गोरखा कुमाल परिवारको कान्छो छोरा भीमबहादुरलाई पहिलेदेखि नै आर्मी बन्ने रुचि थियो। आफ्नो रुचि पूरा गर्दै २०६१ सालमा उनी सेनामा भर्ती भए। तर, त्यसको एक वर्षपछि जुन घटना भयो त्यसले उनको जिन्दगी नै बदल्यो।
मुलुकमा माओवादी द्वन्द्व उत्कृर्षमा थियो। जनताको जिउ धनको सुरक्षाको जिम्मेवारी लिदैँ सेना ब्यारेकबाट बाहिर निस्केको थियो। बेला-बेला सेना र माओवादी आमने सामने हुन्थे। यति मारिए, उति मारिए भन्ने खबर भीमबहादुरले पनि सुन्दै आएका थिए।
सशस्त्र द्वन्द्वका क्रममा माओवादीले थापेको धरापमा परी भीमले देब्रे खुट्टा गुमाए। तस्बिरः प्रविन कोइराला
सेनामा भर्ती भएको दोस्रो वर्ष मै भीमबहादुर पनि त्यस्तै घटनाको समाचार बने। भोजपुरमा १४ वर्षअघिको त्यो अँध्यारो दिन सम्झदा अहिले पनि उनका आखाँ रसाउँछन्।
‘हामी दिउँसो गस्तीमा थियौं। एक्कासि विद्युतीय धरापमा पर्यौ। म तत्काल बेहोस भएछु। आखाँ खुल्दा अस्पतालमा शरीर पूर्ण क्षतविक्षतको अवस्थामा थिएँ। एउटा खुट्टा नै गुमेको थियो,’ दबिएको स्वरमा उनीले विगत स्मरण गरे।
घाइते उनी मात्रै थिएनन्। गस्तीमा भएका अन्य सहकर्मीहरुको अवस्था पनि उस्तै थियो। जे हुनु भइगयो। चिन्ता मानेर केही हुने अवस्था थिएन। सेनाको जागिर थियो। सेनाको अस्पतालमा ६ महिना बिताएका उनी भन्छन्, ‘म देशको सिपाही, मलाई देशले पाल्छ भनेर चित्त बुझाएँ। परिवारलाई सम्झाएँ।’
पारा पाैडी खेलाडी: भीमबहादुर कुमाल
सद्दे हुँदा गाउँ नजिकैको दरौदी खोला उनको पौडी स्थल थियो। साथीभाईहरुसँग दिनभर नदीमा पौडिएको सम्झना अझै उनले भुलेका छैनन्। गाउँ फर्किंदा अझै पनि दरौदीमा हाम नफाली उनी फर्किदैँनन्।
‘खुट्टा गुमाएपछि पनि मैले सक्छु कि सक्दिनँ होला भनेर खेलेँ। त्यही नदीमा खेलेपछि म पौडी खेल्न सक्ने रहेछु भन्ने आत्मविश्वास बढ्यो,’ उनले पारा पौडीमा लाग्नुको कारण खोले, ‘त्यही आत्मविश्वासले अहिलेसम्म राष्ट्रिय तथा अन्य गरी ७ वटा गेमहरु खेलिसकेँ। सबै प्रथम नै भएको छु।’
विदामा घर गएका बेला एकदिन एकजना साथीले फोनमा भने, ‘जोरपाटीमा आर्मीको पारा स्विमिङ प्रतियोगिता हुँदैछ। त्यसमा भाग लिने हो?।’
दरौदी नदीको स्वीमिङ अनुभव उनले काठमाडौं फर्केको दोस्रो दिन नै प्रतियोगितामा पोखे। त्यसले नतिजा पनि दियो। उनी प्रथम भए। ‘त्यसदिन देखि मैले भाग लिएका प्रतियोगितामा दोस्रो हुनुपरेको छैन्,’ ३६ वर्षे भीम भन्छन्।
अपांगता भएका मान्छेहरुलाई सामान्य मानिसहरुले हेर्ने दृष्टिकोण फरक हुन्छ। तर, खेलकुदमा पछिल्लो ३ वर्षमा पाएको सफलताबाट भने उनले त्यो महसुस गरेका छैनन्। उनी भन्छन् ‘अपांगता भएर कसैबाट फरक व्यवहार ब्यहोर्नुपरेको छैन्। सबैल प्रेम स्नेह राखेकै छन्।’
***
तीन वर्षको हुँदा पोलियोका कारणका सरिता थुलुङको दाहिने खुट्टा नचल्ने भयो। त्यसैबेला देखि उनलाई हिँड्न डुल्न सहारा नभई हुँदैन।
सरिता साहाराबिना हिँड डुल गर्न सक्दिनन्। तस्बिरः प्रविन कोइराला
अपांगता भएका कारण उनलाई परिवार, सामाज, साथीभाईले गर्ने व्यवहारमा भिन्नै हुन्थ्यो। सबै जनाको ओझेलमा बस्नुपथ्र्यो।उनलाई कता कता आफू कमजोर छु भन्ने महसुस हुँदै गयो। ‘हामी चाहिँ केही पनि हैन रहेछ भनेर मलाई एक पटक त डिप्रेशन नै भएको थियो,’ सरिताले सुनाइन्।
खेलकुदमा भने सानैदेखि रुचि भएकाले विस्तारै उनी पारा अन्तर्गतका विभिन्न खेलमा सहभागिता जनाउँदै गइन्। ह्वील चियर्स बास्केटबल, ह्वील चियर्स नृत्य, भारात्तोलन, स्वीमिङ लगायतका खेलहरु उनी खेल्छिन्। उनी पारा पौडीकी राष्ट्रिय च्याम्पियन हुन्। दुईवर्ष यता उनले एकदर्जन बढी प्रतियोगिताको उपाधि जितिसकिन्।
सरिता स्वीमिङसँगै ह्वील चियर बास्केट बल, भारात्तोलनकी पनि खेलाडी हुन्। तस्बिरः प्रविन कोइराला
खेलकुदमा लागेपछि भने हाल राजनीतिक शास्त्रमा स्नातकोत्तर अध्ययन गर्दै गरेकी सरिताको आत्मविश्वास बढ्दै गयो। मेडेल ल्याउँदा हिजो वास्तै नगर्ने मान्छेहरु नै सम्मानित दृष्टिकोणले हेर्न थाले।
‘एउटा खुट्टै नचल्ने भएपछि मलाई जे गर्दा पनि गाह्रो हुन्छ। हातलाई धेरै बल दिनुपर्छ,’ आत्मविश्वासी सरिताले भनिन्, ‘गाह्रोलाई सजिलो आफैले बनाउने हो। घरपरिवारको सपोर्टमा संघर्ष गर्दै यहाँसम्म पुगेकी हुँ।’
उनको दैनिकी सद्दे मानिसभन्दा कम छैन्। बिहानै ४ बजेर उठेर उनी खाना बनाउँछिन्, त्यसलाई प्याक गर्छिन। त्यसपछि स्वीमिङ जान्छिन्। तीन–साढे तीन घण्टा स्वीमिङ सकेर पसल जान्छिन्। प्याक गरेर ल्याएको खाना पसलमै खान्छिन्। अनि पसलमै पढ्छिन्। ‘श्रीमानले पनि सहयोग गर्नुहुन्छ,’ उनले थपिन्।
विश्व च्याम्पियनसिपमा जाँदै
नेपालले पहिलोपटक सहभागिता जनाउँन लागेको विश्व पारा पौडी च्याम्पियनसिपमा उनीहरु सहभागिता जनाउँदैछन्। तस्बिरः प्रविन कोइरालाउनीहरु दुबै जना यतिबेला भदौ २३ गतेबाट लण्डनमा हुने विश्व पारा पौडी च्याम्पियनसिपको तयारीमा छन्।
सोमबार बिहान कालोपुलस्थित बज्र स्वीमिङ तथा स्पोर्टस सेन्टरमा पुग्दा दुवै जना शारीरिक दुर्बलताका बाबजुद अन्य सामान्य मान्छेहरुसँगै अभ्यास गरिरहेका थिए।
विश्व च्याम्पियनसिपमा सहभागिता जनाउने भएपनि सरकारी तथा सम्बन्धित निकायले कुनै वास्ता नगर्दा उनीहरु प्राइभेट पौडी पोखरीमा अभ्यास गरिरहेका हुन्। पौडी पोखरीका सञ्चालक बज्र लामाले उनीहरुलाई दुई महिनादेखि निःशुल्क प्रशिक्षणको व्यवस्था मिलाइदिएका छन्। प्रशिक्षक विजैन श्रेष्ठले उनीहरुलाई प्रशिक्षण दिइरहेका छन्।
भीम पारा पौडीका राष्ट्रिय च्याम्पियन हुन्। तस्बिरः प्रविन कोइराला
विश्व पारा पौडी च्याम्पियनसिपमा नेपालले पहिलोपटक सहभागिता जनाउन लागेको हो। च्याम्पियनसिपमा सहभागिता जनाउने कुराले जति उनीहरु उत्साही छन्, तयारीमा कसैले चासो नदिँदा त्यति दु:खी पनि।
‘अपांगता भए पनि हामी अरु जस्तै नेपालको झण्डा लिएर बाहिर गएका हुन्छौं। नेपालमा पो मेरो नाम फलानो हुन्छ, बाहिर गइसकेपछि हामीलाई नेपाल भनेर चिन्छन्,’ सरिताले गुनासो पोखिन्, ‘ठूला प्रतियोगितामा जाँदा अन्य देशले उनीहरुका खेलाडीलाई दिएको सुविधा देखेर हामी छक्कै पर्छौ। हामीलाई भने कसैले चासो नदिँदा मन चसक्क दुख्छ।’
अपूरो तयारीबीच दुवै जनाले आफ्नो टाइमिङ सुधार गर्ने लक्ष्य राखेका छन्। ५० मिटिर फ्रिस्टाइलमा प्रतिस्पर्धा गर्ने भीमको हालको टाइमिङ ३२.४० सकेन्डको छ। जुन गतवर्ष उनले इन्डोनेसियाको जाकार्तामा भएको एसियन गेम्समा राखेका थिए।
‘यसपाली पहिलेको कीर्तिमान तोडेर २९–३० सकेन्डमा झार्ने लक्ष्य छ,’ भीमले भने, ‘सरकारले राम्रो हेरिदिए, तयारी मिलाइदिए, डाइट मिलाइदिए अझै राम्रो गर्न सकिन्थ्यो। जस्तो लाग्छ।’
यस्तै गत मे मा सिंगापुरमा विश्व पारा पौडी सिरिज सरिताले ५२ सकेन्डको टाइमिङ निकालेकी थिइन्। त्यसअघि रहेको ५८ सेकेन्डको टाइमिङ सुधार्दै उनले ५२ सकेन्डको टाइमिङ बनाएकी हुन्। ‘यसपटक उक्त टाइमिङ सुधार गर्ने लक्ष्यका साथ जाँदैछु,’ उनले टुंग्याइन्।
भिडियाे:

प्रतिक्रिया