ad ad

बागमती


काठमाडौँ उपत्यकाका तीन कारागारमा निर्वाचन तयारी पूरा, १८२ जनाले मतदान गर्ने

काठमाडौँ उपत्यकाका तीन कारागारमा निर्वाचन तयारी पूरा, १८२ जनाले मतदान गर्ने

फाइल तस्बिर


नेपालखबर
मंसिर ३, २०७९ शनिबार १४:२९, काठमाडौँ

आइतबार हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा पहिलो पटक कारागारमा रहेका कैदीबन्दीले मताधिकारको प्रयोग गर्दैछन्।

मतदाता नामावलीमा नाम समावेश भई निर्वाचन कसुरमा सजाय पाएका बाहेकका कैदीबन्दीले प्रतिनिधिसभाको समानुपातिकतर्फ मतदान गर्न पाउने व्यवस्था गरिएको छ। 

यसैबीच, काठमाडौँ उपत्यकामा रहेका तीन कारागारमा निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको सम्बन्धित कार्यालयले जनाएका छन्। 

काठमाडौँका दुई र ललितपुरका एक कारागारमा रहेका कैदीबन्दीमध्ये १८२ जनाले मतदान गर्न पाउनेछन्। 

कारागार कार्यालय काठमाडौँमा एक सय १० र जगन्नाथदेवलमा २० तथा कारागार कार्यालय ललितपुर ५२ कैदीबन्दीले मतदान गर्नेछन्।

कारागार कार्यालय जगन्नाथलेवलमा तीन हजार चार सय, कारागार कार्यालय काठमाडौँमा छ सय ५० र कारागार कार्यालय ललितपुरमा एक हजार चार सय २० भन्दाबढी कैदीबन्दी छन्। 

कारागार कार्यालय जगन्नाथदेवलमा निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको कार्यालयका उपसचिव वेदप्रसाद खरेलले जानकारी दिए। उनले निर्वाचन अधिकृतको कार्यालयबाट मतदान सामग्री बुझेर ल्याइएको बताए। आइतबार बिहान ७ बजेदेखि मतदान सुरु हुनेछ। 

आयोगले यसपटकदेखि मतदाता नामावलीमा नाम समावेश भएका तर मतदान केन्द्रमा नखटिने कर्मचारी र सुरक्षाकर्मी, वृद्धाश्रममा रहेका व्यक्ति, निर्वाचन कसुरमा सजाय पाएकाबाहेकका कारागारमा रहेका कैदी र बन्दीलगायत व्यक्तिलाई प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ मतदानको व्यवस्था मिलाएको छ। 

त्यसका लागि देशभर एक सय ४१ अस्थायी मतदान केन्द्र निर्धारण गरिएको छ। आयोगले २०७२ सालमा जारी भएको नेपालको संविधानपछि अस्थायी मतदाताले मतदान गर्ने व्यवस्था पहिलो पटक कार्यान्वयनमा ल्याएको हो। देशभर चार लाख ५० हजार अस्थायी मतदाता छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .