विश्व फुटबलमा नम्बर १ टोलीका रुपमा १ हजारभन्दा बढी दिन रहन सफल बेल्जियमलाई अहिले स्वर्णिम पुस्ताकाे साथ छ।
तर विडम्बना उनीहरुसँग देखाउनका लागि भने कुनै उपाधि हात परेकाे छैन।
युवा प्रतिभा र उनीहरूले एकपछि अर्काे खेलमा पाइरहेकाे विजयलगायतका कारण एउटा स्वाभाविक प्रश्न उठिरहेकाे छ- के जारी युरोकपमा त्यो खडेरी तोडिएला?
बेल्जियमले आइतबार राति साबिक विजेता पोर्चुगललाई अन्तिम १६ मा पराजित गर्दै क्वार्टरफाइनलमा स्थान बनायो।
मुख्य प्रतियोगिता (विश्वकप, युरोकप)मा यो उसको लगातार दोस्रो पटक पाँचौँ जित हो। यसअघि पनि रोबर्टो मार्टिनेजको प्रशिक्षकत्वमा बेल्जियमले लगातार पाँच खेलमा जित हात पारिसकेको छ।
एकसे एक खेलाडी र प्रतिभाको कमी नभए पनि ट्रफी चुम्न नसकेको बेल्जियमले अब सेमिफाइनमा प्रवेशका लागि अर्को दाबेदार टोली इटालीको सामना गर्नेछ।
थोर्गन हर्जाडको शानदार गोलमा पोर्चुगललाई पछ्याएको बेल्जियम स्टार खेलाडी केविन डि ब्राएन र इडन हाजार्डको चोटका कारण भने समस्या पर्ने निश्चित छ।
‘प्रशिक्षकका रुपमा म गर्वान्वित हुन मिल्दैन। हामीले युरोकपको सर्वश्रेष्ठ टोलीसँग ‘जित्ने तरिका सिक्न’का लागि खेल्यौं। पोर्चुगलविरुद्ध हाम्रो कडा परीक्षा त्यसैमा थियो’, प्रशिक्षक मार्टिनेजले खेलपछि भने।
स्वर्णिम पुस्ताले पाएकाे स्वर्णिम अवसर ः अहिले नजिते कहिल्यै जित्दैन !
बेल्जियमको अहिलेको टोलीमा प्रतिभाको कुनै कमी छैन। तर यी खेलाडी धेरै दिनसम्म रहनेछैनन्।
पोर्चुगलविरुद्ध खेलेको उसको सुरुवाती–११ को औसत उमेर ३० वर्ष १ सय ४८ दिन थियो। जुन युरोकपमा सहभागी र बाँकीमध्ये सबैभन्दा पाको टोली पनि हो।
२०१६ को युरोकपमा बेल्जियमलाई वेल्सले क्वार्टरफाइनलभन्दा अघि बढ्न दिएन। २०१८ को विश्वकपको सेमिफाइनल पुगेको बेल्जियम च्याम्पियन फ्रान्ससँग हारेको थियो।
बेल्जियमका फुटबल पत्रकार क्रिस्टोफ टेरियर भन्छन्, ‘हामी १,००० दिनभन्दा बढी समय नम्बर एक टोली छौँ। तर हामीले केही जितेका छैनौँ। हामीले अहिले यहीबेला देखाउनु छ। यस पुस्ताले अहिले गर्न सकेन भने कहिल्यै सक्दैन।’
‘यस पुस्ताले मलाई रुस विश्वकपकै उपाधि जित्छ भन्ने लागेको थियो। प्रयास गर्दागर्दै हामी असफल भयौँ’, उनी थप्छन्, ‘यसबेला हामीसँग त्यो मौका छ। अहिले हामीसँग थिएरी हेनरी जस्ता विजेता छन् जसले रोमेलु लुकाकुलाई विजेता बन्न प्रेरित गरिरहेका छन्।’
इंग्ल्याण्डका पूर्वविंगर क्रिस विडेल बेल्जिमयलाई अहिलेजस्तो उपाधि जित्ने मौका फेरि नआउने बताउँछन्।
‘कागजमा बेल्जियमको टोलीलाई निकै बलियो छ। उसले प्रतियोगिता जित्दैन भने उसको भित्र केही समस्या छ भनेर बुझ्नुपर्छ’, उनी भन्छन्, ‘सबै क्षेत्रमा उनीहरु निपूर्ण छन। कुनै पनि देश बेल्जियम आफ्नो प्रतिस्पर्धी नपरोस् भन्ने चाहन्छ। बेल्जियमले अहिलेजस्तो उपाधि उचाल्ने मौका अरु पाउनेछैन।’
चोटको चिन्ता
इटालीविरुद्ध क्वार्टरफाइनलमा उत्रिनुअघि डी ब्राएनको फिटनेस नै बेल्जियमका लागि सबैभन्दा ठूलो चिन्ताको विषय बनेको छ। त्यसमाथि रियल म्याड्रिडबाट खेल्ने इडन हाजार्डलाई पनि चोट लागे पनि प्रशिक्षक मार्टिनेज चिन्तित बनेका छन्।
‘डी ब्राएनमाथि निकै नै खराब ट्याकल भएको थियो। जुन हामीले पनि देख्यौँ’, मार्टिनेज भन्छन्, ‘हाजार्डको पनि मांसपेसीमा समस्या देखिएको छ। हामीसँग यसलाई स्वीकार्दै अघि बढ्नुको विकल्प पनि छैन।’
इंग्ल्याण्डका पूर्वविंगर क्रिस विडेल थप्छन्, ‘यदि उनीहरुले डी ब्राएन र हाजार्डलाई गुमाउँछन् भने त्यो ठूलो झट्का हुनेछ। डी ब्राएन र हाजार्ड दुवै उत्कृष्ट खेलाडी हुन्। बेल्जियमबासी उनीहरु मैदान फर्किने कामना गरिरहेका होलान्।’
Shares

प्रतिक्रिया