खेल


च्यासलमा अन्तर्राष्ट्रिय स्तरको रंशगाला बनाउने काम धमाधम

च्यासलमा अन्तर्राष्ट्रिय स्तरको रंशगाला बनाउने काम धमाधम

नेपालखबर
साउन ९, २०७७ शुक्रबार ९:२,

ललितपुरको च्यासल स्थित एन्फा टेक्निकल सेन्टरमा मैदान बनाउने काम यतिवेला धमाधम भइरहेको छ। राष्ट्रिय खेलकुद परिषद (राखेप) को लगानीमा निर्माण भइरहेको मैदान असार मसान्तसम्म सक्ने लक्ष्य लिए पनि विश्वभरी फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण मंसिरसम्म लम्बिएको छ।

उमेर समूहका खेलदेखी दोस्रो डिभिजनका खेल आयोजना गर्ने लक्ष्यका साथ अखिल नेपाल फुटबल संघ (एन्फा) ले उपलब्ध गराएको करिब ४८ रोपनी जग्गाले रंगशालाको रुप लिँदैछ। ३० करोड लगानीमा निर्माण गर्न लागिएको मैदानलाई स्तरोन्नति गरेर अन्तर्राष्ट्रिय स्तरको रंशगाला बनाउने लक्ष्यका साथ अहिले काम भइरहेको छ।

मैदानलाई १३ औं दक्षिण एसियाली खेलकुद (साग) सम्म तयार पार्ने गरी निर्माणको थालिए पनि त्यो सम्भव हुन सकेन। १२ हजार दर्शक क्षमताका साथ निर्माण सुरु भएको मैदानमा अहिलेसम्म २६ करोड रुपैयाँ खर्च भइसकेको छ।

डाँफे, प्रेरा र प्रतिष्ठा जेभिले संयुक्त रूपमा निर्माण गरिरहेको आयोजनाको ५ प्रतिशत काम मात्रै बाँकी रहेपनि कोरोनाका कारण मंसिरसम्मका लागि सरेको प्रोजेक्ट म्यानेजर महेश मंगल जोशीले बताए। लक डाउनका कारण रोकिएको काम जेठ २२ गतेबाट सुरु भएको थियो। आयोजनाको म्याद मंसिरसम्म थप गरिएपनि भदौ मसान्तमा हस्तान्तरण गर्ने योजना रहेको उनले बताए।

२०७४ असारबाट सुरु भएको निर्माण कार्यको नयाँ योजना अनुसार मैदानको पूर्व र दक्षिणतर्फ प्यारापिट बढाइएको छ । पश्चिमपट्टि नयाँ संरचना थपिएको छ भने उत्तरमा खाली छ।

बागमती नदीको किनार भएकाले वर्षा याममा बाढी रोक्न पर्खाल बनाइएको छ। अहिले उक्त क्षेत्रमा बागमतीको पानीले कटान गरेको छ भने मैदानमा बाढी पस्ने अवस्था छ। त्यसको रोकथमका लागि राखेपले विपद व्यवस्थापन महाशाखा समक्ष २ करोड रुपैयाँ माग गरेको छ।

निर्माण सम्पन्न पछि राष्ट्रिय खेलकुद परिषदले रंगशाला व्यवस्थापनका लागि एन्फालाई प्रदान गर्ने तयारी छ। त्यसपश्चात एन्फाले एसियाली फुटबल महासंघको आर्थिक सहयोगमा फ्लड लाईट राख्ने सहमति एन्फासँग भएको छ। ग्रासरुटबाट फुटबल विकासमा सहयोग पुर्याउने लक्ष्यका साथ मैदान निर्माणका लागि तत्कालीन एन्फा अध्यक्ष गणेश थापाले प्रस्ताव अघि सारेका थिए।

आयोजना सम्पन्न भए मैदानले दशरथ रंगशालामा निर्भर हुनु पर्ने अवस्था हट्ने विश्वास गरिएको छ। साथै घरेलु प्रतियोगिताका लागि एन्फा कम्लेक्स र रंगशालाको मात्र भर पर्नुपर्ने बाध्यता पनि हट्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad