ad ad

खेल


साविक विजेता विश्वकपको समूह चरणबाटै बाहिरिने नियति तोड्ला फ्रान्सले?

साविक विजेता विश्वकपको समूह चरणबाटै बाहिरिने नियति तोड्ला फ्रान्सले?

नेपालखबर
कात्तिक २८, २०७९ सोमबार ६:४८, काठमाडौँ

पछिल्लो डेढ दशकदेखि विश्वकप फुटबलमा साविक विजेता टोलीलाई एउटा नराम्रो नियतिले पछ्याइरहेको छ। सन् २००६ पछिका साविक विश्व विजेताले अर्को विश्वकपमा समूह चरण नै पार गर्न सकेका छैनन्। 

विश्वकपको मुखमा बलिया प्रक्षेपण गरिन्छन्। तर मैदानमा साना भनिएका टोलीसँग हार्दै समूह चरणबाटै यात्रा टुंगिन्छ। यसअघिका साविक विजेता इटाली, स्पेन र जर्मनीले पछिल्ला तीन विश्वकपमा यस्तै नियति भोगे। 

यही क्रमले निरन्तरता पाए यसपटक फ्रान्स पनि समूह चरण पार हुने छैन। तर अहिले फ्रान्ससँग बलियो टिम छ। त्यति हुँदाहुँदै पनि उसको पछिल्लो नतिजा भने भरपर्दो छैन। 

६ महिनापहिले भएको नेसन्स लिगमा स्टार खेलाडीहरुले भरिएको फ्रान्सले खराब नतिजा ब्यहार्यो। अहिले त्यही टिम लिएर कतार जाँदैछ फ्रान्स। अझ संयोग त नेसन्स लिगमा एउटै समूहमा रहेको डेनमार्क विश्वकपमा पनि फ्रान्ससँगै समूह डीमा छ। 

नेसन्स लिगमा फ्रान्स समूह चरणका ६ मध्ये एक खेलमा मात्रै विजयी भएको थियो। बाँकी २ खेलमा बराबरी भएको फ्रान्स तीन खेलमा पराजित भयो। फ्रान्स डेनमार्कसँग दुवै खेल हारेको थियो। क्रोएसियासँग एक खेल बराबरी र अर्कोमा हार ब्यहोर्यो। अष्ट्रियासँग एक बराबरी गरेको फ्रान्सले एक खेल जित्यो। समूहको तेस्रो हुँदै उसको यात्रा त्यहीँ टुंगियो। 

विश्वकपमा फ्रान्स समूह डीमा छ। सेप्टेम्बर अन्तिममा फ्रान्सलाई २–० ले पराजित गरेको डेनमार्क पनि यही समूहमा परेको छ। पहिलो खेल मंसिर ७ गते मध्यराति अस्ट्रेलियासँग खेल्दै फ्रान्सको कतार विश्वकप यात्रा सुरु हुनेछ। त्यसको २ दिनपछि डेनमार्कसँग खेल्नेछ। 

मंसिर १४ गते साँझ ८ः४५ मा ट्युनिसियासँग खेलेसँगै फ्रान्सको अघिल्लो चरणको यात्रा टुंगो लाग्ने छ। यो समूहमा फ्रान्स र डेनमार्कलाई बलियो टोलीका रुपमा हेरिएको छ। तर यसअघिका साविक विजेता कमजोर मानिएका टोलीसँगै हारेर बाहिरिएका थिए। त्यही नियति दोहोरिने चिन्ता फ्रान्समा देखिन्छ। 

२००६ को विजेता इटालीले सुरु गरेका श्रृंखला स्पेन र जर्मनीले दोहोर्याए 
फाइनलमा फ्रान्सलाई पराजित गर्दै २००६ को विश्वकप इटलीले जितेको थियो। २०१० को विश्वकप साविक विजेताका लागि सुखद रहेन। समूह एफमा रहेको इटाली सोच्दै नसोचेका टोलीसँग पराजित भयो। 

समूह चरणमा एउटा पनि खेल जितेन। त्यतिबेला इटली रहेको समूहमा पाराग्वे, स्लोभाकिया र न्युजिल्यान्ड थिए। समूह चरणका तीन खेलमध्ये २ बराबरी र एक खेलमा हार ब्यहोरेको इटलीको यात्रा त्यहीँ टुंगियो। 

यो समूहबाट पाराग्वे र स्लोभाकियाले अघिल्लो चरणमा यात्रा तय गरे। न्युजिल्यान्ड समूहमा तेस्रो स्थानमा रहँदै घर फर्कियो। २०१० को विश्वकप नेदरल्यान्ड्सलाई पराजित गर्दै स्पेनले जित्यो। 

चार वर्षपछि स्पेनले पनि उही हालत भोग्यो। २०१४ मा स्पेनको पनि विश्वकप यात्रा समूह चरणबाट अगाडि जान सकेन। 

२०१० को फाइनलमा भिडेका स्पेन र नेदरल्यान्ड्स २०१४ मा एउटै समूह बीमा थिए। नेदरल्यान्ड्सले समूहका तीनवटै खेल जित्दै सेमिफाइनलसम्मको यात्रा तय गर्यो। सेमिफाइनलमा अर्जेन्टिनाले उसलाई रोक्यो। तर स्पेन भने समूहमा तीनमध्ये २ खेलमा पराजित हुँदै बाहिरियो। नेदरल्यान्ड्स र चिलीसँग हारेपछि अस्ट्रेलियालाई जिते पनि उसको अघिल्लो चरण सम्भव भएन। यो समूहबाट नेदरल्यान्ड्स र चिली अघिल्लो चरणमा पुगे। अंकविहीन अस्ट्रेलिया स्पेनसँगै घर फर्कियो। 

२०१४ को विश्वकप अर्जेन्टिनालाई पराजित गर्दै जर्मनीले जित्यो। २०१८ को विश्वकपमा आइपुग्दा साविक विजेता जर्मनीको पनि उही हालत भयो, जुन अघिल्ला विश्वकपमा साविक विजेताले भोगेका थिए। २०१८ को विश्वकपमा जर्मनी समूह एफमा थियो। जर्मनी रहेको समूहमा स्वीडेन, मेक्सिको र दक्षिण कोरिया थिए। 

जर्मनी मेक्सिकोसँग १–० ले पराजित भयो। स्वीडेनलाई २–१ ले पराजित गर्यो। तर अन्तिम खेलमा दक्षिण कोरियासँग नाटकीय रुपमा २–० को हार ब्यहोर्दा जर्मनीको यात्रा त्यहीँ टुंगियो। जर्मनीलाई समूहको अन्तिममा पुर्याउँदा स्वीडेन र मेक्सिकोले अन्तिम १६ को यात्रा तय गरे। 

यो विश्वकपमा फ्रान्स भने समूह सीमा थियो। फ्रान्सले समूहमा अपराजित रहँदै अघिल्लो यात्रा तय गरेको थियो। यो समूहबाट त्यतिबेला पनि अपराजित रहँदै डेनमार्कले उपविजेताका रुपमा अघिल्लो यात्रा तय गरेको थियो।

अन्तिम १६ मा अर्जेन्टिनालाई ४–३ गोल अन्तरमा पराजित गर्दै फ्रान्सले क्वार्टर फाइनलको यात्रा तय गर्यो। क्वार्टर फाइनलमा उरुग्वेमाथि जित हात पारेको फ्रान्सले सेमिफाइनलमा बेल्जियममाथि १–० को जित दर्ता गर्यो। फाइनलमा क्रोएसियामाथि ४–२ को जितसहित फ्रान्सले विश्वकप उचालेको थियो। 

प्रमुख मिडफिल्डर छैनन् फ्रान्सको टिममा
अर्को साता सुरु हुने विश्वकपका लागि फ्रान्सले आफ्नो टोली घोषणा गरिसकेको छ। तर यसपटक विश्वकप खेल्ने फ्रान्सको टोलीमा प्रमुख मिडफिल्डर पाउल पोग्बा र एन्गोलो कान्टे छैनन्। चोटका कारण उनीहरुले विश्वकप गुमाउने छन्। 

यो विश्वकपमा फ्रान्सलाई मुख्य चिन्ता भनेकै मिडफिल्डको हो। उसको आक्रमण लाइन विश्वकै उत्कृष्ट स्टारले भरिएको छ। रियल मड्रिडका करिम बेन्जिमा, बायर्न म्युनिखका किङ्स्ली कोमान, बार्सिलोनाका ओस्मान डेम्बेले, एट्लेटिको मड्रिडका आन्त्वाँ ग्रिजमेन र पीएसजीका केलियन एमबाप्पेले फ्रान्सको आक्रमण लाइन सम्हाल्नेछन्। 

गोलरक्षकको जिम्मा ह्युगो लोरिस, अल्फोन्स आरिओला र स्टिभ मान्डान्डाले पाउने छन्। डिफेन्डर पनि उसका भरपर्दा छन्। लुकास हर्नान्डेज, थिओ हर्नान्डेज, प्रेस्नेल किम्पेम्बे, इब्राहिमा कोनाटे, जुल्स कुन्डे, बेन्जामिन पभार्ड, विलियम सालिबा, दायोट उपमेकानो र राफाएल वरानले कतार यात्रा गर्दैछन्। 

मिडफिल्डमा पोग्बा र कान्टे नभएपछि एडुआर्डो कामाभिन्गा, युसुफ फोफाना, माटियो गुएन्डोजी, एड्रिएन राबिओ, ओरेलिएन चुआमेनी र जोर्डन भेरेटुले स्थान पाएका छन्। 

साविक विजेता फ्रान्सको यही टोली हो, जुन नेसन्स लिगमा समूह चरणबाटै बाहिरिएको थियो। बलियो टोली हुँदाहुँदै पनि फ्रान्सलाई चिन्ता नेसन लिगको प्रदर्शन र साविक विजेताको इतिहास हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .