इंग्लिस प्रिमियर लिगमा टोटनहम हट्सपरका फरवार्ड ह्यारी केनले दोहोरो व्यक्तिगत उपाधि जितेका छन्।
केनले प्रिमियर लिगमा सर्वाधिक गोलकर्ता र सर्वाधिक असिस्ट प्रदान गर्दै उत्कृष्ट प्लेमेकरको उपाधि जितेका हुन्।
आइतबार राति भएको लिगको अन्तिम खेलमा लेस्टरलाई ४–२ ले पराजित गर्दा केनले १ गोल र अर्को १ गोलका लागि सहयोग गरेका थिए।
केनले जारी सिजन २३ गोल गर्दै सर्वाधिक गोलकर्ताको उपाधि आफ्नो पोल्टामा पारेका हुन्। सर्वाधिक गोलकर्ताको सूचीमा उनलाई लिभरपुलका मोहमद सलाहले पछ्याएका थिए।
सलाहले २२ गोल गरे। म्यानचेस्टर युनाइटेडका ब्रुनो फर्नान्डेज १८ गोल गर्दै तेस्रो स्थानमा रहे।
सर्वाधिक गोलकर्तासँगै केनले सर्वाधिक असिस्ट गर्दै उत्कृष्ट प्लेमेकरको उपाधि पनि जिते। उनले सिजनभर १४ असिस्ट गरेका थिए। ब्रुनो फर्नान्डेस र केभिन डे ब्रुएनले १२ गोलमा असिस्ट गरेका थिए।
प्रिमियर लिगको गोल्डेन ग्लोभको उपाधि भने म्यानचेस्टर सिटीका एडरसनले पाए।
उनले लिग अवधिभर १९ खेलमा क्लिन सिट राखेका थिए। चेल्सीका एडुआर्ड मेन्डीले १६ खेलमा क्लिन सिट राख्दै दोस्रो स्थानमा रहे।
Shares

प्रतिक्रिया