शनिबारदेखि सुरु हुने काठमाडौ मेयर्स कप–२०७७ को विजेताले पाँच लाख रुपैयाँ पाउने भएका छन्।
नेपाल क्रिकेट संघ (क्यान) ले काठमाडौमा शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको विजेताले ५ तथा उपविजेताले ३ लाख रुपैयाँ पाउने जानकारी दिएको हो। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ५० हजार रुपैयाँ दिइनेछ।
सर्वोत्कृष्ट ब्याट्सम्यान र बलरले जनही २५ हजार रुपैयाँ दिईने क्यानका म्यानेजर विनोद दासले जानकारी दिए।
प्रत्येक खेलको प्लेयर अफ द म्याचले ५ हजार पाउनेछन् भने प्रत्येक खेलमा खेलाडीको म्याच फि २ हजार दिइने क्यानले जनाएको छ।
गत माघमा सम्पन्न काठमाडौंमा सम्पन्न प्रधानमन्त्री कप पुरुष एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताका चार वटा सेमिफाइनलिस्ट टिमहरू त्रिभुवन आर्मी क्लब, नेपाल एपिएफ क्लब, नेपाल पुलिस क्लब र बागमती प्रदेशसँगै काठमाडौं महानगरपालिकाको काठमाडौं मेयर ११ ले प्रतियागितामा भाग लिनेछन्। प्रतियोगिता सिंगल राउन्ड रोविनको आधारमा हुनेछ।
प्रतियोगिताको उद्घाटन खेलमा भोलि नेपाल एपीएफ क्लव र त्रिभुवन आर्मी क्लव खेल्नेछन्।
काठमाडौंको नेतृत्व सन्दीपले गर्ने
प्रतियोगितामा काठमाडौं मेयर–११ टोलीको कप्तानी लेग स्पिनर सन्दीप लामिछानेले गर्ने भएका छन्।
क्यानले पत्रकार सम्मेलनमा टोलीको नेतृत्व सन्दीपले गर्ने जानकारी दिएको हो। पाकिस्तान सुपर लिग खेल्न गत शनिबार कराँची गएका सन्दीप लिग स्थगित भएपछि नेपाल फर्कनेछन्। सन्दीप शुक्रबार नेपाल आइपुग्नेछन्।
काठमाडौं मेयर ११ टोलीमा वाग्मतीबाहेकका ६ प्रदेशका खेलाडी सहभागी छन्। क्यानले प्रधानमन्त्री कपमा राम्रो प्रर्दशन गरेका प्रदेशका खेलाडी समेटेर काठमाडौं मेयर ११ को टोली बनाएको हो।
काठमाडौं मेयर ११ टिमः सन्दीप लामिछाने (कप्तान), सिद्धान्त लोहनी, विवेक यादव, हरि शंकर शाह, अर्जुन कुमाल, विपिन खत्री, कृष्ण कार्की, सन्दीप रजाली, सौरभ खनाल, बिक्रम भुषाल अनिल खरेल, रविन्द्रजंग शाही, विपिन रावल, अनुज चनारा, खडक बहादुर बोहरा र नारायण जोशी

प्रतिक्रिया