बिना कारण आफूलाई क्लबको प्रशिक्षकबाट बर्खास्त गरिएपछि टुचेल निराश भएका छन्।
उनले अन्तर्वार्ता अनुवादमा गल्ती हुँदा आफू बर्खास्तमा परेको बताएका छन्। आफूले कुनै गल्ती नगरेको उनको भनाइ छ।
बुधबार राति लिग वानमा पीएसजीले स्ट्रासबर्गलाई ४–० ले पराजित गरेसँगै टुचेल बर्खास्तमा परेका हुन्।
बुधबारको खेल अगाडि स्पोर्टवानमा उनको अन्तर्वार्ता आएको थियो। स्पोर्टवानले टुचेललाई नेमार र एमबाप्पेजस्ता खेलाडीलाई खुशी पार्न गाह्रो भएको खबर छापेको थियो।
समाचारमा ४७ वर्षका टुचेलको उपलब्धिलाई क्लबले नजरअन्दाज गरेको साथै उनले पीएसजीमा प्रशिक्षकभन्दा बढी राजनीतिज्ञ र खेलमन्त्रीजस्तो महसुस गरेको उल्लेख गरिएको थियो।
यस्तो आशयको अन्तर्वार्ता छापिएपछि क्लबले टुचेललाई तत्काल प्रशिक्षकबाट बर्खास्त गरेको थियो।
टुचेल भन्छन्,‘त्यो अन्तर्वार्तालाई सबैले फेरि हेरौं, मैले त्यस्तो कहिल्यै भनेको छैन। मेरो अन्तर्वार्ताको गलत अनुवाद गरियो।’
उनले आफूले पीएसजी उत्कृष्ट क्लब भएका कारण आफूलाई क्लबलाई उपलब्धि दिलाउनुपर्ने दबाब र चुनौती रहेको सो अन्तर्वार्तामा बताएको जनाएका छन्।
आफूले जर्मन भाषामा मजाक गर्दा त्यसलाई गलत अनुवाद गरिएको उनको भनाइ छ। एजेन्सी

प्रतिक्रिया