इंग्लिस क्लब म्यानचेस्टर सिटीले यूईएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा जर्मन क्लब बोरुसिया डर्टमुन्डलाई पराजित गरेको छ।
मंगलबार राति घरेलु मैदान इतिहाद स्टेडियममा भएको खेलमा सिटीले डर्टमुन्डलाई २–१ गोल अन्तरले पराजित गरेको हो। सिटीको जितमा केभिन डि ब्रुयन र फिल फोडेनले गोल गररे। डर्टमुन्डका मार्को रिउसले एक गोल फर्काए।
खेलको १९औं मिनेटमा केभिन डि ब्रुयनले रियाद महारेजको पासमा गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए। खेलको ८४औं मिनेटमा कप्तान मार्को रिउसले गोल गर्दै खेललाई १–१ बराबरीमा ल्याए। खेलको ९०औं मिनेटमा इल्केए गुन्डोगानको पासमा फिल फोडेनले गोल गर्दै सिटीलाई २–१ को जित दिलाएका थिए।
जितसँगै सिटीको अन्तिम चारमा पुग्ने सम्भावना बलियो भएको छ। दोस्रो लेगमा सोही लयलाई निरन्तरता दिएमा सिटीले सेमिफाइनल यात्रा तय गर्नेछ। दोस्रो लेग १५ अप्रिलमा डर्टमुन्डको मैदानमा हुनेछ।

प्रतिक्रिया