ad ad

खेल


मेस्सी र मोड्रिच : एउटै सपना पछ्याउँदै फाइनल हारेका दुई कप्तान

मेस्सी र मोड्रिच : एउटै सपना पछ्याउँदै फाइनल हारेका दुई कप्तान

नेपालखबर
मंसिर २७, २०७९ मंगलबार २१:५४, काठमाडौँ

फुटबलमा खेलाडीको लागि सबैभन्दा ठूलो व्यक्तिगत पुरस्कार बालेन डे’ओर हो। यो अवार्ड प्रत्येक वर्ष विश्वकै उत्कृष्ट फुटबल खेलाडीले पाउँछन्। अर्जेन्टिनाका लियोनेल मेस्सी र क्रोएसियाका लुका मोड्रिच दुवै खेलाडीले यो पुरस्कार पाइसकेका छन्। यी दुवै कप्तानले विश्वकपको फाइनलमा आफ्नो टोली पराजित भएको अनुभव पनि सँगालिसकेका छन्। यिनै दुई स्टारहरुको टोली मंगलबार मध्यराति विश्वकपको सेमिफाइनलमा भिड्दै छन्।

क्रोएसिया र अर्जेन्टिनाका यी दुई महान फुटबलरलाई फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता जित्ने अन्तिम मौका छ। अबको केही समयमा सुरु हुन गइरहेको सेमिफाइनलबाट यी दुईमध्ये एकको सम्भावना समाप्त हुनेछ भने एक कप्तानको विश्वकप जित्ने सम्भावना कायम रहनेछ। 

मेस्सी ३५ वर्षको भइसकेका छन् भने मोड्रिच ३७ वर्षका भए। त्यसैले अबको विश्वकपमा उनीहरुले सहभागिता जनाउने सम्भावना निकै कम छ। त्यसैले उनीहरु दुवै आफूलाई प्रमाणित गर्न यसपटकको विश्वकपको उपाधि आफ्नो टोलीलाई जिताउने अन्तिम अवसरको सदुपयोग गर्ने लक्ष्यमा छन्। 

अर्जेन्टिना र क्रोएसियाबीचको सेमिफाइनलको विजेताले आइतबार हुने फाइनलमा आफ्नो स्थान पक्का गर्नेछ। 

मेस्सी वा मोड्रिचमध्ये कसको पल्लाभारी? 
यो विश्वकपमा मेस्सी र मोड्रिच दुवैले आफ्नो टोलीको जितमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन्। दुवैले क्वार्टरफाइनलमा भएको पेनाल्टी सुटआउटमा  गोल गरेका थिए। अर्जेन्टिनाले पेनाल्टी सुटआउटमा नेदरल्याण्ड्सलाई हराएको थियो भने क्रोएसियाले ब्राजिललाई पाखा लगाएको थियो। 

मोड्रिच विश्वकपमा तीनपटक पेनाल्टी सुटआउटमा गोल गर्ने खेलाडी बनेका छन्। गत विश्वकपमा मोड्रिचले डेनमार्क र रुसविरुद्धको पेनाल्टी सुटआउटमा गोल गरेका थिए। 

खेल निर्धारित ९० मिनेट वा अतिरिक्त समयमा गए पनि मेस्सी निरन्तर खेलिरहन सक्ने खेलाडी हुन्। यो विश्वकपमा उनले अहिलेसम्म ४ गोल गरिसकेका छन् भने दुई गोलका लागि असिस्ट पनि गरेका छन्। 

मोड्रिचले भने कुनै गोल गरेका छैनन् तर उनी मेस्सीजस्तो फरवार्ड पनि होइनन्। उनले टोलीको मिडफिल्ड सम्हाल्दै आएका छन्, जहाँबाट गोल गर्ने कम अवसर प्राप्त हुन्छ। 

इंग्ल्याण्डका पूर्वफुटबलर तथा फुटबल विश्लेषक मार्टिन केओन भन्छन्, ‘मेस्सीले कहिले पनि निराश बनाउँदैनन्। उनी उच्च फर्ममा छन्। उनको आत्मविश्वासले बाँकी खेलाडीलाई पनि प्रोत्साहित गरिरहेको छ।’ 

अष्ट्रेलियाविरुद्ध मेस्सीको प्रदर्शनपटि इंग्ल्याण्डका डिफेन्डरको रुपमा खेलेका फर्डिनेन्डले भनेका थिए, ‘यो विश्वकपको सबैभन्दा उत्कृष्ट प्रदर्शन हो। यो पक्कै पनि दैवीय प्रदर्शन थियो। मैले यस्तो जादु पहिला देखेको थिइनँ।’ 

अर्जेन्टिनाका पूर्वखेलाडी पाब्लो जाबलेटा भन्छन्, ‘मेस्सीलाई यो उनको अन्तिम विश्वकप हो भन्ने थाहा छ। त्यसैले उनी हरेक पलमा रमाइरहेका देखिन्छन्।’

इंग्ल्याण्डका अर्का पूर्व खेलाडी  मिका रिचर्ड्सको ध्यान भने ब्राजिलविरुद्ध क्रोएसियाको खेलमा मोड्रिचमा थियो। उनले भने, ‘मलाई यो उनको अन्तिम विश्वकप हो भन्ने लाग्छ। जसरी उनले खेललाई नियन्त्रणमा राखिरहेका थिए, त्यो निकै गजबको थियो। ब्राजिलसँग त्यसको कुनै जवाफ थिएन।’ 

क्रोएसियाका प्रशिक्षक ज्लाटको डेलिच भन्छन्, ‘यो उमेरमा पनि उनले उत्कृष्ट प्रदर्शन गरिरहेका छन्। यो पत्याउन गाह्रो छ। यो विश्वकपमा उनले आफूलाई विश्वको उत्कृष्टमध्येको एक खेलाडी भएको साबित गरेका छन्।’ 

विश्वकपमा मेस्सी र मोड्रिच 
पछिल्लो दुई विश्पकपमा मेस्सी र मोड्रिचले फाइनलमा आफ्नो टोली हारेको अनुभव सँगालेका छन्। सन् २०१४ को विश्वकपमा मेस्सीको टोली जर्मनीसँग १–० ले पराजित भएको थियो। त्यसको चार वर्षपछि क्रोएसिया फ्रान्ससँग ४–२ ले पराजित भयो। यी दुवै खेलाडीले विश्वकपमा दिइने उत्कृष्ट खेलाडीको उपाधि पनि जितिसकेका छन्।

मेस्सीको लागि क्रोएसियासँगको खेल विश्वकपको २५ औं खेल हो। यो खेलसँगै उनले जर्मन सुपरस्टार लोथार मेथायसको कीर्तिमान बराबरी गर्नेछन्। फाइनल वा तेस्रो स्थानको लागि हुने खेलमा सहभागी हुँदै उक्त कीर्तिमान आफ्नो नाममा पार्ने अवसर उनलाई छ। 

अहिलेसम्म विश्वकपमा मेस्सीले १० गोल गरेका छन्। विश्वकपमा सबैभन्दा धेरै गोल गर्ने सूचीमा उनीभन्दा अगाडि केवल ६ खेलाडी छन्। जर्मनीका मिरोस्लाभ क्लोज १६ गोलसहित यो सूचीको शीर्षस्थानमा छन्। 

मेस्सीले अहिलेसम्म अर्जेन्टिनाको लागि १७० खेलबाट ९५ गोल गरेका छन्। यी दुवै उनको लागि राष्ट्रिय कीर्तिमान हो। मोड्रिचले पनि आफ्नो मुलुकको लागि १६० खेलबाट २३ अन्तर्राष्ट्रिय गोल गरेका छन्। 

कस्तो छ दुवैको फुटबल करियर? 


यो अर्जेन्टिनासँगको खेलपूर्व नै मोड्रिचले अहिलेसम्म विश्वकपका १७ खेल खेलिसकेका छन्। यो उनको राष्ट्रिय कीर्तिमान नै हो। मेस्सीले एकपटक कोपा अमेरिका जिताएका छन् तर मोड्रिचले भने आफ्नो टोलीलाई कुनै पनि उपाधि दिलाउन सकेका छैनन्। 

सन् २००६ मा मोड्रिचले क्रोएसियाको लागि डेब्यु गरेका थिए। उनको डेब्यु खेल अर्जेन्टिनाविरुद्ध नै थियो। मेस्सीले यो खेलमा आफ्नो पहिलो अन्तर्राष्ट्रिय गोल गरेका थिए। यो खेल क्रोएसियाले ३–२ले जितेको थियो। अहिले मेस्सी १००२ औं खेल खेल्दै छन्। जसमा उनले अहिलेसम्म ७९० गोल गरेका छन्। साथै ३३९ गोलमा असिस्ट पनि गरेका छन्। 

मेस्सीले अहिलेसम्म सातपटक बालोन डे’ओरको उपाधि जितेका छन् भने मोड्रिचले सन् २०१८ मा यो उपाधि जितेका थिए। 

यी दुवै खेलाडी समग्रमा २७ औं पटक आमने सामने हुन लागेका हुन्। यीमध्ये २२ पटक बार्सिलोना र रियल मड्रिडबीचको खेलमा यी दुई खेलाडीको भेट भएको थियो। फुटबलप्रेमीका लागि यी दुई खेलाडी आमनेसामने भएको हेर्ने यो खेल अन्तिम हुन सक्छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .