ललितपुर लगनखेलस्थित नेपाल आर्मीको कभर्ड हलमा भएको खेलमा किर्गिस्तानसँग नेपाल २५-२३, २५–२२ र २५–२२ को सोझो सेटमा पराजित भयो।
दर्शकहरुले भरिपूर्ण मैदानमा घरेलु दर्शकको राम्रो साथ पाएपनि ब्लक र रिसिभमा पटक पटक बिगार्दा नेपाल पराजित हुन पुग्यो।
नेपाल र किर्गिस्तान लगातार एकपछि अर्को गर्दै अघि बढे। त्यसक्रममा २,३,६ र ८ अंकमा दुबै टोलीको बराबरी भएको थियो।
एक समय नेपालले ९-८ को अग्रता लिएको थियो। त्यसको दुई अंकपछि नै पुन: किर्गिस्तानले भेट्टायो। १७-१६ मा कर्गिस्तानका खेलाडीले प्रहार गरेको सट नेटमा लागेपछि पुन: अग्रता लिएको थियो।
त्यसको तीन अंकसम्म दुबै टोलीको प्रतिस्पर्धा भएपनि २०-२१ अंकबाट पछि परेको नेपालले पहिलो सेट २३-२५ ले गुमायो।
दोस्रो सेटमा भने अग्रता नेपालले लिएपनि लगत्तै किर्गिस्तानले बराबरी गरेको थियो। त्यसपछि लगातार पछि परेको नेपालले अंक १९-२० मा पुर्याउदा दर्शकहरु उत्साहित बनेका थिए। दर्शकहरुको हुटिङले हल गुञ्जमान बन्दै गर्दा लगत्तै नेपालले सर्भिस बिगार्यो। जसबाट फाइदा उठाउँदै दोस्रो सेट समेत किर्गिस्तानले २२-२५ ले जित्यो।
तेस्रो सेटमा सुरुवातदेखि पछि परेको नेपालले एक समय ५-५ को बराबरी गरेपनि त्यसपछि भने कुनैबेला भेट्टाउन सकेन। नेपाल १७-२२ को स्थितिमा प्रशिक्षक हान अबिङले एकैपटक ३ खेलाडी परिवर्तन गरेका थिए।
त्यसले पनि खेलमा केही फरक परेन। अन्त्यमा नेपाल २२-२५ ले पराजित हुँदै खेल किर्गिस्तानलाई सुम्पियो।
किर्गिस्तान यस प्रतियोगिताको एक पटकको विजेता हो भने एकपटकको उपविजेता हो।
मध्य एसियाका देशहरुले सहभागिता जनाउने एभीसी सेन्ट्रल जोन भलिबल नेपालले आयोजना गरेकाे हालसम्मकै सबैभन्दा ठूलो भलिबल प्रतियोगिता हो।
नेपालले अब बुधबार माल्दिभ्सको सामना गर्नेछ। समूह ‘ए’ मा नेपालसँगै माल्दिभ्स र किर्गिस्तान छन्।

यस्तै समूह ‘बी’ मा साविकको विजेता तुर्कमेनिस्तान, बंगलादेश, उज्बेकिस्तान र अफगानिस्तान रहेका छन्। प्रतियोगिता भदौ ७ गतेसम्म संचालन हुनेछ।
नेपालले तीनवर्ष अघि माल्दिभ्समा भएको यही च्याम्पियनसिपमा काँस्य पदक जितेको थियो। नेपालले हालसम्म अन्तर्राष्ट्रिय भलिबलमा प्राप्त गरेको त्यो एकमात्र पदक हो।
प्रतियोगिताका लागि नेपालले नेदरल्याण्डका प्रशिक्षक हान एबिङलाई असार पहिलो साता झिकाएर तयारी थालेको हो।
इमबहादुर रानाको कप्तानीमा रहेको नेपाली टोलीमा हरिहजुर थापा, नरेन्द्र गिरी, विशाल विक, राजकुमार निरौला, हरि अधिकारी, दुर्गा खड्का, दीपकराज जोशी, धनबहादुर भट्ट क्षेत्री, राजेन्द्र विष्ट, कुलबहादुर थापा, टेकराज अवस्थी, विनोदबहादुर चन्द र ईश्वर थापा मगर छन्।

प्रतिक्रिया