राजेश पुलामी र विक्रम शोबले उत्कृष्ट रन साझेदारी गरेपछि प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मीले वाग्मती प्रदेशसामु २ सय ३० रनको चुनौती प्रस्तुत गरेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बागमति प्रदेशले टस जितेर फिल्डिङ रोजेपछी ब्याटिङ गरेको आर्मीले ५० ओभरमा २ सय २९ रन जोड्दा अलआउट भयो।
सातौँ विकेटका लागि राजेश पुलामी र विक्रम शोबले ९२ रनको उत्कृष्ट साझेदारी गरेपछि आर्मी विशाल योगफलतर्फ उन्मुख भएको थियो।
नन्दन यादवले विक्रम शोबलाई क्याच आउट गराएका थिए। ५८ बलको सामना गरेका सोबले ३ चौका हान्दै ३५ रन जोडे।
राजेश पुलामी ९१ बलमा ४ चौका र २ छक्का हान्दै ६५ रनको योगदान दिए।
आर्मी एक समय ७ दशमलव १ ओभरमा १७–३ को अवस्थामा थियो। सुरुवाती ७ ओभरमा नै ३ विकेटको गुमाएको आर्मी दबाब आए पनि मध्यक्रमका ब्याट्सम्यानले इनिङ्स सम्हालेका थिए।
चौथो विकेटका लागि भिम सार्की र लोकेश बमले ५६ रनको साझेदारी गर्दै टोलीको इनिङ्स सम्हालेका थिए। बागमतिका नन्दन यादवले लोकेश बमलाई पृथु बास्कोटाको हातबाट क्याच आउट गराउँदै यी दुईको साझेदारी तोडेका थिए। ३० बलको सामना गरेका बमले २ चौका र १ छक्का हान्दै २३ रन जोडे।
भीम सार्की ४० रन जोड्दा पवेलियन फर्के। ६१ बलको सामना गरेका भीमले ५ चौका र १ छक्का हाने। कप्तान विनोद भण्डारी १० रनमा आउट भए।
सुसन भारीले १६, हरि चौहान ३, अनिल मण्डल २ रनमा आउट भए। रोहित पौडेल,शाहब आलम शुन्य रनमा पवेलियन फर्के।
वाग्मती प्रदेशका गौतम केसी एक्लैले ५ विकेट लिए। केसीले आफ्नो स्पेलमा १ मेडन राख्दै ६१ रन खर्चे।
तिलक भण्डारी, नन्दन यादव, विपिन आचार्य र रामनरेश गिरीले एक एक विकेट झारे।

प्रतिक्रिया