खेल


सीमान्तबाट उदाएकी अप्सरीको विश्वकप खेल्ने सपना

सीमान्तबाट उदाएकी अप्सरीको विश्वकप खेल्ने सपना

लक्ष्मी जि.सी
असार २३, २०७७ मंगलबार ११:२१,

उनका अघिल्तिर विभेदका अग्लाअग्ला पर्खाल थिए। एक होइन अनेकौँ। छोरालाई जति सहज थिएन। उनी मुस्लिम समुदायकी थिइन्, लैंगिक विभेद अझ चर्को थियो। त्यसभन्दा पनि बढी राज्य उनलाई नागरिक मान्न तयार थिएन।

तर, नेपाली समाज–संरचनामा रहेका यी लैंगिक, धार्मिक र राजनीतिक बन्धन फुकाएर अप्सरी बेगम महिला राष्ट्रिय क्रिकेट टोलीको पहिलो मुस्लिम खेलाडी बन्न सफल भइन्। गत वर्ष स्वदेशमै आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले कास्य पदक जित्दा अप्सरी टोलीको सदस्य थिइन्।

अप्सरीले पाँच कक्षादेखि नै क्रिकेट सिक्न थालेकी थिइन्। आफूलाई खेलाडी बनाउन सबैभन्दा ठूलो भूमिका आफ्नी आमाको रहेको उनी बताउँछिन्।

‘स्कुल आउँदाजाँदा बाटोमा दिदीहरु क्रिकेट खेलिरहेको हेर्थेँ। एकदिन स्कुलबाट फर्केपछि ममीले अरुका छोराछोरी के के खेलिरहेका हुन्छन्, तिमीहरु मात्र घरमा नै बस्छौ भन्नुभयो,’ उनले सुनाइन्, ‘त्यसपछि ममीले नै उनीहरुकहाँ गएर मलाई क्रिकेट सिकाइदिन अनुरोध गरिदिनुभयो।’

अप्सरी प्रतिभाशाली थिइन्, त्यसैले उनले चाँडै प्रगति गर्न थालिन्। पहिले उनी पढ्ने स्कुलमा क्रिकेट खेल्न पाइँदैनथ्यो। त्यसपछि उनले स्कुल नै बदलेकी थिइन्।

‘त्यति बेलामा इन्टर स्कुल टुर्नामेन्ट भएको थियो तर मैले त्यहाँ खेल्न नपाएपछि त्यो स्कुल नै छाडेर अर्को स्कुल पढ्न गएँ,’ उनले सुनाइन्, ‘ममी नभएको भए मेरो जीवनले अर्कै बाटो समात्थ्यो होला।’

अहिले पनि करिअरलाई निरन्तर अघि बढाउन आमाको दह्रो सहयोग रहेको उनको भनाइ छ।

‘हाम्रो समुदायमा सानैमा विवाह गर्ने चलन छ,’ उनले भनिन्, ‘छोरी अलिक ठूली हुने बित्तिकै बिहेको चर्चा हुने गर्छ,’ उनी सुनाउँछिन्, ‘मलाई पनि विवाहको धेरै प्रस्ताव आएको थियो। तर मैले खेल्छु भनेर ढिपी कसेँ। दृढ भएर बसेँ। त्यसैले खेल्न पाएको छु।’

पूर्वान्चलमा २०७३ मा आयोजना भएको सातौं राष्ट्रिय खेलकुदमा उनले पहिलो पटक सहभागिता जनाइन्। उनको टोली च्याम्पियन बन्यो। अप्सरीका लागि त्यो प्रतियोगिता खेल जीवनको एउटा अर्को खुड्किलो थियो। अन्तरस्कुल च्याम्पियनसिप, यू १६ र १९ को प्रतियोगिता, प्रधानमन्त्री कप, आठौँ राष्ट्रिय खेलकुदमा उनको लगातार सहभागिता रह्यो। घरेलु प्रतियोगितामा उमेर समूहदेखि राष्ट्रिय प्रतियोगिताको उच्च प्रदर्शनले उनका लागि राष्ट्रिय टोलीको ढोका खुल्यो।

तर, त्यसबेलासम्म उनले नागरिकता पाएकै थिइनन्। नागरिकता नभएकै कारण राष्ट्रिय टोलीमा परेर पनि सन् २०१९ को जनवरीमा थाइल्यान्डमा भएकोे टी–ट्वान्टी प्रतियोगिता उनले खेल्न पाइनन्।

‘क्याम्पमा पर्नुभन्दा अघि नै नागरिकता बनाउन प्रयास गरेकी थिएँ। घरमा सबैको नागरिकता थियो। बाबाको जन्मको आधारमा नागरिकता थियो। आमाको वंशजको आधारमा थियो,’ उनले भनिन्, ‘त्यो बेलामा आमाको नामबाट नै नागरिकता बनाउन पाइने कानुन बनिसकेको थियो। तर पनि मैले पाइनँ। आमाको नामबाट बनाउन पाइँदैन भन्नुभयो।’

उनले टोलीका प्रशिक्षकसँग पनि नागरिकता नभएको समस्या बताइन्। नागरिकता नभएपछि ट्राभल डकुमेन्ट बनाउन पनि गाह्रो भयो।

‘एक समय त म क्रिकेट खेल्न पाउँदिनँ भनेर हार मान्ने अवस्थामा पनि पुगेकी थिएँ,’ उनले सुनाइन्।

त्यसबेला उनलाई टोलीका सदस्यहरुले धेरै ढाडस दिए।

apsari3

त्यसको अर्को महिना ट्राभल डकुमेन्ट बनाएर थाइल्यान्डमा भएको आइसीसी टी–ट्वान्टी विश्वकपको एसियाली छनोट खेल्न उनी पुगिन्।

सुरुमा टोलीमा परेर थाइल्यान्डमा जाँदा निकै खुसी लागेको थियो।

‘सुरुमा खेल्न पाइनँ, हेरेँ मात्रै,’ उनले सुनाइन्, ‘नयाँ खेलाडीले एकै पटक मौका पाउने सम्भावना कमै हुन्थ्यो। तर यूएईविरुद्धको खेलमा मैले डेब्युको अवसर पाएँ।’

राष्ट्रिय टोलीबाट क्रिकेट खेलेर उनी घर फर्किंदै थिइन्। बसपार्कमा उनलाई स्वागत गर्न भीड जम्मा भएको थियो।

‘त्यहाँ मुस्लिम समुदायबाट महिला राष्ट्रिय टोलीमा पर्ने पहिलो खेलाडी हौ भनेपछि त झन् धेरै खुसी लाग्यो,’ उनले भनिन्।

राष्ट्रिय टोलीमा परेपछि उनले पहिलाभन्दा फरक अनुभव गरिन्।

‘राष्ट्रिय टोलीमा परेपछि धेरैले चिन्ने र खोज्ने हुँदो रहेछ,’ उनी भन्छिन्।

निकै लामो प्रतीक्षापछि गत वर्ष उनले नागरिकता पाइन्। त्यसपछि अब क्रिकेटमा मात्रै लाग्ने आफ्नो इच्छा रहेको उनले बताएकी थिइन्।

राष्ट्रिय टोलीको जर्सी लगाउँदाको क्षण सधैँ सम्झिरहने अप्सरी बताउँछिन्। १३ औं साग खेल्दा आफू निकै उत्साहित भएको उनको अनुभव छ।

‘अरु देशमा खेल्दा र आफ्नै देशमा खेल्दा धेरै फरक हुने रहेछ। पहिलो पटक घरेलु मैदानमा अन्तराष्ट्रिय प्रतियागिता खेलेकी थिएँ,’ उनले पोखराको माहोल सम्झँदै भनिन्, ‘आफ्नो भूमिमा खेल्दा मोरल नै छुट्टै हुने। दर्शकको साथले बेग्लै उत्साह आउने। सागमा धेरै रमाइलो भयो। अन्य देशका खेलाडीहरुको खेल हेरेर पनि सिक्ने अवसर पाइयो।’

सीमान्तबाट उदाएकी यी प्रतिभाको अब एउटै सपना छ– विश्वकप खेल्ने।

‘मेरो सपना भनेकै एकपटक विश्वकप खेल्नु हो, क्रिकेटका दर्शकसामु देशलाई चिनाउनु हो,’ उनले भनिन्।

यहाँसम्म आइपुगेकोमा आफूलाई भाग्यमानी ठान्छिन् अप्सरी।

‘अन्य देशमा भन्दा मुस्लिम महिलालाई नेपालमा अलि सहज छ,’ उनी भन्छिन्, ‘तर, जति हुनुपर्ने हो त्यति भएको छैन। छोरीहरुलाई अभिभावकले नै सहयोग नगरेका घटना छन्। परिवारले मलाई सहयोग ग¥यो। त्यसैले म भाग्यमानी हुँ।’

छोरीहरुलाई खेल्न दिन अभिभावकलाई अप्सरी आग्रह गर्छिन्।

‘मेरो परिवारले ममाथि विश्वास गरेका कारण मैले खेल्न पाएकी छु,’ उनी भन्छिन्, ‘त्यसैले आफ्ना सन्तानलाई विश्वास गर्नुहोस्, उनीहरुले चाहेको गर्न दिनुहोस्।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad