त्रिपुरेश्वरमा फुटबल खेल्दै हुर्किएका विराज महर्जन आफ्नो बाल्यकालको सपना पछ्याउँदै फुटबल खेलाडी बने। नेपालको प्रतिनिधित्व गर्दै मैदानमा उत्रिए। कतिपय खेलहरुमा निर्णायक भूमिका निर्वाह गरे। खेल ‘करिअर’मा उचाइ हाँसिल गरेका खेलाडीको अर्को विशेष क्षण हो, बिदाई। राष्ट्रिय टोलीका पूर्व कप्तान विराज महर्जन अहिले यस्तै सुखद बिदाईको क्षण पर्खिरहेछन्।
विराजको कप्तानीमा नेपालले २०७२ मा बंगबन्धु गोल्डकप, १२ औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण र २०७३ मा एएफसी सोलिडारिटी कप जितेको थियो। यद्यपि सोलिडारिटी कपमा कप्तान अनिल गुरुङ थिए। अधिकांश खेलमा अनिल पहिलो रोजाईमा नपर्दा विराजले कप्तानको जिम्मेवारी पाए। टोलीलाई कुसल नेतृत्व दिए। उनीभन्दा अगाडिका कप्तान अनिल २०७४ कार्तिकमा घरेलु समर्थकबीच उल्लासमय वातावरणमा मैदानबाट बाहिरिए। त्यस्तै विदाईको हकदार हुन्, विराज पनि।
सानो छँदा विराज काका (रत्न काजी महर्जन) र दाई (विक्रम महर्जन) को पछि लागेर दशरथ रगंशाला छिर्थे। त्रिपुरेश्वरका रैथाने उनले सबैभन्दा पहिला फुटबल खेल देखेको त्यहीँ हो। फुटबल हेर्दै र खेल्दै हुर्किएका उनलाई बुवा बाबुकाजी राष्ट्रिय टोलीको जर्सीमा हेर्न चाहान्थे। परिवारको सपनासँगै आफू फुटबलमा लागेको विराज सुनाउँछ। ‘मैले सानो छँदा काका र दाइको पछि लागेर फुटबल खेलेँ। त्यो बेला फुटबल के हो थाहै थिएन’, उनी भन्छन्।
बाल्यकालमा परिवारले रोपिदिएको फुटबलको सपना किशोर हुँदै जाँदा विराजले आफ्नै बनाए, फैलाए। उनी फुटबल खेल्न मैदानतिर लागे। राष्ट्रिय टोलीको नेतृत्वकर्तासम्म भए। फुटबलले आफ्नो जीवनमा सबैथोक दिएको उनको बुझाइ छ। ‘मैले जे पाएँ फुटबलको कारण नै पाएँ। फुटबल नभएको भए आज मलाई कसैले चिन्ने थिएन’, उनी सुनाउँछन्, ‘सायद फुटबलसँग नजोडिएको म एउटा कुवाको भ्याकुताजस्तो काठमाडौंमै सीमित हुन्थेँ होला।’ राष्ट्रको लागि देश—विदेशमा मैदानमा उत्रनुलाई उनी विशेष ठान्छन्।
एन्फा एकेडेमीका उत्पादन
२०५४ सालमा स्थापना भएको एन्फा एकेडेमीको तेस्रो ब्याचका उत्पादन हुन्, विराज। देशका लागि उमेर समूहका अधिकांश प्रतियोगिता उनले खेलेका छन्। उनी पहिलो पटक अन्डर—१० मा छनोट भए। त्यसपछि क्रमशः नेपाली अन्डर १५, १६, १७, १९, २३ सबै उमेर समुहबाट खेले।
‘लेफ्ट’ र ‘राइट ब्याक’ दुवैबाट खेल्ने विराजको व्यवसायिक फुटबल यात्रा २०६३ सालमा संकटा क्लबबाट सुरु भयो। संकटापछि उनी न्युरोड टिम (एनआरटी)मा सरे। २०६७ मा घरेलु फुटबलको लोकप्रिय क्लब थियो, थ्री स्टार। उनी सोही क्लबसँग आबद्ध भए। उनी सम्मलित थ्री स्टारले ए डिभजन लिग जित्यो। थ्रीस्टारपछि उनको गन्तव्य बन्यो, अर्को सफल टोली मनाङ मस्र्याङ्दी क्लब।
मनाङमा लामो समय बिताएका उनी गत सिजनमा मछिन्द्र क्लब आबद्ध भए। उनकै कप्तानीमा मछिन्द्र ए डिभजिन लिगमा पहिलो पटक च्याम्पियन बन्यो। व्यसायिक जीवनमा क्लब परिवर्तन स्वभाविक मानिन्छ। विराज भन्छन्, ‘खेलाडीले जति एक्सपोजर पायो त्यती राम्रो गर्न सक्छ। सधैँ एउटै क्लबमा रहेर खेलाडीको विकास हुन पनि सक्दैन।’
एउटा खेलमा ह्याट्रिक त प्रायः खेलाडीले गर्छन्। पछिल्ला तीनै क्लबबाट लिग जितेका विराजले देशका लागि पनि तीन उपाधि नै जितेका छन्। भन्छन्, ‘थ्रीस्टार, मनाङ र मछिन्द्र तीन वटै क्लबबाट लिग उपाधि जितेँ। देशको लागि पनि ३ वटा उपाधि जितेँ त्यस अर्थ म आफूलाई भाग्यमानी मान्छु।’
नेपालमा कुनै पनि खेल पूर्ण रुपमा व्यसायिक हुन सकेका छैनन्। केही हदसम्म फुटबल र क्रिकेट व्यवसायिक छन्। विराज अझै खेलेरै बाँच्ने अवस्था नभएको बाउँछन्। ‘हामी काठमाडौंमै घर हुनेहरुको लागि केही सजिलो होला तर बाहिरबाट आएर खेल्नेका लागि गाह्रो छ’, उनी भन्छन्।
केही वर्ष यताको सफलतालाई हेर्दा फुटबलको विकास भएको मान्न सकिने उनको बुझाई छ। विकासको पछिल्लो कडी उनी साग फुटबलमा स्वर्ण जित्नुलाई ठान्छन्। ‘फुटबलमा विकास भएको छैन भन्ने हो भने हामीले स्वर्ण पनि जितिरहेका छौं। विकास पनि भएको छ तर सधैँ एकै ठाउँमा बसिरहन गाह्रो हुन्छ’, उनी भन्छन्, ‘यसमा खेलाडी वा क्लबले चाहेर मात्र पुग्दैन। संघ, सरकार र कर्पोरेट सेक्टर सबैले फुटबलको लागि सोच्नुपर्छ।’
नेपालका लागि सर्वाधिक खेल्ने खेलाडी
सन् २००८ मा पोखरामा नेपाल पाकिस्ताविरुद्धको खेल हुँदा विराज राष्ट्रिय टोलीमा परे। सन् २०१९ सम्म आइपुग्दा उनी नेपालका लागि सर्वाधिक अन्तर्राष्ट्रिय खेल खेल्ने कीर्तिमानी खेलाडी भए। उनको नाममा ७२ क्यापको कोशेढुंगा पार गरेको कीर्तिमान छ। उनले आफ्नै गुरु राष्ट्रिय टोलीका पूर्व कप्तान राजुकाजी शाक्यको कीर्तिमानलाई भंग गरेका हुन्। विराज ७२ र शाक्यले ६८ क्यापको स्थितिमा छन्। २०१८ बंगलादेशमा साफ च्याम्पियनसिप खेल्ने क्रममा उनले शाक्यको कीर्तिमान भंग गरेका हुन्।
बंगलदेशमा बंगबन्धु, भारतमा १२ औं साग र मलेसियामा सोलिडारिटी जित्नुलाई उनी खेल जीवनको उत्कृष्ट क्षण मान्छन्। भन्छन्, ‘देशको लागि उपाधि जित्नु ठूलो कुरा हो। ती सबै जित जीवन भर सम्झनामा रहनेछन्।’
खेल जीवनमा उतार चढावलाई उनी स्वभाविक मान्छन्। तथापि फुटबलका हरेक क्षण उनका लागि आनन्ददायक छन्। ‘हरेकको खेल जीवनमा अप्ठेरो आउँछ। तर मैले फुटबलमा जति समय बिताएको छु त्यो एकदम राम्रो समय बिताइरहेको छु’, उनी भन्छन्।
सफलताहरुको श्रेय उनी सम्पूर्ण टोलीलाई दिन चाहन्छन्। ‘हामीले जति पनि सफलता प्राप्त गर्याैं एउटा टिम भएर प्राप्त गरेका हौं। सबैको मेहनतले मात्र हामीले एकपछि अर्को सफलता दिलाएको हो’, विराज भन्छन्, ‘क्लबमा होस् वा राष्ट्रिय टोलीबाट खेल्दा सबै खेलाडीसँग मेरो बोेन्डिङ राम्रो छ। मैदानमा होस् वा मैदान बाहिर म एडजस्ट हुन सक्छु। म सिनियर जुनियर सबैसँग मिल्ने भएकाले होला कसैसँग कहिल्यै विवाद भएन।’
घरेलु दर्शकका माझ बिदाईको इच्छा
१२ वर्ष राष्ट्रिय टोलीबाट खेलिसकेका विराज अब सन्यासका लागि मनसिक रुपमा तयार भएका छन्। गत वर्ष भदौमा विश्व कप छनोट अन्तर्गतको कुवेतविरुद्धको पहिलो खेलमा उनी राष्ट्रिय टोलीमा परेनन्। कुवेतसँग खेल्नुअघि मलेसियाको क्लबसँगको मैत्रीपूर्ण खेलमा पनि उनी टोलीमा थिएनन्। सम्भवतः त्यही बेलादेखि उनले सन्यासबारे सोच्न थालेको हुनुपर्छ।
‘म अमेरिकामा हुँदा एन्फा र प्रशिक्षकलाई जानकारी दिएको थिएँ। हामीबीच केही मिस अन्डस्याट्न्डिङ पनि भयो होला। त्यतिबेला म ट्रेनिङमा फर्किदा ३ हप्ता ढिला भयो’, उनी स्मरण गर्छन्, ‘पछि टोलीको नाम घोषण हुँदा मेरो नाम थिएन। आश्चर्यमा परेँ। टोलीमा नपर्नुमा फिटनेसलाई कारण देखाइएको थियो। एकदम दुःख लाग्यो।’
त्यसपछि पनि उनी टोलीमा पर्न छाडे। उनलाई लागेछ विदाईबारे एन्फाले केही सोचेकै होला। पछि उनले आफैँ पनि भनेछन्। ‘मैले आफैँले मुख खोलेरै सुखद विदाई चाहेको एन्फा पदाधिकारीलाई बताएँ। उहाँहरुले पनि विदाई सुखद नै हुन्छ भनेर आश्वसन दिनु भएको छ’, विराज भन्छन्। अहिले उनी एन्फा पदाधिकारीको त्यही प्रतिबद्धता पर्खिरहेछन्।
‘एउटा खेलाडी सधैँ टोली सदस्य रहन सक्दैन त्यो मैले राम्ररी बुझेको छु। सिनियर दाईहरु पनि विदा हुनु भएको हो, मैले पनि हुनुपर्छ। कुनै दिन अहिलेका साथीहरु पनि बिदा हुनेछन्’, उनी भन्छन्, ‘तर सुखद विदाईको माहोल बनाइदिए हुने भन्ने मेरो इच्छा हो।’
अन्तर्राष्ट्रिय खेल जीवनबाट सन्यास लिँदा खुसी कसैलाई लाग्दैन। हरेक खेलाडीको यादगार विदाईको अपेक्षा हुन्छ। विराज पनि त्यस्तै सम्मानपूर्वक विदाई लिन चाहन्छन्।
विश्वकप छनोटका ३ खेल नेपालले दशरथ रंगशालामा खेल्न बाँकी छ। नेपालले अष्ट्रेलिया, जोर्डन र चाइनिज ताइपेसँग खेल्नेछ। कोभिड—१९ का कारण चैत १३ र चैत १८ का लागि तय चाइनिज ताइपे र अष्ट्रेलियासँग तय खेल स्थगित भयो। ती खेलका लागि विराज टोलीमा थिएनन्। अब पुनः खेलका लागि नयाँ मिति तय हुँदा विराज टोलीमा पर्लान् त? त्यो प्रशिक्षक र एन्फाको निर्णयमा भर पर्नेछ।
विराज आफैँ चाहिँ अष्ट्रेलियासगँको खेलमार्फत् अन्तर्राष्ट्रिय खेल जीवनबाट विदा हुने अपेक्षामा छन्।
‘दशरथ रगंशालामा अष्ट्रेलियासँगको खेलमा अन्तिम पटक राष्ट्रिय टोलीको जर्सीमा मैदान उत्रन चाहना छ। केही समय कप्तानी दिएर मैदानमा उत्रन पाए हुन्थ्यो भन्ने हो’, उनले सुनाए, ‘प्रशिक्षकले जति समय दिनुहुन्छ त्यसमा म खुसी हुनेछु। घरेलु मैदानमा राष्ट्रिय टोलीको जर्सी लगाएर समर्थहरुलाई अभिवादन गर्दै विदा हुने मेरो सपना हो।’
Shares
प्रतिक्रिया