको फुटबल उनले खेले, त्यो कल्पनाभन्दा बाहिरको कुरा हो,’ उनले भने।
कुराकानीका क्रममा जब हामी नेपाली फुटबलको पुराना दिनहरुमा फर्कियौँ, बद्रीका आँखा केही बेर चम्किए। मनाङ मर्स्याङ्दी र थ्री स्टारको खेल हुँदाका दिनहरू उनलाई हिजो जस्तो लाग्छ।

‘त्यतिबेला रंगशालामा खुट्टा राख्ने ठाउँ हुन्थेन,’ उनले भने, ‘टिकटका लागि घण्टौँ लाइन बस्नुपर्थ्यो। म आफैँ मनाङ मर्स्याङ्दीको फ्यान थिएँ। अहिले नेपाली फुटबलको यो बिजोग देख्दा कस्तो–कस्तो लाग्छ। हिजो हामीले जोर्डन जस्तो टिमलाई नेपालमा रोकेका थियौँ, अहिले मैदानभित्रको राजनीतिले खेललाई खाइरहेको छ।’
उनी थप्छन्, ‘नयाँ घडी लगाउन पुरानो घडी फाल्नै पर्छ। नेपाली फुटबलले पनि अब नयाँ लय समात्नुपर्छ। सानै उमेरदेखि खेलाडीको छनोट र प्रशिक्षणमा राज्यले लगानी नगरेसम्म हामी विश्वकपको सपना मात्र देखिरहनेछौँ।’
हेर्नुस्, पंगेनीसँग विश्वकप र फुटबलसँग आधारित रहेर गरिएको भिडिओ कुराकानी– ‘विश्वकप विशेष’:
फोटो/भिडिओः सरोज नेपाल

प्रतिक्रिया