इटालियन च्याम्पियन युभेन्टस यूइएफए च्याम्पियन्स लिगको राउन्ड अफ १६ बाटै बाहिरिएको छ।
मंगलबार राति भएको दोस्रो लेगमा घरेलु मैदानमा एफसी पोर्टोलाई पराजित गरेपनि समग्रमा अवे गोलको आधारमा युभेन्टसले अन्तिम ८ को यात्रा तय गर्न नसकेको हो।
अतिरिक्त समयमा लम्बिएको खेल ३–२ मा सकिएको थियो। त्यसअघि पहिलो लेग पोर्टोले २–१ ले जितेको थियो। समग्रमा ४–४ को बराबरी भएपनि पोर्टोले युभेन्टसको मैदानमा २ अवे गोल गरेपछि पोर्टोले क्वार्टरफाइनल यात्रा तय गरेको हो। खेलको आधा भन्दा बढी समय १० खेलाडीमा समेटिएको पोर्टोले ऐतिहासिक जित निकालेको हो।
खेलको १९ औं मिनेटमा सर्जियो अलिभिएराले पेनाल्टीमा गोल गर्दै पोर्टोलाई अग्रता दिलाएका थिए। फेडेरिको किएजाले खेलको ४९ र ६३ औं मिनेटमा गोल गरे। अतिरिक्त समयमको १ सय १५ औं मिनेटमा सर्जियो अलिभिएराले दोस्रो गोल गरे। १ सय १७ औं मिनेटमा एड्रिएन राबिअटले हेडरमा गोल फर्काए।
त्यसैगरी गएराति भएको अर्को खेलमा स्पेनिस क्लब सेभियालाई पराजित गर्दै जर्मन क्लब बोरुयी डर्टमुन्ड युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ। दोस्रो लेगको खेल २–२ गोलको बराबरीमा रोकिएपनि समग्रमा ५–४ को जित निकाल्दै डर्टमुन्डले अन्तिम आठको यात्रा तय गरेको हो। पहिलो लेगमा डर्टमुन्ड ३–२ ले विजयी भएको थियो।

प्रतिक्रिया