भैरहवास्थित सिद्धार्थ रंगशालामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिता अन्तर्गत सोमबार भएको डिभिजन ‘बी’को खेलमा ज्ञानोदय क्रिकेट क्लबले शंकरनगर क्रिकेट क्लबलाई २८ रनले पराजित गरेको छ।
टस हारेर ब्याटिङमा आएको ज्ञानोदयले निर्धारित ५० ओभरको खेलमा ३३.३ ओभरमा अलआउट हुँदै १३० रन बनायो। उसका लागि महेश रानाले ४६ र करण विकेले १२ रन बनाए। बलिङमा शंकरनगरका अखलेस यादवले ३ र अनित तामाङले २ विकेट लिए।
जवाफी ब्याटिङ गरेको शंकरनगर ३०.१ ओभरमा अलआउट हुँदै १०२ रनमै समेटियो। उसका लागि विराट भण्डारीले २८ र केशव पौडेलले २४ रन बनाए। बलिङमा ज्ञानोदयका सुनिल धमलाले ९ ओभरमा १ मेर्डन राख्दै २६ रन खर्चेर ५ विकेट लिए। यस्तै, करण विकेले ३ विकेट लिए। खेलमा सुनिल धमला म्यान अफ द म्याच घोषित भए।
मंगलबार तिलोत्तमा क्रिकेट क्लब र लुम्बिनी शाक्यान क्रिकेट क्लबबीच प्रतिस्पर्धा हुने आयोजक संस्था रुपन्देही क्रिकेट संघका सचिव संजय गुरुङले जानकारी दिए।
प्रतियोगिताको विजेता टिमले ८० हजार रुपैयाँ र ट्रफी तथा उपविजेताले ४० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछन्। यस्तै, म्यान अफ द सिरिजलाई १५ हजार, बेष्ट ब्याट्सम्यान, बेष्ट बलर र उदयीमान खेलाडीलाई ५-५ हजार तथा प्रत्येक दिनको म्यान अफ द म्याचलाई १ हजार रुपैयाँ प्रदान गरिने छ।
नेपाल टेलिकम मुख्य प्रायोजक रहेको प्रतियोगिताको सहप्रायोजकमा विके ज्वेलर्स र सगरमाथा इन्स्योरेन्स छन्।

प्रतिक्रिया