पाहुना टोली अस्ट्रेलियाले घरेलु टोली न्युजिल्यान्डसँगको ५ खेलको टि ट्वान्टी आई क्रिकेट सिरिज बराबरीमा ल्याएको छ।
शुक्रबार भएको सिरिजको चौथो खेलमा अस्ट्रेलियाले न्युजिल्याण्डलाई ५० रनले पराजित गर्दै सिरिज बराबरीमा ल्याएको हो।
१ सय ५७ रनको लक्ष्य पछ्याएको न्युजिल्याण्ड १८ दशमलव ५ ओभरमा १ सय ६ रनमा अलआउट भयो। काइल जामिसनले जोडेको ३० रन नै न्युजिल्यान्डका लागि सर्वाधिक रह्यो।
उनले १८ बलमा ५ चौका हाने। टिम सिफर्टले १९ र देभन कन्वेले १७ रन थपे। अन्य खेलाडीले दोहोरो अंकको स्कोर छुन सकेनन्।
अस्ट्रेलिया तीव्र गतिका बलर केन रिचर्डसनले ३ विकेट लिए। एस्टन अगर, एडम जाम्पा र ग्लेन म्याक्सवेलले २–२ विकेट लिए।
त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको अष्ट्रेलियाले २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ५६ रनको योगफल तयार पारेको थियो। कप्तान आरोन फिन्च ७९ रनमा नटआउट रहे। उनले ५५ बलमा ५ चौका र ४ छक्का हाने।
म्याथ्यु वेड १४, जोश फिलिपे १३, ग्लेन म्याक्सवेल १८ र मार्कस स्टोइनिस १९ रनमा पवेलियन फर्के। न्युजिल्यान्डका स्पिनर ईश सोधीले ३ विकेट झारे। ट्रेन्ट बोल्टले २ तथा मिचेल सान्टनरले १ विकेट लिए।
पहिलो र दोस्रो टि–२० खेलमा न्युजिल्यान्ड ५३ रन र ४ रनले विजयी हुँदै सिरिजमा २–० ले अग्रता बनाएको थियो। तेस्रो खेलमा अष्ट्रेलिया ६४ रनले विजयी भएको थियो। पाँचौं तथा निर्णायक खेल पर्सि आइतबार हुनेछ।

प्रतिक्रिया