खेल


खेलाडीसहित १४ जनालाई ‘राष्ट्रिय प्रतिभा सम्मान’ दिने तयारी

खेलाडीसहित १४ जनालाई ‘राष्ट्रिय प्रतिभा सम्मान’ दिने तयारी

नेपालखबर
कात्तिक २८, २०७७ शुक्रबार १५:४,

युवा तथा खेलकुद मन्त्रालयले ७ खेलाडीसहित प्रशिक्षक, खेल प्रायोजक र खेल संघ गरि १४ जनालाई राष्ट्रिय प्रतिभा सम्मानबाट सम्मानित गर्ने भएको छ।

मन्त्रालयले निकालेको २१ दिने सुचनाका आधारमा आवेदन दिएका मध्येबाट गत वर्ष भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) का दोहोरो स्वर्ण पदक विजेता ३ खेलाडीसहित ७ जनालाई राष्ट्रिय प्रतिभा पुरस्कारबाट सम्मान गर्ने जनाएको हो।

यस्तै २ खेल प्रशिक्षक, २ खेल प्रायोजक तथा खेल संघ, निर्णायक र चिकित्सकबाट समान १ जनालाई सम्मान गर्न लागेको मन्त्रालयले बताएको छ।

आवेदन परेका मध्यबाट राष्ट्रिय खेलकुद प्रतिभा सम्मान कार्यविधि २०६८ (तेस्रो संशोधन २०७५) बमोजिम ९ सदस्यीय समितीले सिफारिस गरेका खेलाडीलाई सम्मान गर्ने २८ गतेको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ।

मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै २१ दिने सूचनामा २७ खेलाडी, १२ खेल प्रशिक्षक, ३ खेल निर्णायक, ४ खेल व्यवस्थापक र चिकित्सक, २ खेल संघ र विधा नखुलेका ४ वटा गरी जम्मा ५२ वटा आवेदनहरु परेको मन्त्रालयले जनाएको छ।

युवा तथा खेलकुद मन्त्रालयको वार्षिक कार्यक्रमअन्तर्गत आवेदन परेका मध्येबाट यो वर्ष ७ खेलाडीलाई सम्मान गर्न लागेको जनाएको हो।

राष्ट्रिय प्रतिभा पुरस्कारबाट सम्मानित हुनेमा सागका दोहोरो स्वर्ण पदक विजेता कराँतेका मण्डेकाजी श्रेष्ठ, तेक्वान्दोकी आयशा शाक्य, गल्फका सुवास तामाङसहित साइक्लिङकी लक्ष्मी मगर, भारोत्तोलनका विकास थापा, एथलेटिक्सकी सन्तोषी श्रेष्ठ र शारीरिक सुगठनका समिर श्रेष्ठ छन्।

उनीहरु सबै सागका स्वर्ण विजेता हुन्। प्रशिक्षकमा तेक्वान्दोका मुख्य प्रशिक्षक नवीनकुमार श्रेष्ठ र करातेका कुशल श्रेष्ठ छन्। निर्णायकमा जुडोका धर्मकुमार श्रेष्ठ सम्मानित हुँदैछन्।

संघको तर्फबाट नेपाल गल्फ संघ, चिकित्सकमा डाक्टर ज्ञानेन्द्र विक्रम शाह सम्मानित हुनेछन्। खेल प्रायोजकमा काठमाडौं महानगरपालिका र कतार एयरवेजलाई सम्मान गर्ने मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .