राष्ट्रिय महिला लिग फुटबलमा आज दुई खेल हुँदै छ। बिहीबारको पहिलो खेलमा वालिङ नगरपालिका स्याङ्जा र चौदण्डीगढी नगरपालिका उदयपुरबीच प्रतिस्पर्धा हुनेछ।
खेल ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा मध्याह्न १२ बजे हुनेछ।
अंकविहीन तालिकाको पुछारमा रहेको चौदण्डीगढी वालिङलाई बराबरीमा रोक्ने दाउमा मैदान उत्रिनेछ।
यता विदेशी खेलाडी समावेश गरेर बलियो बनेको वालिङ दोस्रो स्थानको आर्मी फुटबल क्लबसँग अंक दूरी कम गर्ने दाउमा छ।
पहिलो लेगमा वालिङले चौदण्डीगढीलाई १०–० को फराकिलो अन्तरले हराएको थियो।
आजै हुने दोस्रो खेलमा त्रिभुवन आर्मी क्लब र विराटनगर नगरपालिका मोरङबीच प्रतिस्पर्धा हुने छ। खेल, सोही मैदानमा दिउँसो ३ बजे हुनेछ।
पहिलो लेगमा विराटनगरलाई ७–० को अन्तरले पाखा लगाएको आर्मी उच्च मनोबलमा मैदान उत्रिनेछ।
दोस्रो स्थानमा रहेको आर्मीले आजको खेलमा विराटनगरलाई हराउँदै शीर्ष स्थानको एपीएफसँगको अंक दूरी कम गर्न चाहन्छ।
यता आर्मीलाई बराबरीमा रोक्दै अंक तालिकामा स्थान सुधारको प्रयासमा विराटनगर रहनेछ।
Shares

प्रतिक्रिया