खेल


टोलीलाई पाँचौंपटक विश्वकप जिताउन चाहन्छन् ‘जर्मनीका मेस्सी’

टोलीलाई पाँचौंपटक विश्वकप जिताउन चाहन्छन् ‘जर्मनीका मेस्सी’

जमल मुसियला। तस्बिर : गेट्टी इमेज


नेपालखबर
मंसिर ७, २०७९ बुधबार १३:५३, काठमाडौँ

जमाल मुसिएला जर्मनीको टोलीका उदाउँदा खेलाडी हुन्।

१९ वर्षीय यी खेलाडी पछिल्लो समय समय उत्कृष्ट प्रदर्शनको कारण धेरैको नजरमा पर्न सफल भएका छन्। जारी विश्वकपमा उनी जर्मनीको टोलीको अग्रपंक्तिमा देखिनेछन्।

उनले मिडफिल्ड र अग्रपंक्तिमा समन्वयको काम गर्नेछन्। सन् २०२२/२३ सिजनमा बायर्न म्युनिखमा गरेको प्रदर्शनको कारण उनी धेरैको नजरमा पर्न सफल भएका हुन्।

उनले गत अगष्टयता नौ गोल गरिसकेका छन् भने ६ गोलमा असिस्ट गरिसकेका छन्। जर्मनीको टोलीका पूर्वकप्तान  लोथर माट्हसले सुसिएलाको पास, गति, सिर्जनात्मक खेल र गोल गर्न सक्ने क्षमतालाई लिएर अर्जेन्टिनाका फुटबल स्टार लियोनेल मेस्सीसँग तुलना गरेका छन्। 

मुसिएला भने आफूलाई मेस्सीसँग तुलना गरिनु ठूलो सम्मान भएको बताउँछन्। उनी यो सम्मान आफ्नो लागि चुनौतीपूर्ण रहेको पनि बताउँछन्। मेस्सीले लामो समयदेखि उच्च स्तरमा खेलिरहेकाले आफूले उक्त उचाइ हासिल गर्न कठिन रहेको उनको भनाइ छ। उनी आफू अहिले केवल आफैंमा केन्द्रित भएर अझै राम्रो गर्ने लक्ष्यका साथ अघि बढिरहेको बताउँछन्। 

मुसिएलाको जन्म जर्मनीको स्टुगार्टमा भएको थियो। उनकी आमा पोल्याण्डको मूलकी जर्मन नागरिक हुन् भने बाबु नाइजेरियाका नागरिक हुन्। मुसिएला सात वर्षको हुँदासम्म फुल्डा भन्ने स्थानमा बसेका थिए। तर, त्यसपछि भने उनी आफ्ना बाबुआमासँगै इंग्ल्याण्ड गए। जहाँ उनको बाँकी बाल्यकाल बित्यो। 

मुसिएलाले इंग्ल्याण्डबाट आफ्नो फुटबल करियर सुरु गरेका थिए। उनी बाल्यकालको अन्तिम केही वर्ष चेल्सी एकेडेमीमा जान्थे। सोही क्रममा उनी इंग्ल्याण्डको नेशनल जुनियर प्रणालीबाट छनोट हुँदै यू–२१ टोलीका लागि छानिएका थिए। यद्यपि उनले आफ्नी आमाको मुलुक जर्मनी फर्किने निर्णय गरे। उनी जर्मन लिग बुन्डेसलिगामा बायर्न म्युनिखको तर्फबाट व्यावसायिक फुटबल खेलिरहेका छन्। अहिले उनी जर्मनीको राष्ट्रिय फुटबल टोलीमा समावेश भएका छन्। 

इंग्ल्याण्डमा रहँदा आफ्ना प्रशिक्षकले दिएको केही सुझावको कारण अहिले यो स्थानमा आइपुग्न सफल भएको मुसिएला बताउँछन्। इंग्ल्याण्डमा हुँदा जर्मनीमा भन्दा भिन्न कुरा सिक्न पाइएको उनले बताए। 

मुसिएलालाई यो विश्वकपमा जर्मनीको लागि उत्कृष्ट प्रदर्शन गर्दै फुटबलको सबैभन्दा ठूलो प्रतियोगितामा आफूलाई साबित गर्ने मौका छ। बुधबार जापानविरुद्ध खेल्दै जर्मनीले कतार विश्वकपको यात्रा सुरु गर्दै छ। जर्मनीको समूहमा स्पेन र कोस्टारिका पनि छन्। 

मुसिएला यो प्रतियोगिताको लागि जर्मनी बलियो टोली रहेको बताउँछन्। उनी आफूहरु यसपटकको उपाधि जित्ने लक्ष्यका साथ आएको बताउँछन्। त्यसका लागि जर्मनीको टोली पनि तयार रहेको उनले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad