ad ad

खेल


कतार विश्वकपको नतिजा अहिलेसम्मकै अनपेक्षित हो?

कतार विश्वकपको नतिजा अहिलेसम्मकै अनपेक्षित हो?

नेपालखबर
मंसिर १८, २०७९ आइतबार ९:२८, काठमाडौँ

कतारमा जारी फिफा विश्वकप २०२२ मा समूह चरणका खेल सकिएका छन्। यो विश्वकपको समूह चरणका खेलमा निकै अनपेक्षित नतिजाहरु आएका छन्।

अर्जेन्टिना, फ्रान्स, स्पेन, पोर्चुगल र ब्राजिलले फिफा वरीयतामा निकै तल रहेका टोलीसँग हारको सामना गरे। जबकी जर्मनी र बेल्जियम भने लगातार अनपेक्षित हारसँगै समूहचरणबाटै बाहिरिएका छन्। 

के यो विश्वकप अहिलेसम्मकै अनपेक्षित नतिजा दिने विश्वकप हो त? भन्ने विषयमा अहिले बहस सुरु भएको छ। यहाँ ३२ टोलीले भाग लिएका पछिल्लो ६ विश्वकपका समूह चरणको खेलको तुलना गरिएको छ। 

३२ टोलीले विश्पकप खेल्न थालेपछि समूह चरणमा शतप्रतिशत जितको नतिजा कुनै पनि टोलीले हात पार्न नसकेको यो पहिलो विश्वकप हो। सन् १९९८ को विश्वकपयता समूह चरणमा कम्तीमा दुई टोलीले शतप्रतिशत जित हात पार्दै आएका थिए। सन् २०१८ को विश्वकपमा उरुग्वे, क्रोएसिया र बेल्जियमले समूह चरणका सबै खेलमा जित हात पारेका थिए। 

कतार विश्वकपको समूह चरणको खेल हेर्ने हो भने इंग्ल्याण्ड सबैभन्दा बलियो देखिएको छ। उसले ७ अंक हात पारेको छ भने ९ गोल गरेको छ। यो क्रममा उसले जम्मा दुई गोल मात्र खाएको छ। यो टोलीसँगै अपराजित रहँदै अन्तिम १६ मा जाने टोलीमा नेदरल्याण्ड्स, मोरक्को, क्रोएसिया र अमेरिका छन्। 

समूह चरणमा अपराजित रहने टोलीको संख्या सन् २०१८ को विश्वकपमा नौ थियो। यसपटक पाँचमा झरेको छ। यो संख्या पनि ३२ टोलीले विश्वकपमा सहभागिता जनाउन थालेयताकै कम हो। समूह चरणका ४८ मध्ये १२ खेल कम वरीयताका टोलीले जितेका छन् भने २६ खेल शीर्ष वरीयताका टोलीले जितेका छन्। बाँकी १० खेल भने बराबरीमा टुंगिएका छन्। यो संख्या भने पछिल्लो ६ विश्वकपको औसतकै हाराहारीमा छ। 

यद्यपि यो विश्वकपमा वरीयताको अन्तर धेरै भएका साना टोलीले भने ठूला टोलीलाई निराश पारेका छन्। फिफा वरीयतामा २० स्थानभन्दा तल रहेका टोलीबीचको प्रतिस्पर्धामा भने चारमध्ये एक खेल कमजोर वरीयताको टोलीले जितेको छ। जुन २५ प्रतिशतको जित हो। सन् २०१४ मा यो संख्या ९ प्रतिशत रहेकोमा २०१८ मा बढेर १८ प्रतिशतमा पुगेको थियो। 

अनपेक्षित टोलीले ठूला टोलीलाई हराउँदा उनीहरुले आफ्नो शीर्ष टोलीसँगको वरीयताको अन्तर पनि कम गर्ने मौका पाएका छन्। वरीयतामा शीर्ष २० भन्दा बाहिर रहेका पाँच टोली अष्ट्रेलिया, जापान, मोरक्को, पोल्याण्ड र दक्षिण कोरियाले सन् २०१० पछि पहिलोपटक अन्तिम १६ मा आफ्नो स्थान बनाए। 

यसैबीच शीर्ष २० वा सोभन्दा कम वरीयता भएका सात टोली समूहचरणबाटै बाहिरिए। ३२ टोली सम्मिलित विश्वकप सुरु भएयता यति शीर्ष वरीयताका यति ठूलो संख्याका टोली समूह चरणबाटै बाहिरिएको यो पहिलोपटक हो। 

वरीयताको शीर्ष २० भित्र र बाहिर रहेका टोलीले समूह चरणमा पाएको औसत अंकको अन्तर सन् १९९८ मा १.२५ रहेकोमा यसपटक शून्य दशमलव ४ अंकमा झरेको छ। 

यस विश्वकपमा कमजोर वरीयताका टोली हाबी भएका खेलहरु– 
अर्जेन्टिना (फिफा वरीयता ३) १–२ साउदी अरेबिया (५१) 
क्यामरुन (४३) १–० ब्राजिल (१) 
दक्षिण कोरिया (२८) २–३ घाना (६१) 
अष्ट्रेलिया (३८) १–० डेनमार्क (१०) 
ट्युनिसिया (३०) १–० फ्रान्स (४) 
बेल्जियम (२) ०–२ मोरक्को (२२) 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .