कतारमा जारी फिफा विश्वकपअन्तर्गत शनिबार भएको खेलमा अर्जेन्टिनाले मेक्सिकोमाथि २–० गोल अन्तरको जित हात पार्यो।
यससँगै मेक्सिको ४४ वर्षपछि विश्वकपको समूहचरणबाटै बाहिरिने संघारमा पुगेको छ। मेक्सिको यसअघि सन् १९७८ को विश्वकपमा समूहचरणबाटै बाहिरिएको थियो।
त्यसयता दुई विश्वकपमा सहभागिता नजनाए पनि सहभागी भएको सबै विश्वकपको कम्तीमा अन्तिम १६ सम्म पुगेको छ। यसपटक भने समूह चरणको दुई खेल सकिँदा मेक्सिको कठिन अवस्थामा पुगेको हो।
समूह सीमा रहेको मेक्सिकोले दुई खेलबाट केवल १ अंक हात पारेको छ। सहूहको शीर्षस्थानमा रहेको पोल्याण्डले समान खेलबाट ४ अंक हात पारेको छ भने दोस्रो स्थानको अर्जेन्टिना र तेस्रो स्थानको साउदी अरेबियाले समान ३/३ अंक हात पारेका छन्।
समूहको अन्तिम खेलमा अर्जेन्टिनाले पोल्याण्डको सामना गर्नेछ भने मेक्सिकोले साउदी अरेबियासँग खेल्नेछ। यस्तोमा मेक्सिकोले साउदी अरेबियासँगको खेल जितेर मात्र पनि पुग्दैन। त्यसको लागि उसले अर्जेन्टिना र पोल्याण्डको खेलको पनि नतिजा कुर्नुपर्ने हुन्छ।
मेक्सिकोले साउदी अरेबियासँग हारेको वा बराबरी खेलेको अवस्थामा उसको माथिल्लो चरणको सम्भावना समाप्त हुनेछ। मेक्सिको आफ्नै बलमा माथिल्लो चरणमा प्रवेश गर्न उसले साउदी अरेबियासँगको खेलमा कम्तीमा ४ गोल अन्तरको जित हात पार्नुपर्ने हुन्छ।
साउदी अरेबियासँग ४ गोलभन्दा कम अन्तरको जित हात पारेको अवस्थामा उसले पोल्याण्डले अर्जेन्टिनालाई हराउने कामना गर्नुपर्ने हुन्छ। त्यसैले पनि मेक्सिकोको माथिल्लो चरणमा पुग्ने सम्भावना निकै कमजोर देखिएको हो।
यो विश्वकपमा मेक्सिकोको प्रदर्शन पनि त्यति राम्रो रहन सकेको छैन। दुई खेलमा मेक्सिकोले गोल गर्न सकेको छैन।
Shares
प्रतिक्रिया