खेल


बेल्जियमविरुद्ध पोर्चुगलः दुई उत्कृष्ट टोली, दुई अब्बल खेलाडी

बेल्जियमविरुद्ध पोर्चुगलः दुई उत्कृष्ट टोली, दुई अब्बल खेलाडी

नेपालखबर
असार १३, २०७८ आइतबार १०:४१,

फुटबलमा विश्व नम्बर १ टोली हो बेल्जियम। यता पोर्चुगल युराेकपको साबिक विजेता।

यी दुई उत्कृष्ट टोली आज राति पौने १ बजे स्पेनमा आमनेसामने हुँदै छन्। 

एकअर्काविरूद्ध २ टाेली उत्रिँदै गर्दा सबैको नजर भने उत्कृष्ट खेलाडीद्वय पोर्चुगलका क्रिस्टियानो रोनाल्डो र बेल्जियमका राेमेलु लुकाकुमा हुनेछ।

दुवैले समूह चरणमा रोनाल्डोले ५ तथा लुकाकुले ३ गोल गरेका छन।

रोनाल्डो जारी प्रतियोगितामा अहिलेसम्मकै सर्वाधिक गोलकर्ता पनि हुन्। आज राति उनलाई अन्तर्राष्ट्रिय फुटबलको सर्वाधिक गोलकर्ता बन्ने अवसर पनि छ।

समूह चरणको अन्तिम खेलमा फ्रान्समाथि पोर्चुगलले २–२ को बराबरी खेल्दा दुवै गोल राेनाल्डाेले गरेका थिए। त्याेसँगै इरानका अली दाईको नाममा रहेको सर्वाधिक १०९ अन्तर्राष्ट्रिय गोलको कीर्तिमानमा उनले बराबरी गर्न पनि सफल रहे। 

फिफा वरीयतामा लगातार शीर्षस्थानमा रहँदै आए पनि बेल्जियमले अहिलेसम्म कुनै मुख्य प्रतियोगिता जित्नसकेको छैन।

यसपटकको उसको कथा भने केही आशलाग्दो छ। इटाली र नेदरल्याण्ड्सपछि प्रतियोगिताको एक अर्को अपराजित टोली पनि हाे बेल्जियम। उसले समूह चरणमा तीनवटै खेल जित्दै अन्तिम १६ मा पोर्चुगलसँगको भेट पक्का गरेको हाे।

belgiumtoli2021a

बेल्जियमले रसियामाथि पुनरागमन गर्दै दोस्रो खेलमा डेनमार्कलाई पाखा लगाएको थियो। यस्तै अन्तिम खेलमा उसले फिनल्याण्डमाथि सहज जित हात पार्दै अन्तिम १६ मा स्थान बनाएको हो।

यता ग्रुप अफ डेप्थ मानिएको समूह एफको तेस्रो स्थानमा रहेर पनि अन्तिम १६ मा पुगेको हो। जर्मनीसँग ४–२ ले पराजित भए पनि हंगेरीलाई ३–० र विश्वविजेता फ्रान्सलाई २–२ को बराबरीमा रोक्दै पोर्चुगलले बेल्जियमसँगको भेट पक्का गरेको हो।

२०१८ को विश्वकप सकिएपछि लुकाकुले २१ अन्तर्राष्ट्रिय खेलमा २३ गोल गरेका छन्। उनले चार खेलमा सहायकको भूमिका समेत निभाएका छन।

इन्टर मिलानका फरवार्ड समेत रहेका लुकाकुले समूह चरणमा रसियासँग दुईसहित तीन गोल गरेका छन।

३६ वर्षीय रोनाल्डो भने मुख्य प्रतियोगिता (विश्वकप, युराेकप) मा सबैभन्दा बढी गोल गर्ने युराेपका खेलाडी हुन्। फ्रान्सविरुद्ध दुई गोल गर्दै उनले मुख्य प्रतियोगितामा आफ्नो गोल संख्या २१ गोल पुर्याएका थिए।

‘यस उमेरमा पनि उनी चम्किरहेका छन्। म त्यसलाई हासिल गर्ने प्रयास गर्नेछु। उनको उपलब्धिका जति सकिन्छ नजिक जाने प्रयास गर्नेछु’, २८ वर्षीय लुकाकु आफ्ना प्रतिद्वन्द्वी रोनाल्डोबारे भन्छन्।

यस्ताे छ २ टाेलीकाे हालसम्मकाे भीडन्त
पोर्चुगल र बेल्जियमबीच हालसम्म १८ खेलमा भेट भएको छ। यी भेटमा पोर्चुगलले ६ खेलमा जित निकालेको छ। ५ खेल भने बेल्जियमले आफ्नो पक्षमा पारेको छ। ७ खेल बराबरीमा टुंगिएको छ।

युरोकपमा मात्रै यी दुई टोलीबीच ६ पटक भेट भएको छ। यी ६ भेटमा पोर्चुगलले २ खेलमा जित निकालेको छ भने २ खेल गुमाएको छ। दुई खेलमा बराबरी नतिजा आएको छ।

दुई टोलीबीच पछिल्लो पटक सन् २०१८ मा भएको मैत्रीपूर्ण खेलमा भेट भएको थियो। त्यो खेल गोलरहित बराबरीमा सकिएको थियो।

रोबर्टो मार्टिनेजको प्रशिक्षकत्वमा बेल्जियमले पछिल्ला ५८ मध्ये दुई खेलमा मात्रै हार व्यहोरेको छ। जारी युराेकपमा उत्कृृष्ट लयमा रहेका केभिन डि ब्राएनले १३४ मिनेटमात्रै खेले पनि बेल्जियमका ३ गोलमा संग्लन छन्। १ गोल गरेका उनले २ गोलमा सहयाेग गरेका छन्।

portugaltoli2021b

२०१६ मा उपाधि उचाल्दा पोर्चुगलले ५ गोलमात्रै खाएको थियो। जारी प्रतियोगितामा अहिलेसम्म पोर्चुगलले तीन खेलमा ६ गोल व्यहोरिसकेको छ।

२०१६ मा तेस्रो स्थानमा रहँदै अन्तिम १६ मा पुगेको पोर्चुगलले उपाधि जितेको थियो। यस संस्करणमा उसको अहिलेसम्मको प्रदर्शन पनि उस्तै छ। तर बेल्जियमलाई रोक्दै अघि बढ्नु उसका लागि फलामको चिउरा चपाउनुजस्तै हुनेछ।

आजको खेलको विजेताले क्वार्टरफाइनलमा आगामी शुक्रबार इटालीसँग खेल्नेछ। इटालीले भने राउण्ड अफ १६ को दोस्रो खेलमा अष्ट्रियालाई २–१ गोल अन्तरले हराउँदै अन्तिम ८ मा स्थान बनाएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .