सन्दीपले सामाजिक सञ्जाल ट्वीटरमा अमेरिकाले भिसा नदिएको भन्दै दुखेसो पोखेका छन्।
सन्दीपले ट्वीटमा लेखेका छन्, 'आउँदो क्यारिबियन प्रिमियर लिग(सीपीएल)-२०१९ का लागि आज(मंगलबार) म नेपालस्थित अमेरिकी राजदूतावासमा गएको थियो। राष्ट्रिय खेलाडीका रुपमा मैले २०१६ देखि विभिन्न विश्वका लिगमा सहभागिता जनाउँदै आएको छु। मेरो भिसा अस्वीकार हुँदा म ठूलो आश्चार्यमा परे।'
'मसँग कुनै शब्द थिएन् र म हास्दै ती सबैकुरा हेरिरहेको थिए,' उनले थपेका छन्, 'मैले सम्पूर्ण आवश्यक कागजातहरु पूरा गर्दा पनि भिसा नपाउँदा आश्चार्यमा परे। खेलाडीका रुपमा यसले मलाई सीपीएलमा खेल्न समस्या पार्नेछ।'
सन्दीपले ट्वीटमा नेपालस्थित अमेरिकी राजदूतावास, राजदूत एन्डी बेरी, प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली लगायतलाई मेन्सन गरेका छन्।
सन्दीपले यस सिजनको क्यारिबियन प्रिमियर लिग(सीपीएल)मा बार्बाडोस ट्रिडेन्ट्सबाट खेल्दैछन्। सीपीएल आगामी सेप्टेम्बर ४ तारिखबाट सुरु हुँदैछ। त्यसका लागि सन्दीप यही अगष्ट अन्तिम अथवा सेप्टेम्बर पहिलो साता वेष्ट इण्डिज उड्ने योजनामा थिए।
वेष्ट इण्डिजको भिसाका लागि नेपालबाट अमेरिकी राजदूतावासबाट अप्लाई गर्नपर्ने हुन्छ। सन्दीपका नेपाली व्यवस्थापक रमन शिवाकोटीले अमेरिकी राजदूतावासले भिसा अस्वीकार गरेको पुष्टि गर्दै आफूहरुले थप पहल गर्ने बताए। 'उनीहरुले अस्वीकार गरेपछि हामीले केही गर्ने स्थिति हुँदैन्,' सिवाकोटीले भने, 'हामी पर्ख र हेरको स्थितिमा छौं।'
क्यारिबियन प्रिमियर लिगको अघिल्लो सिजनमा सन्दीपले सेन्ट किट्स एण्ड नोभिस प्याट्रियोट्सबाट खेलेका थिए। जसमा ५ खेल खेल्दै सन्दीपले ७ विकेट लिएका थिए।
Shares
प्रतिक्रिया