खेल


यू–१९ एसिया कपः नेपाल ५ विकेटले पराजित

यू–१९ एसिया कपः नेपाल ५ विकेटले पराजित

नेपालखबर
भदौ २०, २०७६ शुक्रबार ८:५३,

वर्षाका कारण ४२ ओभरमा घटाइएको खेलमा नेपालले दिएको १ सय ६० रनको लक्ष्य श्रीलंकाले ३३.४ ओभरमा ५ विकेट गुमाएर भेटायो।

श्रीलंकाका कमिल मिश्राले ५५, अहन वाक्रमासिन्हेंले ३०, निपुन धनन्जयले १८, रविन्दु दी सिल्भाले १५ रन जोडे। नेपालका रासिद खानले २ तथा पवन सर्राफ, कमलसिंह ऐरी र सागर ढकालले १–१ विकेट लिए।

यो पनि: नेपाल हार्नुका ३ कारण

त्यसअघि टस जितेर ब्याटिङमा उत्रेको नेपालले ९ विकेट गुमाएर १ सय ६० जाडेको थियो।

नेपालका लागि ओपनर रितले ५४ रन जोडे। ८६ बल खेलेका उनले ४ चौका प्रहार गरे। यस्तै कप्तान रोहित पौडेलले ४७ रन जोडे। ८० बल खेलेका उनले १ चौका प्रहार गरे।

रित र रोहितको साझेदारी
नेपालले ६.५ ओभरमा २४ रन जोड्दा दुई मुख्य खेलाडीहरु पवन सर्राफ र मोहम्मद आसिफ शेखलाई गुमाएको थियो। पाँचौ ओभरमा पवनलाई ४ रनमै दिल्सान मादुसाकेले कमिल मिश्राको हातबाट क्याच गराए। यस्तै आसिफलाई पनि दिल्सानले नै ७ रनमा खेलिरहँदा बोल्ड पारे।

त्यसपछि नेपाली इनिङ्स रित र रोहितले सम्हाले। नेपालले ९ ओभरमा ४३ रन बनाउँदा वर्षाले खेल रोकियो। पुनः खेल शुरु हुँदा डिएल म्याथडका आधारमा खेल ४२–४२ ओभरको हुने भयो।

तेस्रो विकेटका लागि रित र रोहितले ९१ रनको साझेदारी गर्दै नेपाली इनिङ्स सम्हालेका थिए।

अन्यको फितलो प्रदर्शन
रित र रोहितबाहेक अन्यको प्रदर्शन फितलो रह्यो। हरिबहादुर चौहान १२ रनमा रनआउट भए। भीम सार्की १ रनमै एलबीडब्लुको सिकार भए। कुशल मल्ल र कमलसिंह ऐरीले २–२ रनमात्रै जोड्न सके।

यस्तै रासिद खान २२ बलमा १५ रनमा अविजित रहे। उनले १ छक्का प्रहार गरे। नेपाली इनिङ्समा भएको एकमात्रै छक्का त्यो थियो। सागर ढकाल र सुर्या तामाङले पनि १–१ रन जोडे।

श्रीलंकाका दिल्सान र नाभोड दिनुश्रीले ३–३ तथा रोहन सामाजय सिल्भा र आसहियन डानियलले १–१ विकेट लिए।

यू-१९ मा रित

यस खेलमा अर्धशतक प्रहार गरेका रितले गत असारमा मलेसियामा भएको एसीसी पूर्वी क्षेत्रीय प्रतियोगितामा रितले सिंगापुरविरुद्ध १ सय १५ रनको नटआउट पारी खेलेका थिए। त्यो यू-१९ स्तरमा नेपाली खेलाडीले प्रहार गरेको पाँचौं अन्तर्राष्ट्रिय शतक समेत थियो।

रितले प्रहार गरेको उक्त शतक यू-१९ क्रिकेटमा नेपाली क्रिकेटरले चार वर्षपछि प्रहार गरेको शतक थियो। यसअघि तत्कालिन यू-१९ टिमका कप्तान राजु रिजालले २०७२ असोजमा मलेसियामा भएको आईसीसी यू–१९ विश्वकप छनोटमा युगान्डाविरुद्ध १०१  रनको पारी खेलेका थिए। 

रित नेपालको उमेर समूहका छुट्टा छुट्टै २ टिमबाट शतक प्रहार गर्ने एक्लो खेलाडी समेत हुन्। उनले २०१७ मा नेपालको यू-१६ टिमबाट एसिसी यू-१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगितामा म्यानमारविरुद्ध नटआउट १०६ रनको पारी खेलेका थिए।

 नेपालको यू-१९ टिमबाट शक्ति गौचन, कनिष्क चौगाई, फैजरुल रहमान खान  र राजु रिजालले शतक प्रहार गरेका छन्।  

यू-१९ क्रिकेटमा नेपालका लागि पहिलो शतक शक्ति गौचनको नाममा छ। उनले सन् २००१ मा काठमाडौं भएको खेलमा माल्दिभ्सविरुद्ध १०० रन जोडेका थिए। २००३ मा कनिष्क चौलागाईंले यू-१९ क्रिकेटमा दोस्रो शतक प्रहार गरेका थिए। उनले पाकिस्तानको कराँचीमा भएको खेलमा माल्दिभ्सविरुद्ध नै १ सय २५ रन जोडेका थिए।

 यस्तै २०६७ मा फैजरुल रहमान खानले थाइल्यान्डमा भएको एसीसी यू-१९ एलिट कपमा ओमानविरुद्ध ९९ बलमा १ सय १ रन बनाएका थिए।

श्रीलंकासँग नेपाल

यो खेलसँगै यू-१९ स्तरमा नेपाल र श्रीलंका अहिलेसम्म ५ चोटी आमने सामने भएका छन्। सबै खेल श्रीलंकाले जितेको छ।

२००० मा पहिलो पटक नेपाल यू-१९ विश्वकपमा श्रीलंकासँग भिडेको थियो। त्यसबेला श्रीलंकाले ९ विकेटको जित हात पार्‍यो। 

यस्तै २००८ र २०१२ मा भएको यू-१९ विश्वकपमा नेपाल क्रमश: ६७ रन र ८ विकेटले पराजित भएको थियो। 

यस्तै  नेपाल २०१६ मा यू-१९ एसिया कपमा श्रीलंकासँग भिडेको थियो। त्यसबेला नेपाल जित नजिक पुगेर पनि १ रनले पराजित भयो। 

नेपाली टोली
रोहितकुमार पौडेल, रित गौतम, पवन शर्राफ, मोहम्मद आशिफ शेख, सन्दीप जोरा, भीम सार्की, हरिबहादुर चौहान, कुशल मल्ल, रासिद खान, कमलसिंह ऐरी, सागर ढकाल, खडक बहादुर बोहरा, सूर्य तामाङ, लोकेशबहादुर बम र प्रतिश जिसी।

प्रशिक्षकः विनोद दास, ब्यवस्थापकः राजु खड्का, ब्याटिङ परामर्शदाताः अपूर्व देसाई, फिजियोः बिक्रम न्यौपाने र ट्रेनरः सुवास पात्रो ।

खेल तालिका
भदौ २२: नेपाल भर्सेस बंगलादेश
भदौ २४: नेपाल भर्सेस यूएई

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad