अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले नेपाल क्रिकेट संघ (क्यान)को निलम्बन यथावत् नै राखेको छ।
इंग्ल्यान्डको लण्डनमा बिहीबार बसेको आईसीसीको बोर्ड बैठकले क्यान निलम्बन फुकुवाका बारेमा कुनै छलफल गरेन। आईसीसीले क्यानमा सरकारी हस्तक्षेप बढेको भन्दै नेपाललाई विसं २०७३ वैशाख १३ गते निलम्बन गरेको थियो। त्यसयता बारम्बार फुकुवाको प्रयास भए पनि सफल हुन सकेको छैन।
आईसीसीको प्रतिबन्धमा रहे पनि नेपाली क्रिकेट टोलीले आईसीसीकै निगरानीमा अन्तर्राष्ट्रिय प्रतियोगिताहरु खेल्दै आइरहेको छ।
त्यसैगरी आईसीसीको बैठकले जिम्बावे क्रिकेट बोर्डलाई पनि प्रतिबन्ध लगाएको छ। जिम्बावे क्रिकेट बोर्डमा सरकारी हस्तक्षेप भएको भन्दै आईसीसीले जिम्बावेलाई निलम्बन गरेको हो। सरकारी हस्तक्षेप बढेको र आईसीसीको धारा २ ९४० को ‘सी’ र ‘डी’ विपरीत काम गरेको भन्दै जिम्बावेलाई तत्कालैदेखि लागू हुनेगरी निलम्बन गरिएको हो।
आईसीसीले निलम्बनसँगै जिम्बावेको सबै अनुदानसमेत रोक्का गरेको छ। जिम्बावे अहिले आर्थिक संकटमा छ। आईसीसीले जिम्बावे क्रिकेट बोर्डलाई तीन महीनाभित्र यस मुद्दालाई समाधान गर्न (अल्टिमेटम) समयसीमा दिएको छ।
आईसीसीले क्रोएसिया र जाम्बियाको क्रिकेट बोर्डलाई पनि निलम्बन गरेको छ भने मापदण्ड नपुगेको भन्दै मोरक्कोको क्रिकेट बोर्डलाई पनि निष्कासन गरेको छ। रासस

प्रतिक्रिया