खेल


वरिष्ठ भलिबल प्रशिक्षक रिमालको निधन

वरिष्ठ भलिबल प्रशिक्षक रिमालको निधन

नेपालखबर
पुस ११, २०७७ शनिबार ४:२३,

वरिष्ठ भलिबल प्रशिक्षक तथा राष्ट्रिय खेलकूद परिषद् (राखेप) अन्तर्गत खेलकूद विज्ञान प्रतिष्ठानका निर्देशक सुदेशकुमार रिमालको निधन भएको छ।

नशासम्बन्धी रोगबाट पीडित ५६ वर्षीय रिमालको शुक्रबार बाँसबारीस्थित न्यूरो अस्पतालमा निधन भएको हो।

टाउकामा समस्या देखिएपछि उनको शल्यक्रियाको तयारी भइरहेको थियो। रिमाल भलिबलका उत्कृष्ट प्रशिक्षकमध्येका एक थिए। रिमालले विभिन्न समयमा राष्ट्रिय टोलीसँगै विभागीय टोली त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बलको एपिएफ क्लबमासमेत प्रशिक्षणको भूमिका निर्वाह गरेका थिए। पछिल्लो समय रिमाल खेलकूद विज्ञान प्रतिष्ठानको निर्देशकका रुपमा कार्यरत थिए।

रिमाल प्रशिक्षकका रुपमा निकै सफल रहेका नेपाल भलिबल सङ्घका अध्यक्ष मनोरञ्जनरमण शर्मा बताए। ‘रिमालको प्रशिक्षणमा नेपाली पुरुष तथा महिला टोलीले उल्लेख्य सफलता हासिल गरेको छ’, अध्यक्ष शर्माले प्रशिक्षक रिमालको निधनप्रति दुःख व्यक्त गर्दै भने। प्रशिक्षक रिमालको निधनबाट नेपालको खेलकूद क्षेत्रमा अपूरणीय क्षति पुगेको उनले बताए।

भलिबल प्रशिक्षक जगदीशप्रसाद भट्टले प्रशिक्षक रिमाल नेपालको भलिबलमा अहोरात्र खटिने व्यक्तित्व भएको बताए। राज्यले न्यून लगानी गरेको भलिबललाई उकास्न प्रशिक्षक रिमालले गरेको योगदानको भलिबल प्रशिक्षक, पदाधिकारी र खेलाडीले सदैव स्मरण गरिरहने उनको भनाई छ।

पछिल्लो समय सरकारले भलिबललाई राष्ट्रिय खेलका रुपमा घोषणा गरेपछि प्रशिक्षक रिमालले सातवटै प्रदेशमा भलिबल एकेडेमी स्थापनाको माग राख्दै आएका थिए। खेलाडी काठमाडौँभन्दा बाहिर दुर्गम भेगमा रहेकाले उनीहरुलाई एकेडेमीमा राखेर प्रशिक्षण दिनुपर्ने माग उनको थियो।

प्रशिक्षक रिमालले सन् १९८६ मा दक्षिण कोरियामा सम्पन्न सोल एसियाली खेलकूदमा रिमालले राष्ट्रिय टोलीबाट डेब्यु गरेका थिए। राखेपबाट एनआइस कोर्स गरेका रिमाल उत्कृष्ट भएपछि २०४५ सालमा डिप्लोमा कोर्स गर्न भारतको पटियाला गएका थिए।

उनले पाकिस्तानबाट भलिबल प्रशिक्षणको ‘लेभल वान’ तथा बङ्गलादेशबाट ‘लेभल टु कोर्स’ गरेका थिए। रिमालले २०४७ सालबाट नेपाली सेनाको केबलजङ्ग गणबाट प्रशिक्षणको शुरुआत गरेका थिए।

श्रीलङ्कामा सम्पन्न १०औँ सागमा महिला टोलीले कास्य पदक प्राप्त गर्दा रिमाल टोलीका सहायक प्रशिक्षक थिए। सन् २०१४ मा नेपालमा भएको आमन्त्रण भलिबल च्याम्पियनशिपमा उनले महिला टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी निभाएका थिए। उक्त प्रतियोगितामा नेपालले ऐतिहासिक रजत पदक प्राप्त गरेको थियो।

बाह्रौँ सागमा महिला टोलीले कास्य जित्दा पनि रिमाल प्रशिक्षक थिए। उनकै प्रशिक्षणमा महिला भलिबल टोलीले १३औँ सागमा कास्य पदक प्राप्त गरेको थियो। राष्ट्रिय खेलकूद परिषद्ले आज बिहान राखेपमा श्रद्धाञ्जलिसभाको आयोजना गरेको नेपाल भलिबल सङ्घका महासचिव जितेन्द्रबहादुर चन्दले जानकारी दिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad