फिलिपिन्सका बक्सर म्यानि प्याकियो ४० वर्षको उमेरमा डब्लुबीए सुपर च्याम्पियन बनेका छन्।
वेल्टर वेट प्रतियोगितामा अहिलेसम्म अपराजित रहेका अमेरिकी बक्सर केथ थरम्यानलाई म्यानि प्याकियोले पराजित गरेका हुन्।
अमेरिकी बक्सर थरम्यान आफ्नो ३० औं जितको खोजीमा प्याकियोविरुद्ध रिङमा उत्रिएका थिए। ३० वर्षका थरम्यानले प्याकियोलाई जित्ने अनुमान गरिएको थियो। यद्यपी ४० वर्षका प्याकियोले उनको चाहनालाई विलिन गरिदिए।
प्याकियोले अंकको आधारमा थरम्यानलाई पराजित गरेका हुन्।
यस खेलबाट प्याकियोले उमेर गन्तीमात्र हो भन्ने पुष्टि गरेको खेल पण्डितहरुले बताइरहेका छन्।
प्याकियो बक्सिङका आठ वेटमा विश्व च्याम्पियन बनिसकेका छन्। ७१ औं व्यावसायिक बक्सिङमा प्याकियोले शानदार जित हात पारेका हुन्।
७१ खेलमा प्याकियोले ६२ वटा खेलमा जित निकालेका छन् ७ वटामा उनी पराजित भएका थिए, २ खेलमा बराबरी खेलेका थिए। उनले ३९ नकआउट गरेका छन्।
प्याकियो राजनीतिज्ञ पनि हुन्। उनले फिलिपिन्समा सिनेटरको भूमिका निभाइसकेका छन्। आगामी खेलमा उनले आमिर खानसँग प्रतिस्पर्धा गर्ने अन्तर्राष्ट्रियसंचार माध्यमले जनाएका छन्।

प्रतिक्रिया