दुई महिनाअघि (बैशाख २०७६) मलेसियामा नेपालको यू–१९ विश्वकप खेल्ने सपना टूटेको थियो। वर्षाले खेल बिथोलिएपछि डकविथ लोविस(डीएल)का आधारमा नजिता लिँदा यूएईसँग एक रनले पछि पर्दा नेपाल निराश बन्यो। दाबेदार हुँदाहुँदै नेपाल निराश बनेर घर फर्कियो भने सन् २०२० मा दक्षिण अफ्रिकामा हुने यू–१९ विश्वकपमा यूएईले मौका पायो।
नेपालको सोही टोलीले दुई महिना (असार २०७६)पछि मलेसियामा नै यू–१९ पूर्वी क्षेत्रीय एसिया कप छनौट खेल्ने भयो। यसबेला टोलीको स्पष्ट उद्देश्य थियो, ‘विश्वलाई देखाउने कि वर्षा बाधक नबनेको भए नेपाल यू–१९ विश्वकपका लागि हकदार टिम थियो।’ त्यसका लागि विनोद दासको टोलीले प्रतियोगिताका हरेक खेलमा प्रभावशाली जित निकाल्दै उपाधिमाथि कब्जा जमाउने रणनीति लियो।
यो पनि: मलेसियाविरुद्धको टि–२० शृंखलाका लागि नेपाल तयार
उनको योजनामा टिम खरो उत्रियो। पहिलो खेलमा चीनलाई १० विकेट, दोस्रो खेलमा सिंगापुरलाई २१७ रनले पराजित गरेको नेपालले सेमिफाइनलमा मलेसियालाई ७ विकेट र फाइनलमा हङकङलाई ६ विकेटले पराजित गर्दै उपाधिमात्रै रक्षा गरेन्, एसिया क्षेत्रको उमेर समूहमा एसोसियट नेशनको मुख्य दाबेदार टोलीको पहिचान कायम राख्न सफल भयो।
एसिसी यू-१९ पुर्वी क्षेत्रीय च्याम्पियन बनेको नेपाली टोली
नेपाललाई प्रभावशाली जितसहित उपाधि दिलाउँदै भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश तथा अफगानिस्तान जस्ता टेस्ट नेशन खेल्ने यू–१९ एसिया कपमा छनौट गराउँने नायकहरुमध्ये एक थिए, स्पिनर सागर ढकाल। प्रतियोगिताका ४ खेलमा १५ विकेट लिएका सागर प्रतियोगिताकै सर्वात्कृष्ट खेलाडी चुनिए।
‘प्रतियोगिता मेरो र टिमका लागि एकदमै राम्रो भयो,’ नेपाली क्रिकेटमा भविष्य खोजिरहेका १८ वर्षे बायाँ हाते स्पिनर सागर ढकालले भने, ‘दुई महिनाअघि हामी डिजर्भ गर्दागर्दै ब्याडलकले मलेसियामै भएको प्रतियोगिताबाट विश्वकपमा छनौट हुन सकेनौं। हामी डिजर्भ गथ्र्यौ भनेर यस प्रतियोगिताबाट सबैलाई देखाउँनु थियो। त्यसका लागि प्रभावशाली खेल पस्कनेबारे टिम मिटिङमा पनि छलफल हुन्थ्यो र हामीले त्यस्तै प्रदर्शन देखायौं। त्यसमा मैले पनि आफ्नो उत्कृष्ट प्रदर्शन देखाउँन सके। सन्तुष्ट छु।’
सागरको प्रदर्शन हरेक खेलमा उत्कृष्ट रह्यो। पहिलो खेलमा चीनविरुद्ध उनले ६ विकेट लिए। त्यसक्रममा ९.१ ओभर बलिङ गरेका उनले ३ ओभर मेडन राख्दै १९ रनमात्रै खर्चिएका उनी म्यान अफ द म्याच चुनिए। यस्तै सेमिफाइनलमा मलेसियाविरुद्ध १० ओभरमा ३ ओभर मेडन राख्दै १६ रनमात्रै खर्चेर ३ विकेट लिएका उनी पुनः म्यान अफ द म्याच चुनिएका थिए।
हङकङविरुद्ध फाइनलमा पुनः चम्कने क्रममा उनले १० ओभरमध्ये ५ ओभरमा कुनै रन नदिएर १८ रनमात्रै खर्चदै ५ विकेट लिएपछि उनी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी नै चुनिए।
सागर एसिसी पूर्वी क्षेत्रीय प्रतियोगिताका सर्वाेत्कृष्ट खेलाडी हुन्
‘यस प्रतियोगिता उत्कृष्ट दिन्छु भन्ने थियो तर प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी बन्छु भन्ने लागेको थिएन्’ सागरले थपे, ‘मैले पाएको मौका सदूपयोग गरेको मात्रै हो। हाम्रो अबको मुख्य चुनौती भनेको एसिया कप हो। एसिया कपमा अझै राम्रो गर्न यस प्रदर्शनले प्रेरित गरेको छ।’
च्याम्पियन नेपाली युवा टोलीले श्रीलंकामा भदौ ११ देखि आयोजना हुने एसिया कप खेल्नेछ। जहाँ टेस्ट राष्ट्रहरु भारत, पाकिस्तान, बंगलादेश, अफगानिस्तान र श्रीलंका लगायतका देशहरु खेल्दैछन्।
एसिया कपमा टेस्ट नेशनलाई हराउँदै सेमिफाइनल पुग्ने नेपाली टोलीको पहिलो लक्ष्य हुनेछ। त्यसका लागि आजैका मितिदेखि कडा मेहनत र प्रशिक्षण हुनुपर्नेमा उनी जोड दिन्छन्।
‘एसिया कपमा जतिसक्दो राम्रो खेल्दै सेमिफाइनल अनि फाइनल खेल्ने सपना त छ तर, त्यहाँ पुग्न टेस्ट नेशनविरुद्ध जित निकाल्नुपर्छ। त्यसका लागि बलियो आत्मविश्वास बनाउँनु पर्छ। त्यो राम्रो तयारीबाट नै आउँने हो,’ उनले भने।
दुईवर्ष अघि यू–१९ एसिया कपमै नेपालले भारतविरुद्ध ऐतिहासिक जित हात पारेको थियो। त्यो जित भारतविरुद्ध कुनैपनि संरचनाको क्रिकेटमा नेपालले हात पारेको पहिलो जित थियो।
सागरको मनमा पनि यस संस्करणमा भारतलाई पराजित गर्ने इच्छा छ। तर, भारतलाई हराउँन निकै नै राम्रो क्रिकेट खेल्नुपर्ने उनी बताउँछन्। ‘भारतलाई हराउँ भन्ने मनमा त छ तर टेस्ट नेशनलाई जित्नु त्यति सजिलो छैन्,’ उनी भन्छन्, ‘हामीले उत्कृष्ट भन्दा उत्कृष्ट क्रिकेट खेल्न सक्नुपर्छ।’
त्यसपछि सागर स्पिनर बन्दै चम्किए
विकेट लिएपछि खुशी मनाउँदै सागर(८ नम्बर जर्सी)
गुल्मीको सत्यवती गाउँपालिकामा सागर पढ्ने स्कुलमा स्थानीय दाईहरु क्रिकेट खेल्थे। सोक्रममा उनीहरुले प्रहार गरेको बल कहिले डाडाँमा त कहिले तल खोल्सामा झथ्र्यो। त्यो बल सागर ल्याइदिन्थे। त्यसवापत उनीहरुले सागरलाई बलिङ गर्न समेत दिन्थे। त्यसरी क्रिकेटप्रति सागरको रुचि बढ्दै गयो।
गुल्मीमा सामान्य टेनिस बल खेलेका सागर एसईईको परिक्षा पछि अध्ययनसँगै क्रिकेट सिक्ने भनेर काठमाडौं छिरे। त्यसबेलासम्म सागर ब्याट्सम्यान थिए। फास्ट बलिङ गर्थे। ‘गल्ली क्रिकेटमा ब्याटिङ पाए रमाइलो लाग्थ्यो। त्यसैले सुरुमा ब्याट नै समाए,’ सागरले भने।
एकपटक सुसान तिमिल्सिना भन्ने साथीले तिम्रो क्रिकेट राम्रो छ भन्दै एकेडेमीमा जान सुझाए। उनकै सल्लाहमा ग्रेट हिमालय क्रिकेट एकेडेमीमा आएपछि सागर ब्याट्सम्यानबाट स्पिनर बने। जुन उनलाई चिनाउँने मुख्य आधार बन्यो।
उनी पूर्णकालिन स्पिनर बनेको साढेँ दुई वर्षमात्रै भयो। ‘एकेडेमीमा आएपछि सुरुमा ३–४ महिना ब्याटिङ सिँके। सुरुमा रुपेश(श्रीवास्तव) दाईले ब्याटिङ भन्दा बलिङ राम्रो छ स्पिन गर भन्नुभयो। त्यसपछि प्रशिक्षकका रुपमा आएका नरेश(बुढाऐर) दाईले पूर्ण रुपमा ब्याटिङ बन्द गराउँदै स्पिन बलिङमा लगाउँनु भयो, विस्तारै प्रोग्रेस हुँदै गयो। त्यो मेरो जीवनको टर्निङ प्वाइन्ट बन्यो।’ उनले भने।
घरेलु प्रतियोगितामा राम्रो गर्दै गएपछि सागरलाई एकेडेमीले समेत निशुल्क प्रशिक्षण गराउँन थाल्यो। विस्तारै नेपाली घरेलु फ्रेन्चाइजी लिगहरुको अक्सनमा सागर सबै टोलीको रोजाईमा पर्न थाले। उनलाई अधिकतम् मुल्य तिर्न सबै टोली तयार भएपछि गोलाप्रथाबाट उनको टोलीको टुंगो लगाइन थालियो।
पोखरामा प्रिमियर लिगमा अधिकतम् १ लाख ३० हजारमा अनुबन्ध भएका उनी धनगढी प्रिमियर लिगमा पनि अधिकतम् १ लाख रुपैयाँमा अनुबन्ध भए। सागरले गत फागुन(२०७५)मा भएको धनगढी प्रिमियर लिगको तेस्रो संस्करणमा महेन्द्रनगर यूनाइटेडलाई फाइनलमा पुर्याउँन ६ खेल खेल्दै ११ विकेट लिए। उनी प्रतियोगिताको चौथो सर्वाधिक विकेट टेकर समेत रहे।
घरेलु प्रतियोगितामा सागर निरन्तर राम्रो प्रदर्शन गर्दै आएका छन्
सागरले २०७५ सालमा भएको प्रधानमन्त्री कप एकदिवसीय प्रतियोगितामा प्रदेश ३ बाट खेले। त्यसपछि लगातार घरेलु मैदानमा उत्कृष्ट प्रदर्शनपछि नेपाल पुलिस क्लबसँग आवद्ध भएका उनले अघिल्लो महिना(जेठ २०७६)मा भएको तेस्रो संस्करणको प्रधानमन्त्री कपमा पुलिसलाई च्याम्पियन बनाउँन ६ खेलमा ८ विकेट लिएका थिए।
हरेक खेलाडी झै सागरको लक्ष्य राष्ट्रिय टोलीबाट खेल्ने छ। तर, स्पिनरका रुपमा नेपाली टोलीमा पर्नु सजिलो नभएको उनले बुझिसकेका छन्। ‘सन्दीप लामिछाने, बसन्त रेग्मी, ललितनारायण राजवंशी जस्ता स्पिनर भएको टोलीमा पर्नु सजिलो छैन्। अहिले उमेर समूहमा राम्रो गर्दै गएपछि सिनियर टोलीमा पर्ने हो। त्यसका लागि कडा मेहनत गरिरहेको छु। आशा, छ एकदिन देशको जर्सीमा देखिनेछु,’ उनले टुंग्गाए।

प्रतिक्रिया