ad ad

खेल


कोहलीको चौकासँगै सुपर ओभरमा बैंग्लोरले मुम्बईलाई हरायो

कोहलीको चौकासँगै सुपर ओभरमा बैंग्लोरले मुम्बईलाई हरायो

नेपालखबर
असोज १३, २०७७ मंगलबार १:१८,

यूएईमा जारी आइपीएल अन्तर्गत सोमबार राति भएको खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरले मुम्बई इन्डियन्सलाई सुपर ओभरमा हरायो।

एबी डिभिलियर्सको उत्कृष्ट ब्याटिङ र सुपर ओभरमा नवदीप सैनीको उत्कृष्ट बलिङ मद्दतमा बैंग्लोरले रोमाञ्चक जित हात पारेको हो।

बैंग्लोरको यो तीन खेलमा दोस्रो जित हो। मुम्बईको भने यो तेस्रो खेलमा नै दोस्रो हार हो। 

बैंग्लोरले बनाएको २०१ रनको जवाफमा मुम्बईले पनि निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर त्यति नै रन बनाएपछि खेल सुपर ओभरमा गएको थियो।

बैंग्लोरका नवदीप सैनीले उत्कृष्ट बलिङ गरेपछि सुपर ओभरमा मुम्बईले ७ रनमात्रै बनाउन सक्यो।

जवाफमा मुम्बईका जसप्रीत बुम्राहले सुरुवाती ३ बलमा २ रनमात्रै दिए। डिभिलियर्सले चौथो बलमा चौका प्रहार गरे। पाँचौं बलमा बम्राहले योर्कर फालेपछि डिभिलियर्सले एक रनमात्रै लिन लिन सकेँ। 

अन्तिम बलमा बैंग्लोरलाई जितका लागि ३ रन आवश्यक भएका बेला बिराट कोहलीले तल्लोतिर आएको फुलटसमा चौका प्रहार गर्दै विजयी रन बटुले।

त्यसअघि मुम्बईले ३९ रन जोड्दा ३ विकेट गुमाएको थियो।

तर इसान किसनले ५८ बलमा ९ छक्का र २ चौकासहित ९९ र केइरन पोलार्डले २४ बलमा ३ चौका र ५ छक्कासहित ६० रन जोडेपछि मुम्बईले २०१ रन भेट्टाएको थियो।

यी दुई बीच पाँचौं ओभरका लागि ११९ रनको साझेदारी भयो।

मुम्बईका कप्तान रोहित शर्मा (८), सूर्यकुमार यादव (शून्य) र क्विंटन डि कक (१४) रनमै आउट भएका थिए। 

मुम्बईलाई अन्तिम चार ओभरमा ८० रन चाहिएको थियो। पोलार्डले एडम जाम्पाले फालेको १७औं र यूजभेन्द्र चहलको १८औं ओभरमा तीन-तीन छक्का प्रहार गर्दै खेललाई सुपर ओभरमा धकेलेका हुन।

पोलार्डले २० बलमै अर्धशतक पूरा गरेका थिए। किशन भने एक रनले शतक चुके।

त्यसअघि एरोन फिन्च, देवदत्त पाडिक्कल र डिभिलियर्सको अर्धशतकपछि बैंग्लोरले ३ विकेट गुमाएर २०१ रन बनाएको थियो।

फिन्चले ३५ बलमा ७ चौका र एक छक्कासहित ५२ रन जोडे। देवदत्तले ४० बलमा ५ चौका र २ छक्कासहित ५४ जोडे। 

यी दुबैले पहिलो विकेका लागि ८१ रनको साझेदारी गरे।

डिभिलियर्सले २४ बलमा ४ चौका र ४ छक्कासहित ५५ रन बनाएपछि बैंग्लोरले बलियो स्कोर बनाएको थियो।

योसँगै डिभिलियस्सले आइपीएलमा आफ्नो ४५ सय रन पूरा गरे। 

यस्तै बैंग्लोरका शिभम दुबेले १० बलमा २ छक्कासहित २७ रन बनाए। विराट कोहली भने यस खेलमा पनि चलेनन।

११ बल खेलेका कोहलीले ३ रनमात्रै बनाउँन सके। तीन खेलमा उनले १८ रनमात्रै बनाउँन सकेका छन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .