ad ad

खेल


अमेरिकालाई पराजित गर्दै नेदरल्याण्ड्स क्वार्टरफाइनलमा

अमेरिकालाई पराजित गर्दै नेदरल्याण्ड्स क्वार्टरफाइनलमा

नेपालखबर
मंसिर १७, २०७९ शनिबार २२:३९, काठमाडौँ

विश्वकप फुटबलमा अमेरिकालाई हराउँदै नेदरल्याण्ड्स क्वार्टर फाइनलमा प्रवेश गरेको छ। शनिबार राति नकआउटको पहिलो खेलमा नेदरल्याण्ड्स ३–१ ले विजयी भएको हो। 

नेदरल्याण्ड्सको जितमा मेम्फिस डिपे, डली ब्लिन र डेन्जल मुम्फ्रिसले एक एक गोल गरे। अमेरिकाका लागि हाजी राइट्सले एक गोल फर्काए। 

खेलको १० औं मिनेटमा डिपेले नेदरल्याण्ड्सलाई अग्रता दिलाएका थिए। पहिलो हाफको अतिरिक्त समयमा ब्लिनले अग्रता दोब्बर बनाए। 

७६ औं मिनेटमा हाजी राइट्सले गोल गर्दै अमेरिकालाई खेलमा फर्काउने संकेत गरेका थिए। तर त्यसको ५ मिनेटपछि नेदरल्याण्ड्सले पुनः अर्को गोल थप्दै सहज जित हात पार्यो। यसअघि २ गोलमा पास मिलाएका ब्लिनले अन्तिम गोल गरेका हुन्। 

११ औं पटक विश्वकप खेलिरहेको नेदरल्याण्ड्स यसअघि क्वार्टर फाइनलबाट एक पटक मात्रै बाहिरिएको छ। तीनपटक फाइनलमा पुगेको छ भने २ पटक सेमिफाइनल पुगेको छ। 

१९९४ मा क्वार्टरफाइनलबाटै बाहिरिएको थियो। 

सन् १९७४ र १९७८ मा लगातार फाइनलमा पुगेर पनि उपाधिबाट चुकेको थियो। २०१० मा तेस्रो पटक फाइनल पुग्दा स्पेनसँग पराजित भएको नेदरल्याण्ड्स लगतै २०१४ मा सेमिफाइनलमा पुगेको थियो। त्यसअघि १९९८ मा सेमिफाइनलबाट घर फर्किएको थियो। ती दुवै विश्वकपमा नेदरल्याण्ड्स तेस्रो भयो। 

२०१८ मा छनौट नै नभएको नेदरल्याण्ड्स यसपटक समूह ए को विजेताका रुपमा समूह चरण पार गरेको थियो। समूह बी को उपविजेता अमेरिकामाथि सहज जित हात पार्दै अघि बढेको हो। 

आजै राति हुने अर्जेन्टिना र अष्ट्रेलियाको विजेतासँग नेदरल्याण्ड्सले क्वार्टर फाइनलमा भिड्नेछ। 


 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .