विराटनगरस्थित सहिद रंगशालामा जारी विराट गोल्डकप सातौँ संस्करण पहिलो चरणको अन्तिम खेल जित्दै भारतीय लुका सकर क्लब सेमिफाइनलमा प्रवेश गरेको छ।
आइतबार साँझ भएको प्रतिस्पर्धामा निर्धारित समय गोलरहित बराबरीमा टुंगिएपछि सडनडेथमा संकटा क्लबलाई ८–७ गोलअन्तरले हराउँदै लुका सकर सेमिफाइनलमा प्रवेश गरेको हो।
निर्धारित समय र अतिरिक्त ३० मिनेटको खेल बराबरीमा सकिएपछि भएको पेनाल्टी सुटआउटमा पनि बराबर ५–५ गोल भए। त्यसपछि खेल सडनडेथमा गयो।
पेनाल्टीमा संकटाका जुनियर, कुलदीप कार्की, सुरजसिंह ठकुरी, चन्दन दास र दीपक घिसिङले गोल गरे भने लुका सकरका चाल्स, रफी, कप्तान अर्सद, क्यामदिन र जुनियर पलले गोल गरेका थिए।
सडनडेथमा लुकाका एन्ड्र एफिया, फहिजान र अबुलालाले गोल गर्दा संकटाका अनिष महर्जनले हानेको बल गोलकिपर शानफिरले उत्कृष्ट ढंगले छेक्दै खेल जिताए। सडनडेथमा संकटाका नेल्सन र रोशन पहारीले गोल गरेका थिए।
खेलको म्यान अफ द म्याच घोषित लुका सकरका गोलकिपर महोमद सनफिरले नगद ११ हजार प्राप्त गरेका छन्।
फाइनल प्रवेशमा लागि अब लुका सकरले सशस्त्र प्रहरीको एपीएफ क्लबसँग खेल्नुपर्नेछ। एपीएफ विराट गोल्डकपको साविक विजेता हो।
प्रतियोगिातको पहिलो सेमिफाइनल खेल मंगलबार घरेलु टोली विराटनगर सिटी एफसी र जावलाखेल युथ क्लबबीच हुनेछ।
प्रतिक्रिया