काठमाडौ मेयर्स कप एक दिवसीय क्रिकेट प्रतियोगितामा नेपाल एपीएफ क्लवले लगातार दोस्रो जित दर्ता गरेको छ।
आइतबार भएको खेलमा नेपाल एपीएफले नेपाल पुलिस क्लवलाई १ विकेटले पराजित गर्दै दोस्रो जित दर्ता गरेको हो। उता नेपाल पुलिस क्लवले भने पहिलो हार भोगेको छ।
पुलिस क्लवले दिएको २ सय ५९ रनको लक्ष्य एपीएफले एक बल अगाबै भेट्टाएको हो।
एपीएफका सुदीप जोराले ६१ रनको योगदान दिए। ६५ बलको सामना गरेका उनले २ चौका र ३ छक्का हाने। सुवास खकुरेलले ७९ बलमा ६ छक्का मद्दतमा अर्धशतक प्रहार गरे। आरिफ शेखले ४२ रन थपे। कप्तान शरद भेषावकर २० र सुमित महर्जन ३३ रनमा नटआउट रहे।
नेपाल पुलिस क्लवका पवन सर्राफ एक्लैले ५ विकेट लिएपनि टोलीको हार टार्न भने सकेनन्। योगेन्द्र सिंह कार्कीले २ तथा ललित राजवंशी र दिपेन्द्र सिंह ऐरिले एक एक विकेट लिए।
त्यसअघि किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पुलिस क्लवले निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा २ सय ५८ रनको योगफल तयार पारेको हो।
खेलको प्लेयर अफ दि म्याच बनेका दिपेन्द्र सिंह ऐरिल १ सय ३१ बलमा १ सय ४० रनको महत्वपुर्ण योगदान दिएपनि टोलीको हार टार्न भने सकेनन्। ऐरीले ११ चौका र ६ छक्का हाने। चौथो नम्बरमा ब्याटिङमा आएका उनी अविनास बोहोराको बलमा क्याच आउट हुन पुगे।
पवन सर्राफले ३५ र सुनिल धमालाले ३३ रन थपे। अनिल शा १८ र कुशल भुर्तेल १० रनमा पवेलियन फर्के। कप्तान मन्जित श्रेष्ठ ३, अमित श्रेष्ठ १ रनमा आउट भए। दिलिप नाथ ४ रनमा नटआउट रहे। एपीएफका शरद भेषावकरले ३, अविनास बोहोराले २ तथा अमर रौटेलाले १ विकेट लिए।
Shares
प्रतिक्रिया