ad ad

खेल


कास्की जिल्ला फुटबल संघ अध्यक्षमाथि एन्फाले छानबिन थाल्यो

कास्की जिल्ला फुटबल संघ अध्यक्षमाथि एन्फाले छानबिन थाल्यो

लक्ष्मी जि.सी
असार १७, २०७७ बुधबार ११:४४,

अखिल नेपाल फुटबल संघ (एन्फा)ले गठन गरेको समितिले कास्की जिल्ला फुटबल संघमाथि लागेको अनियमितता प्रकरणबारे छानबिन थालेको छ।

एन्फाका उपाध्यक्ष वीर बहादुर खड्काको नेतृत्वमा आनन्द रञ्जित र नारायण अधिकारी सदस्य रहेको समितिले पोखरा पुगेर बुधबारदेखि छानबिन सुरु गरेको हो।

एन्फाले छानबिन समितिलाई मिलन गुरुङले कास्की जिल्ला फुटबल संघको नेतृत्व सम्हालेयताको २ वर्षको र त्यसअघिको १ कार्यकालको आर्थिक हिसाबकिताब मात्र हेर्ने जिम्मेवारी दिएको संयोजक खड्काले बताए।

‘मिलन गुरुङले अध्यक्षको हैसियतमा रहेर गरेको काम र एन्फाले दिएको बजेटको विषयमा मात्र हामीले अनुसन्धान गर्नेछौँ’, उनले नेपालखबरसँग भने, ‘अध्यक्ष गुरुङमाथि त्योबाहेक पनि अरु थुपै्र आरोपहरु छन्, त्यो विषयमा हामीले केही पनि गर्दैनौँ। हामीले उनकोे व्यक्तिगतभन्दा पनि संस्थागत रुपमा गरेका कार्यको मात्र अनुसन्धान गर्नेछौँ।’

राष्ट्रिय खेलकुद परिषद् (राखेप)अन्तर्गतका केही कुराहरु पनि रहेको बताउँदै उनले राखेपले व्यक्तिगत खातामा पैसा पठाएको विषयमा समितिले केही नगर्ने बताए।

‘यस विषयमा हामीले केही गर्दैनौँ किनकि राखेप हाम्रो मातहत छैन’, खड्काले भने।

आर्थिक विषय जोडिएका अरु धेरै प्रकरणमा पनि गुरुङ विवादित छन्।

मनकामना कपको आयव्यय सार्वजनिक नगरेको तथा कास्की फुटबल संघको अध्यक्षको हैसियतमा गुरुङले निजी खाताबाट रकम लेनदेन गरेको विषय अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत पुगेको छ।

फुटबलको सर्वोच्च निकाय (फिफा)को सहयोगमा एन्फाले सुरु गरेको ग्रासरुट कार्यक्रममा अभिभावकसँग प्रतिबालक १ हजार रुपैयाँ उठाएको र त्यसको हिसाबकिताब लुकाएको अभियोग गुरुङमाथि छ।

गुरुङविरुद्ध आर्थिक अनियमितता र स्थानीयलाई हातपात गरेको विषयमा समेत उजुरी परेको छ। अख्तियारमा समेत उनको अनियमितताबारे उजुरी पुगेको छ। यसको आयोगले छानबिन गरिरहेको छ। बैंकिङ कसुरसहितका विभिन्न उजुरीमा उनी २०७६ माघमा प्रहरी हिरासतमा पनि पुगेका थिए।

अख्तियारमा उजुरी परेपछि जिल्ला प्रशासन कार्यालय कास्कीले एन्फा कास्की दर्ताको प्रतिलिपि, गुरुङ अध्यक्ष भएदेखि गरिएका प्रतियोगिता, आय र व्ययको विवरण माग्दै पत्र काटेको थियो।

प्रशासनले जानकारी मागेपछि एन्फाले केन्द्रीय सदस्य रत्नकुमार श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो।

समितिले छानबिनका लागि २१ दिनको समय पाए पनि श्रेष्ठले स्वास्थ्यको कारण देखाउँदै राजीनामा दिएका थिए। त्यसपछि एन्फाले खड्काको संयोजकत्वमा अर्को समिति बनाएको थियो। सोही समितिले अहिले छानबिन थालेको हो।

अध्यक्ष गुरुङ पुर्पक्षका लागि हिरासत गएपछि ०७६ माघ १५ मा एन्फाको कास्की उपाध्यक्ष जगतबहादुर थापालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी सुम्पिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .