त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजको उपाधिका लागि शनिबार घरेलु टोली नेपाल र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुँदैछ। खेल दिउँसो सवा १ बजे त्रिवि क्रिकेट मैदान किर्तिपुरमा हुनेछ।
जारी सिरिजमा उत्कृष्ट प्रर्दशन गरिरहेको नेपाल पहिलो त्रिकोणात्मक सिरिज जित्ने दाउमा छ। नेपाली राष्ट्रिय टोलीको कप्तानी ज्ञानेन्द्र मल्लले गर्नेछन् भने नेदरल्यान्ड्सको कमानी पिटर शिलारले सम्हाल्नेछन्।
लिग चरणको पहिलो खेलमा नेपालले नेदरल्याण्ड्सलाई ९ विकेटले पराजित गर्दै सिरिजमा सानदार सुरुवात गरेको थियो। दोस्रो खेलमा भने नेपाल नेदरल्याण्डसँग ३ विकेटले पराजित हुन पुग्यो।
सो खेलमा नेपालले नेदरल्याण्डलाइ २ सय ७ रनको विशाल लक्ष्य दिएपनि पाहुना टोलीले ३ बल अगावै लक्ष्य भेट्टाएको हो। मलेसियालाई भने नेपालले पहिलो खेलमा ९ विकेट तथा दोस्रो खेलमा ६९ रनले पराजित गरेको थियो।
पहिलो खेलमा नेपालसँग पराजित भएपनि दोस्रो खेलमा नेपाललाई पराजित गरेको नेदरल्याण्ड्स उच्च मनोबलमा मैदान उत्रने छ। नेदरल्याण्ड्सले पहिलो खेलमा मलेसियालाई १५ रनले हराएको थियो।
मलेसियालाई हराउन नेदरल्यान्ड्सका ओपनर म्याक्स ओडाउडले ७३ बलमा १ सय ३३ रनको उत्कृष्ट शतकीय इनिङ खेलेका थिए। जुन नेदरल्यान्ड्सबाट टि ट्वान्टी आईमा बनेको पहिलो शतक हो। मलेसिया र नेदरल्याण्ड्सबीचको दोस्रो खेल भने वर्षाका कारण बराबरी भएको थियो।
प्रतिक्रिया