प्रिमियर लिग, इंग्लिस फुटबल लिग र वुमन्स सुपर लिग क्लबहरुले चार दिनसम्म सामाजिक सञ्जाल बहिष्कार गर्ने भएका छन्।
अत्याचार र विभेदका विरुद्ध प्रिमियर लिग क्लबहरुले यस्तो निर्णय लिएको बीबीसीले जनाएको छ। बहिष्कार अप्रिल ३० देखि सुरु हुनेछ।
क्लबहरुको अभियानलाई नियामक संस्था द फुटबल एसोसिएसनले पनि साथ दिने जनाइएको छ। यो अभियानलाई किक इट आउट नाम दिइएको छ।
‘यो बहिष्कारले हाम्रो सामूहिक आक्रोशलाई महत्व दिन्छ’, किक इट आउटका प्रमुख सञ्जय भण्डारीले भने, ‘खराब गालीका लागि सामाजिक सञ्जाल नियमित माध्यमजस्तै बनेको छ।’
आफैँलाई त्यस्ता प्लेटफर्मबाट हटाउँदै आफूहरु शक्तिमा रहेका त्यस्ता सामाजिक सञ्जाललाई सांकेतिक भावभंगीमा प्रस्तुत हुने उनले बताए।
‘यसविरुद्ध लाग्न हामीलाई तपाईंको साथ चाहिन्छ, परिवर्तनका लागि तपाईंको सहयोग चाहिन्छ’, उनले भने।
बेलायत सरकारले यसअघि नै यसविरुद्ध नियन्त्रणकारी भूमिका नदेखाए सामाजिक सञ्जाल कम्पनीविरुद्ध अर्बौँ पाउन्डबराबरको जरिवाना तिराउने बताइसकेको छ।
फेसबुकले गत फेब्रुअरीमा विकृति रोक्न कडा कदम चाल्ने बताएको थियो। गत हप्तामात्रै फेसबुककै स्वामित्वको इन्स्टाग्रामले पनि यसलाई रोक्न एउटा नयाँ टुल्स फिचर थप्ने जनाएको थियो।

प्रतिक्रिया