स्वर्गीय लक्ष्मीनारायण श्रेष्ठ भलिबल मेमोरियल ट्रष्टले राष्ट्रिय भलिबल र बिच भलिबलका खेलाडीको कोरोना बीमा गराइदिने भएको छ।
ट्रष्टकी अध्यक्ष अन्जु श्रेष्ठले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दैै गत वर्ष स्वदेशमा आयोजना भएको १३औँ दक्षिण एसियाली खेलकुद (साग)मा सहभागी टोलीका खेलाडीको बीमा गरिदिने बताएकी हुन्।
भलिबल टोलीको महिला र पुरुषमा समान १४ तथा बिच भलिबल टोलीको महिला र पुरुष टोलीमा समान ४ गरी कुल ३६ खेलाडीको बीमा गर्ने प्रतिष्ठानले जारी गरेको विज्ञप्तिमा उल्ल्ेख छ।
१३औँ सागमा महिला भलिबल टोलीले रजत र महिला बिच टोलीले कांस्य पदक जितेको थियो। पुरुषतर्फ भने नेपाल पदकविहीन बनेको थियो।
महिला टोलीले सागमा अहिलेसम्मकै ठूलो सफलता हात पार्ने क्रममा रजत पदक जितेको थियो।
सागका अघिल्ला दुई संस्करणमा कांस्य जित्दाकी कप्तान समेत रहेकी अन्जु श्रेष्ठको आफ्ना बुबा लक्ष्मीनारायण स्मृतिमा स्थापित ट्रष्टले अहिले खेलाडीको बीमा गर्न लागेको हो।
कोरोनाका कारण अन्य क्षेत्रजस्तै खेलाडी प्रभावित भएकोले उनीहरुको मनोबल उच्च राख्नका लागि बीमा गर्न लागिएको उनको भनाइ छ।

प्रतिक्रिया