कल्याणी रंगशालामा मंगलबार सम्पन्न खेलमा नेपालको जितका लागि किसन अधिकारी यादवले २ तथा सुगम जिमी र प्रदीप लम्सालले १-१ गोल गरे।
किसन अधिकारी यादवले ४७औं मिनेटमा नेपाललाई अग्रता दिलाएका थिए। मैदानको मध्यभागमा वान भर्सेस वानमा पाएको बललाई अघि बढाउँदै यादवले नेपाललाई १-० ले अघि बढाएका थिए।
पहिलो गोलको भिडियो:
यस्तै ५२औं मिनेटमा सुगन जिमीले नेपालको अग्रता दोब्बर पारे। उनले डी बक्सको बाहिरबाट गरेको प्रहार बंगलादेशी गोलकिपरको हातमा लाग्दै पोस्टभित्र गएको थियो।
दोस्रो गोलको भिडियो:
७९औं मिनेटमा नेपाली डिफेन्डरको गल्तीको फाइदा उठाउँदै मियाँले बंगलादेशका लागि एक गोल फर्काएका थिए। डी बक्सभित्र नेपाली डिफेन्डरले क्लियर गर्न खोजेको बलमा उनको खुट्टामा आएको थियो। डी बक्सको मध्यभागमा रहेका मियाँले सजिलै बललाई पोस्टको दिशा दिए।
८४औं मिनेटमा प्रदीपले डी बक्सबाहिरबाट सुन्दर गोल गर्दै नेपाललाई ३-१ ले अघि बढाए। त्यसको चारमिनेट पछि यादवले व्यक्तिगत दोस्रो गोल गर्दै नेपाललाई ४-१ को जित दिलाए। डी बक्सभित्र पाएको पासमा उनले विपक्षी गोलकिपरको माथिबाट बल उठाउँदै गोल गरेका थिए।
प्रतियोगितामा नेपालसहित साविकको विजेता बंगलादेश, भारत, श्रीलंका र भुटान रहेका छन्। राउण्ड रोविन लिगको आधारमा खेलाइएको प्रतियोगितामा शीर्ष दुई टोली उपाधिका लागि भिड्नेछन्।
शीर्ष दुई स्थानमा पुग्नका लागि नेपालले यस खेलमा बंगलादेशविरुद्ध जित्नै पर्ने आवश्यकता थियो। यो जितसँगै नेपालको ३ खेलबाट ६ अंक भएको छ। यसअघि भारतसँग पराजित भएको नेपालले श्रीलंकालाई पराजित गरेको थियो।
अंक तालिकामा भारतको र बंगलादेशको पनि समान ६-६ अंक छ। नेपालले अन्तिम खेलमा बिहिबार भुटानसँग खेल्नेछ।
नेपाली टोलीमा ईश्वर गुरुङ, मनोज दाहाल, जेनिस केसी, प्रज्ञान महर्जन, अभिषेक वाइबा, प्रमिस गुरुङ, अजय चौधरी, जान लिम्बु, रोशन थापा, जन्मजय धामी, निराजन मल्ल, प्रदिप लम्साल, नितेश श्रेष्ठ, असिम राई, विपिन तुमसिङ मगर, अमिर हमिद, मोहित गुरुङ, निराजन खत्री, अनिल चौलागाई, किसन अधिकारी यादव, कृष्ण सापकोटा, सुगन जिमी र शंशाक बोहरा छन्।

प्रतिक्रिया