यातायात व्यवसायी महासंघका अध्यक्ष योगेन्द्र कर्मचार्यले भने सार्वजनिक यातायातमा जोर विजोर लागु गरी सरकारले कोरोना बढाउने काम गरेको आरोप लगाए।
उनले सरकारलाई सबै सार्वजनिक यातायात खोल्न सुझाव दिए पनि सरकारले आफूहरुको कुरा नसुनेको बताएका छन्।
‘२५ सिटभन्दा माथिका बस सञ्चालन गर्न दिनुको अर्थ छैन,’ कर्मचार्यले नेपालखबरसँग भने ‘थोरै गाडी सञ्चालन गर्दा भीड झन् बढ्छ।’
उनले सरकारको नयाँ आदेश आएपछिको सन्दर्भ अब आफूहरुले तीनवटै मजदुर युनियनसँग छलफल गर्न लागेको बताए।
‘अहिले सबै यातायात ट्रेड युनियनसँग छलफल गर्दैछौं,’ उनले भने ‘म जोर विजोरका आधारमा भोलिबाट सार्वजनिक यातायात सञ्चालन गर्न नहुने पक्षमा छु।’
थेरै मात्र बस सञ्चालन गर्दा कोभिडको जोखिम झन् बढ्ने बताउँदै उनले सरकारलाई सबै यातायात सञ्चालन गर्न दबाब दिने बताए।
‘भोलि कोरोना बढ्दै गयो भने सार्वजनिक यातायात सञ्चालन गरेर कोरोना बढ्यो भनेर हामीलाई दोष दिनेछन्। त्यसैले जोर विजोरबिनै बस, माइक्रो बस, टेम्पो सबै सञ्चाल गर्न दिनुपर्छ,’ कर्मचार्यले भने।
काठमाडौं उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरुको सोमबार बसेको बैठकले उपत्यकामा २५ सिटभन्दा बढी क्षमताका सार्वजनिक यात्रुवाहक सवारीसाधन जोरविजोर प्रणालीमा सञ्चालन गर्ने निर्णय गरेपछि उनले सो प्रतिक्रिया दिएका हुन्।
२५ सिट क्षमतामाथिका बस सञ्चालन गर्दा सिट क्षमताभन्दा बढी संख्यामा यात्रु नराख्ने गरी सञ्चालन गर्न पाइने भएको छ।
सार्वजनिक सवारीसाधन बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म मात्रै सञ्चालन गर्न पाइने छ। आदेशअनुसार माइक्रो बस भने चल्न नपाउने भएका छन्।
सार्वजनिक यात्रुवाहक सवारीसाधन सञ्चालन गर्दा स्वास्थ्य मापदण्डको पूर्ण परिपालन गर्दै भौतिक दूरी कायम हुने गरी सञ्चालन गर्न सक्ने भएका हुन्।
यो पनिः
बेलुकी ७ बजेसम्म बसहरु पूर्ण क्षमतामा चल्ने, माइक्रो चल्न नपाउने

प्रतिक्रिया