भारतमा जारी साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा आज बुधबार साबिक विजेता बंगलादेश र नेपाल भिड्दै छन्।
भारतको गोवास्थित जवाहरलाल नेहरु स्टेडियममा हुने खेल सवा ४ बजे सुरु हुनेछ। समूह चरणको दुई खेल गुमाएकी मिडफिल्डर प्रिती राई सेमिफाइनलका लागि टोलीमा सामेल भइसकेकी छिन्।
प्रितीको आगमनले नेपाली टोली केही बलियो बनेको छ। यद्यपि राष्ट्रिय टोलीकी गोलमेसिन सावित्रा भण्डारी साम्बा र मिडफिल्डर सविता राना मगरको अभाव भने बंगलादेशविरुद्धको खेलमा टोलीमा देखिन सक्नेछ।
साफ महिला च्याम्पियनसिपमा नेपालको छुट्टै इतिहास छ। साफ च्याम्पियनसिपको आठौँ संस्करण जारी रहँदा नेपालले अहिलेसम्म उपाधि जित्न सकेको छैन। यद्यपि नेपाल ६ पटकको उपविजेता टोली हो। साफ च्याम्पियनसिपमा नेपालले स्थायी उपविजेताको छवि बनाएको छ।
साफ च्याम्पियनसिपमा नेपाल ६ पटकको उपविजेता टोली हो। बंगलादेश भने सन् २०१६ को उपविजेता तथा २०२२ र २०२४ को विजेता टोली हो।
एक संस्करणबाहेक नेपालले लगातार साफको फाइनल खेलिरहँदा बंगलादेश नयाँ शक्तिका रुपमा उदाएको टोली हो। दक्षिण एसियाली पावरहासको छवि बनाएको बंगलादेशले लगातार २ पटक नेपालमा भएको साफ च्याम्पियनसिपमा उपाधि उचालेको छ।
सन् २०१६ मा नेपाल साफको सेमिफाइनलबाटै बाहिरिएको थियो। साफमा नेपालको सबैभन्दा कमजोर प्रदर्शन यही नै हो।
समूह चरणमा नेपालको प्रदर्शन हेर्दा फेरि यही नियति त दोहोरिने हैन भनेर आशंका गर्ने ठाउँ थुप्रै छन्। तर इतिहासलाई जोगाउन पनि नेपाललाई आजको खेलमा जितको विकल्प छैन।
बंगलादेशलाई हराउन नेपाललाई त्यही सहज भने छैन। पछिल्लो समय बंगलादेशको महिला टोलीको प्रदर्शनले उचाइ लिइरहँदा नेपालको प्रदर्शन भने केही कमजोर देखिँदै गएको छ।
समूह चरणमा भुटानलाई १–० ले हराएको नेपालले श्रीलंकामाथि भने २–० को जित दर्ता गरेको थियो। साफमा श्रीलंका र माल्दिभ्स तुलनात्मक रुपमा अन्य टोलीभन्दा कमजोर मानिन्छन्।
भुटानको महिला टोलीको प्रदर्शन पछिल्लो समय उकालो लाग्दै जाँदा नेपाली टोलीका लागि चुनौती थपिँदै गएको छ।
जारी साफमा नेपाली टोलीमा नयाँ र पुराना खेलाडीको सम्मिश्रण छ। बंगलादेशको टोलीको अवस्था पनि उस्तै छ। उमेर समूहका खेलाडीलाई समेटेको बंगलादेशकोृ टोलीमा पनि नयाँ खेलाडीको बाहुल्य छ।
बंगलादेशले समूह चरणमा भारतसँग ३–० को हार व्यहोरेको थियो। अर्को खेलमा माल्दिभ्सलाई ४–२ गोलअन्तरले हराएको थियो। समूह चरणमा बंगलादेशको टोलीले ल्याएको नतिजालाई हेर्दा पहिलेभन्दा कमजोर टोलीका रुपमा देखिएको छ।
साफ च्याम्पियनसिपमा एक समय नेपालको उपाधि यात्राको तगारो भारत थियो। तर पछिल्ला दुई संस्करण भारतलाई हराएको नेपालले नयाँ चुनौती पाएको टोली हो बंगलादेश। घरेलु मैदानमा भएको पछिल्ला दुई संस्करण नेपालको उपाधि यात्रामा बंगलादेश तगारो बनेको थियो।
यो पटक नेपालले सेमिफाइनलमा नै बंगलादेशलाई प्रतिद्वन्द्वीका रुपमा पाएको छ।
साफ च्याम्पियनसिपमा नेपाल सन् २०१०, २०१२, २०१४, २०१९, २०२२ र २०२४ को उपविजेता टोली हो। सन् २०१६ मा भने नेपाल सेमिफाइनलबाटै बाहिरियो।
सन् २०१९, २०२२ र २०२४ गरी साफ च्याम्पियनसिपका पछिल्ला तीन संस्करण नेपालले लगातार आयोजना गर्ने मौका पाएको थियो।
अघिल्लो संस्करण साफको फाइनलमा नेपाल बंगलादेशसँग २–१ ले पराजित हुँदै छैटौँ पटक साफको उपविजेता टोली बन्यो। त्यसअघि २०२२ मा नेपाल ३–१ ले पराजित भएको थियो।
त्यसअघि सन् २०१९ मा नेपाल भारतसँग फाइनलमा पराजित भएको थियो। सन् २०१६ मा भने नेपालको यात्रा सेमिफाइनलमा नै रोकिएको थियो।
सन् २०१० र २०१२ र २०१४ मा भने नेपाल भारतसँग पराजित भएको थियो।
Shares

प्रतिक्रिया