ad ad

खेल


इराकविरुद्ध २ दशकपछि भिड्दै नेपाल, कस्तो रहला युवाटोलीको प्रदर्शन?

इराकविरुद्ध २ दशकपछि भिड्दै नेपाल, कस्तो रहला युवाटोलीको प्रदर्शन?

लक्ष्मी जि.सी
जेठ १४, २०७८ शुक्रबार १५:२२,

नेपाली राष्ट्रिय फुटबल टोली यतिबेला मैत्रीपूर्ण खेलका लागि इराकमा छ। बुधबार त्यहाँ पुगेको नेपाली टोली र इराक दुवै विश्वकप छनोटको अगाडि आमनेसामने हुँदै छन्।

बस्रा पुगेर दुई दिन प्रशिक्षण समेत गरेको टोली र घरेलु टोलीविरुद्ध अल्फायहा रंगशालामा शनिबार नेपाली समयअनुसार राति सवा १० बजे खेल सुरु हुनेछ।

अष्ट्रेलिया, जोर्डन, चाइनिज ताइपेविरुद्धको विश्वकप छनोटअघि हुने यो मैत्रीपूर्ण खेलले नेपाली टोली तयारीबारेको अनुमान गर्न सकिन्छ। कुवेती प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको प्रशिक्षणमा टोलीले खेल्ने यो पहिलो खेल हो।

nep vs iraq tayari1

जेठको १ गते सम्पन्न भएको नेपाल सुपर लिग (एनएसएल)को प्रदर्शनका आधारमा खेलाडी छनोट गरेका अलमुताइरीले दीर्घकालीन योजनाका साथ ६ नयाँ खेलाडीलाई पहिलोपटक टोलीमा समेटेका छन्।

इराकसँगको खेलअघि अलमुताइरीले आफूलाई नतिजाभन्दा पनि प्रदर्शन महत्वपूर्ण हुने बताएका छन्। युवा टोलीले यो खेलबाट अनुभव बटुल्ने आशा छ।

‘त्यसैले नतिजाभन्दा प्रदर्शनको अर्थ हुनेछ’, उनले भनेका छन्, ‘यो खेलाडीले आफ्नो मूल्यांकन गर्ने र भविष्यका लागि सुधार गर्ने मौका पाउनेछन्।’

nep vs iraq tayari2

नेपाल र इराकबीच दुई दशकपछि कुनै खेल हुँदै छ। सन् २००१ मा इराकमै विश्वकप छनोटका दुई खेलपछि यी दुई टोलीबीच शनिबार नै पहिलो भेट हुनलागेको हो।

पहिलो भेट भने झण्डै चार दशकअघि सन् १९८२ मा एसियाली खेलकुदमा भएको थियो। तीनै खेलमा नेपालले इराकसँग पराज भोगेको थियो।

एसियाली खेलकुदमा नेपाल ३–० ले पराजित भएको थियो। सन् २००१ को विश्वकप छनोटको पहिलो भेटमा इराकले नेपाललाई ९–१ ले हराएको थियो। नेपाली टोलीका लागि एक मात्र गोल निराजन रायमाझीले गरेका थिए।

nep vs iraq tayari4

त्यही महिना अर्को छनोट खेलमा हरि खड्का र निराजन रायमाझीले गोल गरेपछि नेपाल ४–२ ले पराजित भएको थियो।

पूर्वकप्तान समेत रहेका खड्का इराकविरुद्ध मैत्रीपूर्ण खेल खेल्न पाउनुलाई महत्वपूर्ण अवसर मान्छन्।

‘एसियाको पावर हाउसमध्येको एक इराकसँग खेल्न पाउनु हाम्रो टोलीका लागि ठूलो अवसर हो। त्यस्तो टोलीसँग खेल्दा कमजोरी थाहा हुन्छ’, उनले भने, ‘विश्वकप छनोटअघि यो खेलले टोलीको मनोबल बढाउन पनि मद्दत गर्न सक्छ।’

टोलीको नयाँ संरचना कस्तो बनेको र प्रदर्शन कुन स्तरमा हुनसक्छ भन्ने अनुमान इराकविरुद्धको खेलबाट गर्न सकिने खड्का बताउँछन्।

पछिल्लो दुई दशकमा इराकले एसिया कप जितिसकेको छ। नेपाली टोली भने दक्षिण एसियाको सबैभन्दा प्रतिष्ठित साफ च्याम्पियनसिपको फाइनल पनि पुग्नसकेको छैन। २० वर्षअघि विश्वकप छनोट खेलिसकेका यी दुई टोलीको भेटले पुराना दिनलाई पनि स्मरण गराउनेछ।

nep vs iraq tayari5

‘यो बीचमा इराकले धेरै प्रगति गरेको छ’, खड्का भन्छन्, ‘हाम्रो पनि स्तर पहिलेभन्दा घटेको छ भन्न मिल्दैन। इराकले फुटबलमा धेरै लगानी गरेको छ।’

फिफा वरीयतामा पनि नेपालभन्दा इराक १०३ स्थान माथि छ। नेपाल वरीयताको १ सय ७१औँ र इराक ६८औँ स्थानमा छ।

विश्वकप छनोटअघि इराकसँगको मैत्रीपूर्ण खेललाई आफूहरुले ठूलो मौकाका रुपमा लिएको राष्ट्रिय टोलीका कप्तान किरण चेम्जोङले बताए।

उनले भने, ‘इराकसँगको खेलले विश्वकप छनोटको प्रदर्शनमा प्रभाव पार्नसक्छ।’

३ अंकका साथ नेपाल समूहको अंकतालिकाको चौथो स्थानमा छ। नेपालले ५ खेलमा १ खेलमा जित र ४ खेलमा हार व्यहोरेको थियो।

अंकतालिको पुछारमा रहेको चाइनिज ताइपेइले अंक जोड्नसकेको छैन। अस्ट्रेलिया १२ अंकका साथ शीर्षस्थानमा छ भने कुवेत र जोर्डनको समान १० अंक छ।

अंकतालिकाको चौथो स्थानमा रहँदै छनोट चरण सकेको खण्डमा नेपालले एसियन कप छनोटको तेस्रो राउन्डमा सोझै स्थान बनाउने भएकाले पनि छनोट अवसर रहनेछ।

nep vs iraq tayari6

यस्तो छ नेपाली राष्ट्रिय टोली-
गोलरक्षक : किरण चेम्जोङ, दीप कार्की, विशाल सुनार
डिफेन्डर : अनन्त तामाङ, दीनेश राजवंशी, गौतम श्रेष्ठ, रोहित चन्द, सुमन अर्याल, विकास खवास
मिडफिल्डर : एरिक विष्ट, विशाल राई, मनिष डाँगी, कमल थापा, सन्तोष तामाङ, सुनिल बल, सुरज जिउ ठकुरी, पुजन उपरकोटी, आयुष घलान
फरवार्ड : अभिषेक रिजाल, अन्जन विष्ट, नवयुग श्रेष्ठ, आशिष लामा, सुमन लामा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .