ad ad

खेल


मेस्सीलाई म्याराडोनाको सफलता भेट्ने भोक, कसले रच्ला नयाँ इतिहास?

मेस्सीलाई म्याराडोनाको सफलता भेट्ने भोक, कसले रच्ला नयाँ इतिहास?

फाइल तस्बिर


नेपालखबर
मंसिर २७, २०७९ मंगलबार १२:११, काठमाडौँ

ब्राजिल, इंग्ल्यान्ड, पोर्चुगल र नेदरल्यान्ड्स फिफा विश्वकप २०२२ को क्वार्टरफाइनलबाटै घर फर्किए।

तर, अर्जेन्टिना, क्रोएसिया, फ्रान्स र मोरक्को गरी चार टोली कतारमै छन्। हरेक टोलीलाई आउँदो साताभित्र विश्वकप उपाधि हात पार्ने आशा छ।

सेमिफाइनलको समीकरण यस्तै होला भनेर कमैले सोचेका थिए। त्यसैले नै यी चार टोलीको जितमा चाखलाग्दा कथाहरु बने। र, अझै त्यस्ता कथा बन्नेछन्।

मेस्सीले भेट्टाउलान् म्याराडोनाको सफलता?
सेमिफाइनलको सबैभन्दा बढी चासो दिइएको कथा लियोनल मेस्सीको वरिपरि घुम्छ। के यी अर्जेन्टिनी सुपरस्टारले विश्वकप जित्लान् त?

मेस्सीको करिअर अत्यन्त सफल छ। उनले १० वटा स्पेनी लिग र एउटा फ्रान्सेली लिगको उपाधि जितेका छन्। त्यस्तै, चारवटा च्याम्पियन्स लिग, २०२१ को कोपा अमेरिका र कीर्तिमानी ७ बालोन डिओर पनि हात पारेका छन्।

तर, अरु सर्वकालिक महान् खेलाडीमा पर्ने ब्राजिलका पेले वा अर्जेन्टिनाकै डिएगो म्याराडोनाजस्तो मेस्सीले विश्वकप उपाधि जित्न सकेका छैनन्।

म्याराडोनाको नेतृत्वमा अर्जेन्टिनाले विश्वकप जितेको ३६ वर्ष पुगिसकेको छ। मेस्सीको बलमा यो टोली २०१४ को उपविजेता बन्न सफल भएको थियो।

के मेस्सीले म्याराडोनाको सफलता दोहोर्‍याउन सक्लान् त? र, त्यसो गर्दैगर्दा उनले महानतम खेलाडीका रुपमा आफ्नो विरासत कायम गर्लान्?

मोरक्कोले थप्ला खुसी?
मोरक्कोले यसअघि नै इतिहास रचिसकेको छ।

विश्वकप सेमिफाइनलमा पुग्ने यो पहिलो अफ्रिकी टोली र पहिलो मुस्लिम बहुल अरब टोली पनि हो।

हो, यो टोलीमा चेल्सीका हकिम जिएच र पीएसजीका असरफ हकिमीजस्ता हाइप्रोफाइल तथा अनुभवी खेलाडीहरु छन्। तथापि सेमिफाइनलसम्म पुग्दा यो टोलीले एकपछि अर्को चमत्कार गर्दै अनेक अपेक्षाहरुलाई तोडेको छ।

क्रोएसिया र बेल्जियम सम्मिलित समूहको शीर्षमा रहन सफल रह्यो यो टोली। त्यसपछि अन्तिम १६ मा उसले स्पेनलाई पाखा लगायो भने क्वार्टरफाइनलमा पोर्चुगललाई घर पठायो।

उनीहरुको यो सफलता तिनको फलामे प्रतिरक्षा र कठोर मेहनतको आधारमा सम्भव भएको हो। कतारमा अहिलेसम्म मोरक्कोले विपक्षी खेलाडीबाट एउटै गोल खाएको छैन। क्यानडाविरुद्धको खेलमा खाएको गोल पनि आत्मघाती थियो।

र, यो प्रतियोगितामा सबैभन्दा व्यापक समर्थन जुटाउन सफल टोली पनि यही हो।

आयोजकहरुले यो विश्वकप कतारको मात्र नभई मध्यपूर्व र सम्पूर्ण मुस्लिम विश्वको भएको बताएका छन्। के मंगलबार मोरक्कोले थप खुसी ल्याउला?

के फ्रान्सले उपाधि रक्षा गर्ला?
तर, मोरक्कोको बाटो छेकेर बसेको छ युरोपको सर्वोत्कृष्ट टोली फ्रान्स।

फ्रान्स ६० वर्षअघि ब्राजिलले १९६२ मा हासिल गरेयता कसैले हात पार्न नसकेको सफलता दोहोर्याउने प्रयासमा छ। अर्थात्, ऊ लगातार विश्वकप उपाधि उचाल्ने दाउमा छ।

वास्तवमा पछिल्ला १२ वर्षमा डिफेन्डिङ च्याम्पियनहरुले कठिनाइ झेलिरहेका छन्। इटली, स्पेन र जर्मनी सबै उपाधिको रक्षा गर्ने क्रममा समूह चरणबाटै बाहिरिए। तर, त्यो चक्रलाई फ्रान्सले तोडेको छ। 

शनिबार इंग्ल्यान्डलाई जित्दै १९९८ मा ब्राजिलपछि सेमिफाइनलमा पुग्ने पहिलो डिफेन्डिङ च्याम्पियन बनेको छ फ्रान्स। 

प्रशिक्षक डिडियर डेस्च्याम्प्स भने मोरक्कोमा केन्द्रित छन्। लगातार दोस्रो फाइनलबारे प्रश्न सोध्दा उनले त्यसबारे कुरा गर्ने बेला भइनसकेको जवाफ दिए।

क्रोएसियाले के गर्ला?
फ्रान्सले मोरक्कोलाई र क्रोएसियाले अर्जेन्टिनालाई हराएमा सन् २०१८ कै फाइनल दोहोरिनेछ।

अतुलनीय लचकता देखाएको क्रोएसिया फेरि सेमिफाइनलसम्म आइपुगेको छ।

अघिल्लो पटक फाइनलसम्म पुग्न क्रोएसियाली पेनाल्टीमा डेनमार्क र रुसलाई पराजित गरेको थियो। यसपटक जापान र ब्राजिललाई उसले बिदा गर्यो।

विश्वकपको नकआउट चरणमा ९० मिनेटको खेलमै क्रोएसियाले विपक्षीलाई हराएको २४ वर्ष भइसकेको छ। १९९८ को क्वार्टरफाइनलमा क्रोएसियाले जर्मनीलाई ३-० ले पराजित गरेको थियो।

क्रोएसियाको यसपालिको उपलब्धि अझ गतिलो देखिन्छ। किनभने उसको मिडफिल्डका जादुगर लुका मोर्डिच ३७ वर्ष पुगिसकेका छन्।

खेल एक्स्ट्रा टाइममा पुग्दा पनि उनी मैदानमा फुर्तिला देखिए। 

२०१८ को विश्वकपमा अर्जेन्टिना क्रोएसियासँग ३–० ले पराजित भएको थियो। त्यसैले पनि उसले क्रोएसियालाई कम आँक्ने छैन। बीबीसी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .