दुई महिनापछि फिलिपिन्समा हुने एसियन महिला भलिबल च्याम्पियनसिपको तयारीमा रहेको राष्ट्रिय टोलीको व्यवस्थापकबाट निरोज मास्केले राजीनामा दिएकी छिन्।
गत असार १ गतेदेखि टोलीको प्रशिक्षणका लागि व्यवस्थापन खटिएकी मास्केले घरायसी कारण देखाउँदै आज मंगलबारको मितिबाट लागू हुने गरी राजीनामा दिएकी हुन्।
उनले राजीनामा स्वीकृतिका लागि नेपाल भलिबल संघका कार्यवाहक अध्यक्ष याम गुरुङ र महासचिव जितेन्द्र चन्दलाई पत्र बुझाएको बताएकी छिन्।
संघका कार्यवाहक अध्यक्ष गुरुङले आफूले मास्केको राजीनामाबारे जानकारी पाएको र शनिबारका लागि छलफल गर्न बैठक बोलाएको बताएका छन्।
आफू व्यवस्थापकका रुपमा नरहे पनि संघको अन्य काममा भने विगतमा जस्तै सक्रिय रहने बताएकी छिन्।
संघको शुक्रबार बसेको पछिल्लो बैठकमा पनि मास्केले आफू व्यवस्थापकको जिम्मेवारीबाट अलग हुन चाहेको गुरुङले बताए।
अगामी भदौ १३ देखि २० गतेसम्म हुने च्याम्पियनसिपका लागि २७ खेलाडी प्रशिक्षणमा छन्।
शुक्रबार को बैठकले संघका सचिव मनवीर छन्त्यालको संयोजकत्वमा ७ सदस्यीय खेलाडी छनोट समिति पनि गठन गरेको थियो।
च्याम्पियनसिपमा सहभागी हुने १ करोड ३५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।
प्रतिक्रिया