ad ad

खेल


खेलकुद बजेट : क्रिकेट र फुटबल प्राथमिकतामा, राष्ट्रिय खेललाई बेवास्ता

खेलकुद बजेट : क्रिकेट र फुटबल प्राथमिकतामा, राष्ट्रिय खेललाई बेवास्ता

लक्ष्मी जि.सी
जेठ १७, २०७८ सोमबार ६:१५,

सरकारले आगामी आर्थिक वर्षका लागि युवा तथा खेलकुद मन्त्रालयलाई २ अर्ब ७४ करोडको बजेट विनियोजन गरेको छ।

संसद् विघटन भएका कारण अर्थमन्त्री विष्णु पौडेलले यसपटक अध्यादेशमार्फत ल्याएको २०७८-०७९ को बजेटमा युवा तथा खेलकुदतर्फ २ अर्ब ७४ करोड बजेट विनियोजन गरिएको हो।

यो रकम गत वर्षभन्दा ३८ करोडले बढी हो। सरकारले गत वर्ष चालू आव २०७७-०७८ का लागि युवा तथा खेलकुदतर्फ २ अर्ब ३६ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो।

कोरोना भाइरसको महामारीको कारण वक्तव्य लिन जान नपाएकाले अहिले नै युवा र खेलकुदका लागि कति बजेट विनियोजन भएको छ भन्ने एकीन नभएको युवा तथा खेलकुद मन्त्रालयका सहसचिव तथा प्रवक्ता मधु सुदन बुर्लाकोटीले बताए।

उनले भने, ‘यसअघि १ अर्ब ९३ करोडको सिलिङ आएको थियो। हामीले ३ अर्बभन्दा बढी रकम माग गरेका थियौँ तर सिलिङभन्दा बढी रकम आएको छ।’

गत वर्ष नै सम्पन्न हुनुपर्ने नवौँ राष्टिय खेलकुद आगामी वर्ष सञ्चालन गर्ने सरकारले योजना बनाएको छ।

कोरोना भाइरसको महामारी र पूर्वाधारका कारण पटक–पटक स्थगित हुँदै आएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी वर्ष पोखरामा गरिनेछ।

निर्माणाधीन रंगशाला आगामी वर्ष सम्पन्न गरिने बजेट भाषणमा उल्लेख छ। पोखरा रगंशालाको ९० प्रतिशत काम सम्पन्न भइसकेको छ।

१६८ स्थानीय तहमा खेलग्राम
सरकारले १ सय ६८ स्थानीय तहमा खेलग्राम निर्माण गर्न आवश्यक रकम छुट्याएको छ। यसअघिको बजेट भाषणमा १ सय ६० स्थानमा खेलग्राम निर्माण गरिने उल्लेख थियो।

सरकारले खेल पर्यटनको विकासका लागि आवश्यक पूर्वाधार तथा सम्भाव्यता अध्ययनका लागि पनि आवश्यक बजेट विनियोजन गरेको छ ।

अन्तर्राष्ट्रियस्तरको प्रतियोगितामा नेपालको सहभागिता बढाउने बजेटमा उल्लेख गरिएको छ।

सोलुखुम्बु, सिन्धुपाल्चोक, मनाङ, मुस्ताङ र जुम्लामा उच्च पर्वतीय तालिम केन्द्र बनाउन आवश्यक बजेट छुट्याइएको छ। यो गत वर्षकै कार्यक्रमको निरन्तरता हो।

नेपाललाई खेल पर्यटनको उत्कृष्ट गन्तव्यको रुपमा विकास गर्न अन्तर्राष्ट्रियस्तरको खेल विद्यालयको सम्भाव्यता अध्ययन गरिने बजेट भाषणमा उल्लेख छ।

खेलजीवनबाट निवृत्त खेलाडीलाई व्यवसाय कर्जा
यस्तै सक्रिय खेलजीवनबाट निवृत्त खेलाडीलाई व्यवसाय सञ्चालन गर्न सहुलियत दरको कर्जा उपलब्ध गराइनेछ।

यो निर्णयबाट भने आफूहरु उत्साहित भएको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) का अध्यक्ष दिपक श्रेष्ठ बताउँछन्।

उनले भने, ‘लामो समयदेखि खेलाडीले उठाइरहेको सामाजिक सुरक्षाको माग केही हदसम्म अप्रत्यक्ष सम्बोधन हो कि भन्ने भान भएको छ। खेल जीवनपछि व्यवसायका लागि सहुलियत ऋण दिने निर्णय खेलाडीका लागि खुसीको विषय हो तर यसको प्रभावकारी कार्यान्वयन भयो भने खेलाडीको मनोबल बढाउने काम त्यतिबेला हुनेछ, जतिबेला वास्तविक पूर्वखेलाडीले लाभ लिन सक्छन्।’

क्रिकेट र फुटबल प्राथमिकतामा
सरकारले प्रस्तुत गरेको बजेट भाषणमा समूहगत खेलका रुपमा फुटबल र क्रिकेट प्राथमिकतामा परेका छन्।

झापाको दमकमा अन्तर्राष्ट्रियस्तरको मदन भण्डारी अन्तर्राष्ट्रिय रंगशाला २ वर्षभित्र सञ्चालनमा ल्याउने गरी निर्माण प्रारभ गरिने बजेट भाषणमा उल्लेख छ।

यस्तै धनगढी, वीरेन्द्रनगर, नेपालगञ्ज, वीरगञ्ज, जनकपुरधाम र इटहरीमा प्रादेशिक रंगशाला निर्माण कार्य अगाडि बढाउने बजेट भाषणमा उल्लेख छ। नेपालगञ्जमा यसअघि नै रंगशाला निर्माण भइसकेको छ।

यस वर्षको बजेटमा क्रिकेट पनि प्राथमिकतामा परेको छ।

बाँकेको नेपालगञ्ज, रुपन्देहीको भैरहवा, मोरङको वैजनाथ, काठमाडौंको मूलपानी, कञ्चनपुरको महेन्द्रनगर र दाङको लमहीमा क्रिकेट स्टेडियम बनाउन आवश्यक रकम विनियोजन गरिएको अर्थमन्त्री पौडेलले बताए। मूलपानीमा निर्माणाधीन स्टेडियम समयमै सम्पन्न हुनेमा आशंका छ।

राष्ट्रिय खेललाई बेवास्ता
सरकारले आगामी आर्थिक वर्षका लागि छुट्याएको बजेटमा राष्ट्रिय खेल भलिबल भने यो वर्ष पनि प्राथमिकतामा पर्न सकेन।

४ वर्षअघि राष्ट्रिय घोषणा भएको भलिबलको अहिलेसम्म आफ्नै पूर्वाधार छैन। नेपाल भलिबल संघले पूर्वाधार निर्माणका लागि सम्बन्धित निकायसँग पटक–पटक आग्रह गरे पनि सरकारको प्राथमिकतामा भलिबल पर्नसकेको छैन।

संघका अध्यक्ष मनोरञ्जन रमण शर्माले भने, ‘बजेटमा भलिबललाई नै तोकेर बजेट विनियोजन भएको छैन तर राष्ट्रिय खेलकद परिषद्मार्फत केही बजेट पाउँदै आएका छौँ।’

गत वर्षको तुलनामा यो वर्ष केही बजेट बढेको बताउँदै उनले भलिबलको भागमा कति पर्छ पर्खिरहेको उल्लेख गरे।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .