ad ad

खेल


आत्मविश्वासी अर्जेन्टिना, मेस्सीलाई अधुरो लक्ष्य पूरा गर्ने अन्तिम मौका

आत्मविश्वासी अर्जेन्टिना, मेस्सीलाई अधुरो लक्ष्य पूरा गर्ने अन्तिम मौका

नेपालखबर
मंसिर ३, २०७९ शनिबार १४:२, काठमाडौँ

अर्जेन्टिनाको अन्तर्राष्ट्रिय फुटबल उपाधिको कुरा चल्दा धेरैले सम्झिने घटना हो–सन् २०१६ को कोपा अमेरिका कपको फाइनल। उक्त खेलमा अर्जेन्टिना चिलीसँग पेनाल्टी सुटआउटमा पराजित भएको थियो। चिलीसँगको हारपछि अर्जेन्टिनाका कप्तानसमेत रहेका लियोनेल मेस्सी विक्षिप्त बनेका थिए।  

यो हारको पीडा सहन नसकेका उनले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा पनि गरे। हारपछि निराश बनेका मेस्सीले भनेका थिए, ‘अब मैले देशका फुटबल टोलीको लागि गर्न सक्ने यति हो। मैले यसअघि भनेको जस्तै हामीले चार फाइनल खेल हारिसक्यौं र यो मेरो लागि मात्र पनि होइन।’ 

उनले चिलीविरुद्धको खेलको निर्णायक पेनाल्टी मिस गरेका थिए। यद्यपि पछि उनले आफ्नो सन्यास फिर्ता लिए।

उपाधिको निकै नजिक पुगेर पनि गुमाएको कारण पनि यो घटनाको चर्चा धेरै हुने गरेको छ।  सोही घटना दोहोरिने आशंकाबीच कोपा अमेरिका २०२१ अघि मेस्सीले सन् २०१६ को इतिहास दोहोरिएर कोपा अमेरिका कप ब्राजिलको पक्षमा जाने सम्भावना नरहेको उनले बताएका थिए। अन्ततः उनले यो उपाधि आफ्नो टोलीलाई जिताए। यो उपाधि जित्दा उनी निकै खुसी देखिन्थे। उपाधि जित्ने उनको भोक यो प्रतियोगितामा देख्न सकिन्थ्यो। 

त्यसो त मेस्सीको लागि अन्तर्राष्ट्रिय फुटबलमा उपाधिको भोक भने अझै मेटिएको छैन। विश्वकै उत्कृष्ट खेलाडीको रुपमा चर्चा पाएका उनी विश्वकपको उपाधि अर्जेन्टिनालाई दिलाउँदै आफूलाई अब्बल साबित गर्ने दाउमा छन्। उनको लागि विश्वकपको उपाधि जित्ने यो अन्तिम मौका पनि हो। सम्भवतः उनले अर्को विश्वकप खेल्ने छैनन्। 

सन् २०१० मा अर्जेन्टिनाको प्रशिक्षक डिएगो म्याराडोना भएको बेला मेस्सीले अर्जेन्टिनाले विश्व फुटबलको महत्वपूर्ण उपाधि जिताउने अपेक्षा गरिएको थियो। यद्यपि जर्मनीसँगको फराकिलो हारसँगै अर्जेन्टिनाको उक्त सपना चुँडिएको थियो। २०१४ मा अर्जेन्टिना विश्वकपको सबैभन्दा नजिक पुगेको थियो। यो विश्वकप  पछिल्लो ६ वर्षमा चौथोपटक बालेन डे’ओरको उपाधि जितेका मेस्सीको लागि निकै महत्वपूर्ण थियो। यो विश्वकपमा उनलाई गोन्जालो हिगुइन, एन्जेल डि मारिया, जाभियर मास्केरानो र कुन एग्युरोजस्ता खेलाडीको साथ पनि थियो। यद्यपि फाइनलमा जर्मनीसँग स्तब्ध हुँदै अर्जेन्टिनाले यो अवसरमा पनि विश्वकपको उपाधि जित्न सकेन। 

‘यो हाम्रो लागि अहिले वा कहिले पनि होइनको अवस्था हो।  हामीले यसलाई हाम्रो अन्तिम विश्वकपको रुपमा हेरेका छौं र हामी यो अवसरको सक्दो सदुपयोग गर्न चाहन्छौं’, यो मेस्सीले चार वर्षअघिको विश्वकपअघि दिएको अभिव्यक्ति हो। यो अभिव्यक्ति यो विश्वकपमा पनि उत्तिकै सान्दर्भिक छ। अर्जेन्टिना अहिले विश्वको सबैभन्दा पाका खेलाडीहरुको टोली लिएर कतार आइपुगेको छ। यसपटकको विश्वकपमा अर्जेन्टिनाको यात्रा सहज भने पक्कै रहनेछैन। अन्तिम १६ मा नै अर्जेन्टिनाले फ्रान्सको सामना गर्नुपर्ने हुन सक्छ।

विश्वकप फुटबलमा मेस्सीको प्रदर्शन भने आशा गरिएअनुसारको रहन सकेको छैन। मेस्सीले अहिलेसम्म विश्वकपको नकआउट चरणमा गोल गर्न सकेका छैनन्। क्लबमा हुँदा जुन किसिमको खेल मेस्सीले प्रदर्शन गर्छन्, त्यो खेल उनले विश्वकपमा भने देखाउन सकेका छैनन्। मेस्सीको महानताको कुरा गर्दा अर्जेन्टिना सधैं दोस्रो स्थानमा पर्ने गर्छ। 

अर्जेन्टिनाको जर्सीमा मेस्सीले त्यति धेरै सुखद नतिजा दिन सकेका छैनन्। गत वर्ष भएको कोपा अमेरिका कपमा जित हात पार्नुु भने अर्जेन्टिनाको लागि आशाको किरण हो। उपाधि दिलाएपछि अर्जेन्टिनी फ्यानको मेस्सीसँगको सम्बन्ध सुधारको लागि पनि काम गरेको छ। 

फुटबलबारे जानकार लेखक जोनाथान विल्सनका अनुसार सानै उमेरमा स्पेन गएर व्यावसायिक फुटबल खेल्ने र क्लबको लागि राम्रो प्रदर्शन गर्ने भएकाले मेस्सीप्रति अर्जेन्टिनी फ्यानको नकारात्मक छाप बसेको थियो। तर, सन् २०१६ मा चिलीविरुद्ध पेनाल्टीमा गोल गर्न नसकेपछि मेस्सी भित्रैबाट टुटेका थिए। उनको आँसु र सन्यास लिने निर्णयले आश्चर्यमा परेका मानिसलाई उनी अझै चाहिन्छ भन्ने लाग्यो र  सन्यासको निर्णय फिर्ता लिन आग्रह गरे। जसबाट मेस्सीले धेरै फ्यानको सेन्टिमेन्ट पाए। 

त्यतिबेला त मेस्सी अन्तर्राष्ट्रिय फुटबलमा फिर्ता आए तर अब भने उनी फिर्ता आउने सम्भावना कम छ। त्यसैले उनको लागि यो विश्वकप अर्जेन्टिनालाई  जिताउनु निकै महत्वपूर्ण हुन सक्छ। 

यद्यपि महानता सधै सबै हिसाबले दुरुस्त हुनुपर्छ भन्ने छैन र विश्वकपको उपाधि दिलाउन सकेनन् भने मेस्सीको विरासत भने हट्नेछैन। विश्वकप जिताउन सकेको खण्डमा मेस्सीले त्यसमा अर्को एक इँटा थप्नेछन्। 

५ पटक फाइनलमा, २ उपाधि 
पहिलो विश्वकपमै फाइनल पुगेको अर्जेन्टिनालाई उपाधि जित्न भने घरेलु मैदान र दर्शकको साथ कुर्नु परेको थियो। १९३० मा उरुग्वेसँग ४–२ ले पराजित भयो। त्यसपछि लगातार ९ वटा विश्वकपमा अर्जेन्टिना सेमिफाइनलमा पनि पुग्न सकेन। । १९७८ को विश्वकप भने आफैं आयोजना गर्यो। 

घरेलु मैदानमा अर्जेन्टिनाले प्रभाव देखायो र विश्व विजेतामा आफ्नो नाम लेखायो। ८ वर्ष पछि फेरि विश्व विजेतामा फर्कियो अर्जेन्टिना। १९८६ मा मेक्सिकोमा भएको विश्वकपमा जर्मनीलाई ३–२ ले पराजित गर्दै उपाधि जित्यो। तर त्यसपछि भने २ पटक फाइनलमा पुगे पनि अर्जेन्टिनाले उपाधि थप्न सकेको छैन। 

१९९० को विश्वकपमा पनि अर्जेन्टिनाले फाइनलमा स्थान बनाएको थियो। जुन फाइनलमा जर्मनीले अघिल्लो विश्वकपको बदला लियो। त्यसपछि फेरि ५ वटा विश्वकपमा अर्जेन्टिनाले सेमिफाइनलसम्मको यात्रा पनि तय गर्न सकेन। २०१४ मा ब्राजिलमा भएको विश्वकपमा भने फाइनलमा स्थान बनायो। 

तर २० वर्षअघिकै नियति उही टिमसँग भोग्नुपर्‍यो। जर्मनीले फाइनलमा अर्को पटक अर्जेन्टिनालाई निराश बनायो। यसअघिको विश्वकपमा अन्तिम १६ बाटै बिदा भएको अर्जेन्टिनालाई यसपटक बलियो दाबेदारका रुपमा हेरिएको छ। पछिल्लो समय उसले सुन्दर फुटबल खेलेको छ। 

लामो समय अपराजित टिमको कीर्तिमान नजिक छ। ३६ खेलदेखि अपराजित अर्जेन्टिनाले अब एक खेल जिते अपराजित टिमको कीर्तिमान बराबरी गर्नेछ। 

यसपटक अर्जेन्टिनी टिममा दुई कुरा प्रष्ट देखिन्छ। एउटा जितको भोक र अर्को टिम भावना। मेस्सीको नेतृत्वमा यो टिम एक छ। उनीहरुमा यसपटक आत्मविश्वास र कडा परिश्रम पनि मैदानमा देखाएको छ। 

कस्तो छ अर्जेन्टिनाको टिम ?
विश्वकप खेल्ने अर्जेन्टिनाको टिममा केही अनुभवी र धेरैजसो युवा खेलाडी छन्। अहिलेको यो टिम सन्तुलित पनि देखिएको छ। सधैं फरवार्ड लाइनमा मेस्सी बाहेकका खेलाडी नचल्दा, डिफेन्स र मिडफिल्ड कमजोर हुँदा महत्वपूर्ण खेलमा अर्जेन्टिनाले धोका खान्थ्यो।

३५ वर्षीय मेस्सीसँग विश्वकपमा अर्का अनुभवी खेलाडी फरवार्ड लाइनमै हुनेछन् एन्जल डि मारिया। डि मारिया तिनै खेलाडी हुन्, जसले कोपा अमेरिकाको फाइनलमा ब्राजिलविरुद्ध विजयी गोल गर्दै ऐतिहासिक उपाधि दिलाए। गत सिजन पीएसजीमा मेस्सी र डि मारियासँगै खेले। तर, अहिले डि मारियाले त्यो क्लब छाडे र इटालियन क्लब युभेन्टसमा आबद्ध छन्। 

३४ वर्षीय डि मारियाले ७ खेल खेल्दा यो सिजन १ गोल र १ गोलमा असिस्ट गरेका छन्। चोटका कारण केही खेल गुमाएर उनी विश्वकप खेल्न कतार पुगेका हुन्। दुई दिन अघि यूएईसँग भएको मैत्रीपूर्ण खेलमा ५–० को जित दर्ता गर्दा उनले २ गोल गरेका थिए। डि मारिया टोलीको आवश्यकताअनुसार मिडफिल्ड र फरवार्ड दुवै खेल्न सक्छन्। 

अर्जेन्टिनाका अर्का भरलाग्दा स्ट्राइकर हुन्– इन्टर मिलानका लौटारो मार्टिनेज। २५ वर्षका मार्टिनेजले डि मारिया र मेस्सीको साथमा धेरै खेल खेलिसकेका छन्। यी तीनको तालमेल पनि राम्रो देखिएको छ। 

मार्टिनेजले सिरि ए मा १५ खेलमा ७ गोल र ३ असिस्ट गरेका छन्। फरवार्ड लाइनकै अर्को भरलाग्दो विकल्पमा अर्जेन्टिनासँग सिटीका फरवार्ड जुलियन अल्भारेज छन्। 

२२ वर्षीय अल्भारेजले थोरै समय मौका पाउँदा पनि आफूलाई प्रमाणित गरेका छन्। उनको फिनिसिङकै कारण प्रशिक्षक स्कोलोनिले उनलाई कतार बोलाए। यो सिजन सिटीबाट उनले प्रिमियर लिगमा ३ गोल र च्याम्पियन्स लिगमा २ गोल गरेका छन्। 

एथ्लेटिको मड्रिडका एन्जल कोरेया र रोमाका पाउलो डिबाला अर्जेन्टिनाको बलियो बेन्च हुन्। 

रोड्रिगो डे पउल, लियान्द्रो परेडेस, एलेक्सिस म्याक अलिस्टर, लुईरो रोड्रिग्वेज लगायत अर्जेन्टिनाका प्रमुख मिडफिल्डर हुन्। एथ्लेटिको मड्रिडका डे पउल र युभेन्डसका परेडेस सेन्टर मिडफिल्डमा पहिलो रोजाइमा पर्ने निश्चित जस्तै छ। परेडेस अघिल्लो सिजनसम्म मेस्सी र डि मारियासँगै पीएसजीमा खेलेका थिए।

अर्जेन्टिनाले पछिल्ला खेलमा नियमित यी जोडीलाई मिडफिल्डको जिम्मा दिँदै आएको छ। वेष्ट ह्यामका अलिस्टर पनि अर्जेन्टिनाको मिडफिल्डमा लेफ्ट साइडमा हुनेछन्। राइटसाइडमा भने डीमारिया खेल्ने सम्भावना बढी छ। 

गत विश्वकपको अन्तिम १६ मा अर्जेन्टिनालाई डिफेन्स लाइनले धोका दियो। जस कारण फ्रान्सको पोष्टमा तीन गोल गर्दा पनि चार गोल खाएपछि विश्वकपबाट बाहिरिनु पर्यो। 

यसपटक अर्जेन्टिनाले २ अनुभवी र २ युवा डिफेन्डरलाई मौका दिनेछ। सेभियाका डिफेन्डर ३१ वर्षीय मार्कस अकुना र बेनफिकाका सेन्टर डिफेन्डर ३४ वर्षीय निकोलास ओटामेन्डीले निरन्तरता पाउनेछन्। 

तर पछिल्ला खेलमा म्यानचेस्टर युनाइटेडका लिसान्द्रो मार्टिनेज, टोटनह्यामका डिफेन्डर क्रिस्टियन रोमेरोले पनि राम्रो गरिरहेका छन्। अर्जेन्टिनाको टिममा अरु पनि लालिगा र प्रिमियर लिगक्लबका युवा डिफेन्डर यसपटकको टिममा छन्। भियारियलका जुअन फोथ, गोन्जालो मोन्टियल, लायोनका निकोलास ट्याग्लिफिका र रियल बेटिसका जर्मन पेजेला लगायतले अर्जेन्टिनाको रक्षात्मक जिम्मेवारी पाउने छन्। 

गोल रक्षकमा भने इमिलियानो मार्टिनेज नै पहिलो रोजाइमा पर्नेमा शंका छैन। एस्टन भिल्लाका ३० वर्षीय मार्टिनेज पछिल्लो समय अर्जेन्टिनाले अपराजित यात्रा कायम राख्दा नियमित टोलीमा छन्। क्लबको स्थिति खराब भए पनि मार्टिनेज राष्ट्रिय टिमको विश्वास जित्न सफल छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .