नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका खेलाडीसहित ५१ जनाको कोरोना बीमा गरेको छ। क्यानले पुरुष राष्ट्रिय टोलीका २५ खेलाडी तथा त्रिभुवन विश्वविद्यालय खेल मैदान, मुलपानी क्रिकेट मैदानका कर्मचारी तथा क्यान कार्यालयका कर्मचारीको कोरोना बीमा गरेको हो।
क्यानले विज्ञप्तिमार्फत कोरोना बीमा गरिएको जनाएको हो। दुई साताअघि क्यानले खेलाडी, खेल मैदानका कर्मचारी तथा क्यान कार्यालयका कर्मचारीको बीमा गर्ने निर्णय गरेको थियो। कोरोना महामारीलाई ध्यानमा राख्दै बीमा गरिएको क्यानका अध्यक्ष चतुरबहादुर चन्दले बताए। क्यानले वार्षिक अुनबन्ध गरेका २२ तथा अन्य तीन खेलाडीको बीमा गरेको हो।
क्यानले खेलाडी, मैदानका कर्मचारी तथा कार्यालयका कर्मचारीको प्रत्येकको एक वर्षको रु एक लाख बराबरको कोराना बीमा गरेको हो। महिला क्रिकेट खेलाडीको कोरोना बीमाबारेसमेत क्यानले योजना बनाइरहेको छ।
यसैबीच क्यानले केही समय अघि क्रिकेट खेलाडीको डेढ वर्षदेखि रोकिएको पारिश्रमिक उपलब्ध गराउनका लागि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)लाई पत्र पठाएको छ। आईसीसीले पारिश्रमिकका लागि खेलाडीको सूची मागेपछि क्यानले २३ जनाको सूची पठाएको हो।
लामो समयदेखि रोकिएको पारिश्रमिक खेलाडीले चाँडै पाउने क्यानले जनाएको छ। पारिश्रमिकका लागि क्यानले तीन श्रेणीमा खेलाडी विभाजन गरी सूची आईसीसीलाई पठाएको अध्यक्ष चन्दले जानकारी दिए। रासस

प्रतिक्रिया