इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि जितेको उत्सव मनाउने क्रममा भागदौड हुँदा ११ जनाको मृत्यु प्रकरणमा रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी) का कम्तीमा चार अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ।
बीबीसी हिन्दीका अनुसार प्रहरीले आरसीबी व्यवस्थापन टोलीका निखिल सोसले, डीएनए कार्यक्रम व्यवस्थापनका सुनील म्याथ्यु र किरण कुमार र आरसीबीका सुमन्तलाई प्रक्राउ गरेको हो।
उनीहरू सहर छाड्न खोज्दै गर्दा विमानस्थलबाट पक्राउ परेका हुन्।
एक प्रहरी अधिकारीले भने, ‘यस घटनामा थप पक्राउ गरिनेछ।’
एफआईआर दर्ता भएपछि र राज्य सरकारले आरसीबी, कर्नाटक क्रिकेट संघ र डीएनए कार्यक्रम व्यवस्थापन कम्पनीविरुद्ध कडा कारबाही गर्ने निर्णय गरेपछि उनीहरूलाई पक्राउ गरिएको हो।
कर्नाटकका मुख्यमन्त्री सिद्धरामय्याले बिहीबार राति तीन संस्थासँग सम्बन्धित अधिकारीहरूलाई पक्राउ गरिने बताएका थिए।
पक्राउ परेका व्यक्तिहरूलाई आरसीबीको सामाजिक सञ्जाल ह्यान्डल र वेबसाइटमा विधानसभादेखि कर्नाटक राज्य क्रिकेट संघ (केएससीए) रंगशालासम्म टोलीको विजय परेड आयोजना गरिने र प्रवेश नि:शुल्क रहेको भनी प्रचा गरेको आरोप लगाइएको छ।
आरसीबीले १८ वर्षपछि पहिलोपटक आईपीएल उपाधि जितेको उपलक्ष्यमा गत बुधबार (जुन ४) विजयोत्सव मनाउने क्रममा भागदौड हुँदा कम्तीमा ११ जनाको मृत्यु भएको थियो।
उक्त घटना अनुसन्धानका क्रममा बेंगलुरु प्रहरीका आयुक्तसहित ८ अधिकारीलाई निलम्बन पनि गरिएको छ।
Shares

प्रतिक्रिया