युईएफए नेसन्स लिगको तेस्रो चरणको खेलमा जर्मनीले युक्रेनलाई उसकै मैदानमा पराजित गरेको छ।
समूह ए-४ को शनिबार राति किभ ओलम्पिक मैदानमा भएको खेलमा जर्मनीले युक्रेनलाई २–१ ले पाराजित गर्दै पहिलो जित निकालेको हो। यसअघिका २ खेलमा जर्मनीले बराबरी गरेको थियो।
खेलको २० औं मिनेटमा मथियास जिन्टरको गोलमा जर्मनीले अग्रता बनाएको थियो। ४९ औं मिनेटमा लियोन गोरेन्जकाले गोल गर्दै अग्रता दोब्बर पारे।
घरेलु टोलीका लागि रुस्लान मालिनोवस्कीले खेलको ७६ औं मिनेटमा पेनाल्टीमा सान्त्वना गोल फर्काए।
अर्को खेलमा स्पेनले स्वीटरजल्याण्डलाइ १–० ले हराएको छ। अल्फ्रेडो डि स्टेफानो म्याड्रिडमा शनिबार राति भएको खेलमा स्पेनको जितमा मिकेल ओयरजावालले १४ औं मिनेटमा निर्णायक गोल गरे।
गएराति नै भएको समूह सी-१ को खेलमा मोन्टेनेग्रोले अजरवैजानलाई तथा लक्जेमवर्गले साइप्रसलाइ २–० ले पराजित गरे। समूह डी– १ खेलमा फारोइ आइल्यान्ड र लात्भियाले १–१ को बराबरी गरे। सूुह डी २ खेलमा जिब्राल्टारले लिचेस्टानइनलाइ १–० ले पराजित गर्यो।

प्रतिक्रिया